७ प्रतिशत ब्याजमा निफ्राको उर्जा ऋणपत्र : सर्वसाधारणलाई सस्तो, बैंकलाई महँगो

  २०७९ मंसिर २२ गते १४:१३     सीआर भण्डारी

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर (निफ्रा) बैंकले मंसिर २९ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने तयारी गरेको छ । बैंकले ७ प्रतिशत ब्याजदरमा ७ वर्ष अवधि भएको ‘निफ्रा उर्जा ऋणपत्र ७ प्रतिशत २०८५/८६’ निष्काशन तथा बिक्री खुला गर्ने तयारी थालेको हो ।

५ अर्ब रुपैयाँ बराबरको प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्य दरका ५० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने बैंकले जनाएको छ । जसमध्ये ६० प्रतिशत अर्थात् ३० लाख कित्ता ब्यक्तिगत तवरबाट र ४० प्रतिशत अर्थात् २० लाख कित्ता ऋणपत्र सर्वसाधारण लगानीकर्ताका लागि छुट्याईएको छ । सर्वसाधारण लगानीकर्ताका लागि छुट्याईएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् १ लाख कित्ता सामुहिक लगानी कोषका लागि छुट्याइएको छ ।

बैंकको ऋणपत्रमा लगानीकर्ताले छिटोमा पुस ४ गतेसम्म र ढिलोमा पुस १४ गतेसम्म आवेदन दिन सक्नेछन् । न्यूनतम २५ कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ ।

बैंकको ऋणपत्रमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरी सम्पूर्ण आस्वा सेवा दिइरहेका बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको शाखा कार्यालयबाट सि आस्वा प्रणालीबाट आवेदन दिन सक्नेछन् ।

बैंकले सबै प्रक्रिया पुर्याएर ऋणपत्र निष्काशन गर्ने तयारी गरेको हो । बैंकले सबै प्रक्रिया पुर्याएपनि ब्यक्तिगत लगानीकर्ताहरुले भने उक्त ऋणपत्र खरिद गर्ने सम्भावना न्यून छ । किनभने बैंकले दिने भनिएको ७ प्रतिशत ब्याजभन्दा दोब्बर ब्याज बैंकका मुद्दती निक्षेपमा प्राप्त गर्न सकिन्छ । यस्तो अवस्थामा बैंकको ऋणपत्र खरिद हुने सम्भावना कम छ ।

निफ्रा बैंकका सीईओ रामकृष्ण खतिवडा ऋणपत्र बिक्री गरेर संकलन भएको रकम उर्जा क्षेत्रमा नै लगानी गर्ने बताउँछन् । ऋणपत्रबाट सकंलन भएको रकम लगानी गर्न योजना पाइपलाइनमा रहेको उनको भनाई छ

‘ऋणपत्र बिक्रीबाट संकलन रकम उर्जा क्षेत्रमा लगानी गर्ने हो, हामीसँग ३/४ वटा नयाँ आयोजना पाइपलाइनमा छन्, उर्जा क्षेत्रका १४ वटा आयोजनामा लगानी गरिसकेका छौं, ४ वटा फाइल रिभ्यू गरिरहेका छौं, यी ४ वटा आयोजनाको ८/१० अर्ब रकम आवश्यक छ, उक्त आयोजनामा पनि ऋणपत्रबाट संकलन भएको रकम लगानी गर्न सकिन्छ,’ उनले भने ।

बैंकले गत असार मसान्तसम्म १७ अर्ब रुपैयाँ बराबरको लगानी गरेको वित्तीय विवरणमा उल्लेख छ । पछिल्लो ३/४ महिनामा उक्त लगानी बढेर २० अर्ब रुपैयाँ पुगेको उनले बताए । अहिले बैंकसँग कर्जा लगानी गर्न रकम थोरै भएकाले स्रोतको जोहो गर्नुपरेको उनको भनाई छ ।

‘लगानी बढाउँदै जाँदा स्रोतको जोहो पनि गर्दै जानुपर्छ, उर्जा क्षेत्रमा ३१ अर्ब बढीको कमिटमेन्ट भएको छ, अहिले १७ अर्ब जति उर्जा क्षेत्रमा नै पुगेको छ, लगानीयोग्य रकमको अभाव भएकाले स्रोतको जोहो गर्न नै चुनौती छ, हामीसँग प्रोजेक्टको पाइपलाइनमा चाप छ,’ उनले भने ।

