सञ्चालनको अन्यौलमा पोखरा विमानस्थल, महानगरले हटाएन ल्याण्डफिल्ड साइट

  २०७९ मंसिर २५ गते १०:४९     विकासन्युज

काठमाडौं । पोखरामा निर्माणाधीन पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थललाई आगामी पुस १७ गते अर्थात जनवरी १ तारिखदेखि सञ्चालन गर्ने तयारी थालिएको छ । नागरिक उडड्यन प्राधिकरण (क्यान) ले सम्पूर्ण तयारी सकिएको भन्दै विमानस्थल सञ्चालनको मिति तय गरिसकेको छ ।

पुस १७ गतेदेखि विमानस्थल सञ्चालनको तयारी थालिएतापनि विमानस्थल नजिकै रहेको ल्याण्डफिल्ड साइट नहट्दा सञ्चालन मिति सर्ने हो कि भन्ने अन्योल सिर्जना भएको छ ।

क्यानका महानिर्देशक इन्जिनियर प्रदिप अधिकारी पोखरा महानगरपालिकाले ल्याण्डफिल्ड साइट नहटाउँदा तोकिएकै समयमा विमानस्थल सञ्चालन गर्न नसकिने हो कि भन्ने आशंका थपिएको बताउँछन् ।

‘पोखरा महानगरपालिकाले मंसिर १८ गतेबाट ल्याण्डफिल्ड साइट हटाउँछु भनेको थियो, अहिलेसम्म हटाएको छैन्, ल्याण्डफिल्ड साइट हटाएन भने हामीले निर्धारण गरेको समयमा विमानस्थल सञ्चालन गर्न सक्दौनौं, उनले भने, ‘अहिलेसम्म फोहोर फालेको छ, हामीले पटक–पटक ताकेता गर्दै आएका छौँ तर सुनुवाई भएको छैन, यसले अन्योलता सिर्जना गरेको छ ।’

विमानस्थलको रनवेबाट पश्चिमतर्फ रहेको ल्याण्डफिल साइटका कारण चराहरुको बनेको छ । रनवे नजिकै ल्याण्डफिल्ड साइट हुँदा रनवेमा राखिएको बत्तिमा चराले गुँड बनाउने गरेका छन् ।

पोखरा महानगरले भने विमानस्थल सञ्चालनको समयसम्म ल्याण्डफिल्ड साइट हटाउने जनाएको छ । महानगरका मेयर धनराज आचार्यले विमानस्थल संचालनमा आउने दिनसम्म ल्याण्डफिल साइट परिवर्तन हुने बताए । उनले हाल ल्याण्डफिल्ड साइट पुर्न थालिएको बताए ।

३ हजार ९ सय रोपनी क्षेत्रफलमा फैलिएको पोखरा विमानस्थल झण्डै २२ अर्ब रुपैयाँ लागतमा निर्माण भएको छ । विमानस्थलमा २ हजार ५ सय मिटर लम्बाई र ४५ मिटर चौडाइको धावनमार्ग छ ।

उडान सञ्चालनअघि विमानस्थलको पूर्वपट्टि पर्ने रिट्ठेपानीडाँडा कटानको पहिलो चरणअन्तर्गत १६ मिटर कटान कार्य सकिएको प्राधिकरणले जनाएको छ । धावनमार्गको ‘अप्रोच’ पर्ने भएकाले ४० मिटरडाँडा काटेर समतल बनाइनेछ । बाँकी २४ मिटर काट्न बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.