विदेशी मुद्राको सञ्चिति बढ्यो, चार महिनामै भित्रियो पौने ४ खर्ब बढी रेमिट्यान्स

  २०७९ मंसिर २९ गते १५:२९     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको चार महिनामा विदेशी मुद्राको सञ्चिति बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चार महिनाको तथ्यांकअनुसार विदेशी मुद्राको सञ्चिति २.५ प्रतिशतले बढेर ०७९ कात्तिक मसान्तमा १२ खर्ब ४६ अर्ब २७ करोड रुपैयाँ पुगेको हो ।

जुन गत असारसम्ममा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ थियो । त्यस्तै, अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ कात्तिक मसान्तमा १.० प्रतिशतले वृद्धि भई ९ अर्ब ६३ करोड कायम भएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति असारमा १० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा २०७९ कात्तिक मसान्तमा ३.३ प्रतिशतले वृद्धि भई १० खर्ब ९१ अर्ब २२ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति असार मसान्तमा १ खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा कात्तिक मसान्तमा २.७ प्रतिशतले कमी आई १ खर्ब ५५ अर्ब ५ करोड रुपैयाँ कायम भएको छ । २०७९ कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.५ प्रतिशत रहेको छ ।

यस्तै, समीक्षा अवधिमा रेमिट्यान्समा पनि सुधार देखिएको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह २०.४ प्रतिशतले वृद्धि भई ३ खर्ब ७८ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७.० प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.८ प्रतिशतले वृद्धि भई २ अर्ब ९३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.३ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १०२.५ प्रतिशतले वृद्धि भई १,९५,१९६ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ४६.४ प्रतिशतले वृद्धि भई ८७,४२८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २४९.१ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर २०.२ प्रतिशतले वृद्धि भई ४ खर्ब १७ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ६.९ प्रतिशतले घटेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.