निफ्रा बैंकलाई वाणिज्य बैंक जस्तै उर्जा क्षेत्रमा लगानी गर्न सीमा निर्धारण नगरेकाले उर्जा क्षेत्रमा अझै लगानी बढाउने सीईओ खतिवडाले बताए । बैंकहरुले प्राथमिक क्षेत्रमा प्रवाह गर्नुपर्ने ऋण आफैं जोखिम मोलेर प्रोजेक्टमा नलगाइ निफ्रा बैंकको ऋणपत्र खरिद गरेर दायित्व पुरा गर्न सक्ने उनको भनाई छ ।

‘निफ्रा बैंकलाई उर्जा क्षेत्रमा लगानी गर्न सीमा तोकिएको छैन, हामीसँग उर्जा क्षेत्रको प्रोजेक्टहरु धेरै छन्, निफ्रा बैंकले जोखिम व्यवस्थापन गर्न सक्नेगरी कर्जा प्रवाह गरेको छ, आगामी दिनमा पनि कर्जा बढाउने योजना छ,’ उनले भने ।

निफ्रा बैंकको ऋणपत्र सर्वसाधारण लगानीकर्ताले खरिद गर्न पाउने व्यवस्था गरेपनि ब्याजदर कम भएकाले सर्वसाधारण लगानीकर्ताले खरिद नगर्ने सीईओ खतिवडाले बताए । तर, बैंकहरुका लागि भने सहज हुने उनको भनाइ छ । बैंकहरुले प्राथमिकता क्षेत्रमा लगानी गर्नुपर्ने कर्जा निफ्रा बैंकको ऋणपत्रमा लगानी गर्न सक्ने उनले बताए ।

‘सर्वसाधारण लगानीकर्ताले लगानी गर्न पाउनु हुन्छ तर, खरिद गर्दा सबैलाई फाइदा नहुन सक्छ, सर्वसाधारणले खरिद गर्नुहुन्छ वा हुँदैन त्यो आफ्नो ठाउँमा छ, ७ प्रतिशत ब्याजदर कम भयो भन्नुहुन्छ,’ उनले भने, ‘बैंकहरुले प्राथमिकता क्षेत्रमा लगानी गर्नुपर्ने कर्जा निफ्रा बैंकको ऋणपत्रमा लगानी गर्न सक्नुहुन्छ, राष्ट्र बैंकले बैंकहरुलाई केही प्रतिशत उर्जा क्षेत्रमा पनि लगानी गर्नुपर्छ भनेको छ, बैंकहरुले प्राथमकि क्षेत्रमा प्रवाह गर्नुपर्ने ऋण आफैं प्रोजेक्टमा नलगाइकन निफ्रा बैंकको ऋणपत्रमार्फत् लगानी गर्न सक्छन् ।’

नेपाल धितोपत्र बोर्ड (सेबोन) को नीति नियम फ्लो गर्नु पर्ने भएकाले सर्वसाधारणलाई पनि जारी गर्नु परेको उनले बताए । ‘हामीले १०/१५ बैंकसँग आफैं भेटेर स्रोत ल्याउन सक्थ्यौं तर सेबोनको धितोपत्र निष्काशन सम्बन्धि निर्देशिका अनुसार सर्वसाधारणलाई पनि जारी गर्नुपरेको हो, सर्वसाधारणले खरिद नगरेको खण्डमा प्राइभेट प्लेसमेन्ट अनुसार डाइरेक्ट्ली सम्भावित खरिदकतालाई बिक्री गर्छाै,’ उनले भने ।

अहिले बैंक तथा वित्तीय संस्थाहरुले अन्य कर्जामा १६ प्रतिशत ब्याज लिइरहेको भएपनि उर्जा क्षेत्रको कर्जामा भने ७ प्रतिशतको हाराहारी ब्याजदर रहेको उनले बताए । ‘विगत ४÷५ महिनाको अवधिमा उर्जा क्षेत्रमा लगानी नै भएको छैन, एक्जिस्टिङ लोन मात्रै फ्लो भइहेको छ, रियल स्टेट, उच्च जोखिम भएको कर्जामा १७÷१८ प्रतिशत ब्याज लिएका हुन सक्छन् तर, उर्जा सेक्टरमा यति धेरै ब्याजदर छैन,’ उनले भने ।

