म्याग्दीमा चार वर्ष अघि नै सम्पन्न हुनुपर्ने सवस्टेशन अझै बनेन

  २०७९ मंसिर २६ गते १३:२०     विकासन्युज

म्याग्दी । मालिका गाउँपालिका–६ रातोढुङ्गामा निर्माणाधीन सबस्टेशन अझै बनेको छ । चार वर्ष अघि नै सम्पन्न हुनुपर्ने ३३/११ केभी क्षमताको सब स्टेशन अझै पूरा नभएको हो ।

सबस्टेशन निर्माणमा भएको ढिलाइले जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने मङ्गला, मालिका र धवलागिरि गाउँपालिकामा केन्द्रीय प्रशारण लाइन विस्तार तथा विद्युत् आपूर्ति प्रभावित भएको मालिका–६ दुखुका ओमकार रोकाले बताए । पचासी प्रतिशत भौतिक प्रगति भएको आयोजना मिलनचोकदेखि रातोढुङ्गा जोड्ने प्रशारण लाइनको खम्बा गाड्न र तार तान्ने क्रममा विवाद भएपछि रोकिएको आयोजना प्रमुख बोधराज ढकालले बताए ।

‘सबस्टेशनभित्र संरचना बनाउने र उपकरण जडान गर्ने काम अन्तिम चरणमा पुगेको छ, छ सयमध्ये तीन ठाउँमा करिब ८० खम्बा गाड्न र तार तान्न बाँकी छ’, उनले भने, ‘बाँकी खम्बा गाड्न र तार तान्न नपाउँदा आयोजनाले पूर्णता पाउन सकेको छैन् ।’

खम्बा पर्ने जग्गाका धनी र वन समूहको अवरोधले पर्वतको जलजला गाउँपालिका–४ मोहनचोकदेखि रातोढुङ्गा जोड्ने २२ किलोमिटर दूरीको प्रशारण लाइन निर्माण एक वर्षदेखि रोकिएको ढकालले बताउनुभयो । नेपाल विद्युत् प्राधिकरणमार्फत ए टु जेड इञ्जिनीयरिङले  आठ करोडमा सन् २०१६ मा ठेक्का लिएको सबस्टेशन प्रशारण लाइन २०१८ को डिसेम्बरमा सक्ने लक्ष्य थियो । सुरुआती चरणमा जग्गा अधिग्रहणमा भएको ढिलाइका कारण प्रभावित बनेको थियो ।

सबस्टेशन बनाउन सात रोपनी जग्गा अधिग्रहण भएको थियो । सबस्टेशन वरपरका जग्गाधनीले बाटो बनाउन, घेराबार पर्खाल लगाउन र प्रशारण लाइनको तार तान्न अवरोध गरेको ठेकेदारले बताएका छन् । बर्खामा केही ठाउँमा गाडेका खम्बा बगाएको छ । म्याग्दी प्रदेशसभा ९२०बाट निर्वाचित रेशमबहादुर जुग्जालीले निर्माण व्यवसायी र आयोजनाका अधिकारीलाई सम्पर्क गरी सवस्टेशन निर्माणलाई पूर्णता दिन पहल थालिएको बताए ।

आयोजनाका अधिकारी, प्राविधिक, निर्माण व्यवसायी र मजदूर गत जेठदेखि आयोजनास्थलमा छैनन् । हालसम्म खमबा गाड्ने, दुई भवन बनिसकेको आयोजनाका लागि ठेकेदारले ट्रान्सफर्मर लगायतका उपकरण ल्याएर जोडेका छन् । खम्बा गाडिएको ठाउँमा तारसमेत तानिएको छ । कर्मचारी आवास र प्रशासनिक भवन अधुरा नै छन् ।

सबस्टेशन र प्रशारण लाइन निर्माण भएपछि पश्चिमी क्षेत्रको धौलागिरि, मालिका र मङ्गला गाउँपालिकामा केन्द्रिय प्रशारण लाइनको विद्युत् सेवा विस्तारमा सहज हुने नेपाल विद्युत् प्राधिकरणको म्याग्दी वितरण केन्द्रका प्रमुख प्रशान्तकुमार झाले बताए । ‘हाल मिलनचोक सब स्टेशनबाट चार वटा फिडरबाट लामो दुरिमा विद्युत आपूर्ति गराउँदा समस्या भएको छ’, उनले भने, ‘बीस किलोमिटर दूरीसम्म एउटा सबस्टेशनबाट विद्युत् आपूर्ति गराउने मापदण्ड भए पनि ८० किलोमिटरसम्म वितरण गर्नुपर्दा नियमित विद्युत् आपूर्ति गराउन समस्या भएको छ ।’ रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.