म्याग्दीमा सडक स्तरोन्नतिका तीन आयोजना सुरु

  २०७९ मंसिर २५ गते १२:५६     विकासन्युज

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीबजारसँगै रहेको जलजला गाउँपालिकाको मल्लाजमा सडक स्तरोन्नतिका लागि तीन वटा आयोजना सुरु भएका छन् । जलजलाको २, ३ र ४ नं वडामा पर्ने मल्लाजका सडक स्तरोन्नतिका लागि गाउँपालिका, प्रदेश र सङ्घीय सरकारमार्फत् ५० करोड रुपैयाँ बजेटका आयोजना सञ्चालन भएका हुन् ।

जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले मल्लाजलाई सहरउन्मुख बस्तीको रुपमा विकास गर्ने उद्देश्यले सडक, अस्पताल भवनलगायत पूर्वाधारका आयोजना सुरु गरिएको बताए ।

‘वारीबेनी मल्लाज सडक गाउँपालिका र प्रदेश सरकारको साझेदारीमा स्तरोन्नति गर्न लागिएको हो,’ उनले भने ‘भुरतुलादेखि मल्लाज हुँदै लेकफाँट जोड्ने सडक सङ्घीय सरकारको सडक डिभिजन र फड्केढुङ्गाको दोवदोवेदेखि मल्लाजसम्म सडक सहरी विकास कार्यालयमार्फत् स्तरोन्नति सुरु भएको छ ।’

वारीबेनी मल्लाज सडकको ग्रेड र घुम्ती सुधार, ढलान, नाली, ग्याबिन र मेसिनरी पर्खाल निर्माण गर्न प्रदेश सरकारले रु एक करोड र जलजला गाउँपालिकाले एक करोड रुपैयाँ बजेट विनियोजन गरेका थिए ।

कालिका इन्फ्रास्टक्चर प्रालिले ठेक्का पाएको यो सडक दुई महिनाभित्र सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको गाउँपालिका अध्यक्ष आचार्यको भनाइ छ । सङ्घीय सरकारको रणनीतिक महत्वका सडक कार्यक्रममार्फत् मल्लाज लेकफाँट सडक स्तरोन्नतिका लागि ३७ करोड रुपैयाँमा ठेक्का पाएको रायमाझी कन्ट्रक्सन प्रालिले प्रारम्भिक चरणको कामलाई तीव्रता दिएको जलजला–३ का वडाध्यक्ष एकेन्द्र खत्रीले बताए ।

मल्लाजको भुरतुलाको डिलदेखि लेकफाँटसम्म करिब १० किलोमिटर सडक सात मिटर चौडाइका दरले कालोपत्र र ढलानका साथै नाली, पर्खाल निर्माण गर्ने, घुम्ती तथा ग्रेड सुधार गर्ने काम भइरहेको वडाध्यक्ष खत्रीले बताए । कूल ३३ महिनामा सम्पन्न गर्ने लक्ष्य रहेको यो सडकमा अहिले पाँच वटा डोजर र करिब एक सय जना मजदूरले काम गरिरहेका छन् ।

यसैगरी सहरी विकास कार्यालय बागलुङमार्फत् दोवदोवेदेखि मल्लाज हुँदै बाँसखर्कको सिमानासम्मको पाँच किलोमिटर सडक स्तरोन्नति गर्न ठेक्का पाएको निर्माण कम्पनीले पनि सडक विस्तारको प्रारम्भिक चरणको काम थालेको छ ।

यो सडकमा पाँच मिटर चौडाइका दरले कालोपत्र गरिनेछ । मल्लाजमै १२ करोड रुपैयाँको लागतमा पाँच शय्या क्षमताको अस्पताल भवन पनि निर्माणको काम धमाधम भइरहेको छ । सडक स्तरोन्नति तथा अस्पताल सञ्चालन भएपछि आवतजावत सहज र सुरिक्षत हुने, बसाइँसराइ रोकिने, आयआर्जन र रोजगारीको अवसर बढ्ने अपेक्षा गरिएको स्थानीयवासी नरेन्द्र थापाको भनाइ छ ।

मल्लाजमा एक घर एक धारासहितको खानेपानी र वृहत् सिँचाइ आयोजना यसअघिनै निर्माण भएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.