ऋणपत्र निष्काशनका लागि एक वर्ष अघि प्रक्रिया सुरु गर्दा बजारको ब्याजदर पनि कम थियो । अहिलेको बजार ब्याजदर हेर्दा सर्वसाधारण लगानीकर्ताका लागि ७ प्रतिशत ब्याजदर सहज नहुन सक्ने भएपनि ऋणपत्र बिक्री हुनेमा सीईओ खतिवडा ढुक्क रहेका छन् । ब्याजदर घटेर ७ प्रतिशतभन्दा तल झर्याे भने पनि यहि ब्याजदर लगानीकर्तालाई दिन सक्ने क्षमता रहेको उनको दाबी छ । ७ वर्षमा ७ प्रतिशत ब्याजदर दिने क्षमता राखेर ऋणपत्र जारी गरेको उनको भनाइ छ ।

‘हामी छलफल गरिरहेका छौं, अहिलेको ७ प्रतिशत ब्याजदर फिजिबल हुनुपर्छ, ट्रेजरी बिलको एभरेज रेट ३/४ प्रतिशत भएपनि १०/११ प्रतिशत पुग्यो, ७ वर्षको सिनारियोलाई हेर्दा यसलाई ट्रेजरी बिल जस्तै लिँदा हुन्छ, सरकारको ट्रेजरीमा योभन्दा कममा लगानी गरिरहेका हुन्छन्,’ उनले भने, ‘राष्ट्र बैंक र सेबोनले निफ्राले ७ प्रतिशत ब्याजदर दिन सक्छ भनेर नै स्वीकृति दिएको हो, यदि ७ प्रतिशत ब्याजदर तिर्न सक्ने क्षमता नभएको भए दुइवटा निमायकले स्वीकृति दिँदैनथ्यो,’ उनले भने ।

पूर्व बैंकर अनलराज भट्टराई बैंकले प्रदान गर्ने ७ प्रतिशत ब्याजदर पनि उच्च रहेको बताउँछन् । ७ प्रतिशत ब्याजदर अहिलेको अवस्थामा ठिकै भएपनि भविष्यमा बैंकलाई गाह्रो अवस्था आउन सक्ने उनको भनाई छ ।

‘निफ्रा बैंकले रिटेल निक्षेप लिन पाउँदैन, होलसेल मात्रै हो, बैंकले स्रोत व्यवस्थापन गर्नका लागि यस्ता साधनहरु बिक्री गर्न सक्छ,’ उनले भने, ‘बैंकले ७ प्रतिशत ब्याज तिरेर रकम संकलन गरेर लगानी कतिमा गर्ने हो ? उसले पनि आफ्नो लागत जोडेर लगानी गर्नुपर्छ, लगानी गर्न कठिन हुन्छ, बैंकले भविष्यमा लगानी गर्नका लागि ७ प्रतिशत ब्याज अझै बढी हो, अहिले संकलन गरेको रकम १०/११ प्रतिशत भन्दा कममा लगानी गर्न सक्दैन ।’

कतिपय बैंकहरुको लगानी क्षेत्र उर्जा नभएको हुनाले निफ्रा बैंकको उर्जा ऋणपत्रमा लगानी गर्न सक्ने उनको भनाइ छ । उनले लगानीका लागि कुनै बैंकलाई विशेष बैंक बनाउनुपर्ने बताए । राष्ट्र बैंकले तोकिएको क्षेत्रमा बैंकहरुले लगानी गर्नै पर्ने बाध्यात्मक व्यवस्था गरेको उनको बुझाइ छ । बैंकहरुले ल्याएका ऋणपत्रहरु ब्यक्तिगत र संस्थागत भन्दापनि प्रत्यक्ष एक्सपोजर लिन नचाहने बैंकहरुका लागि सकारात्मक हुने उनले बताए ।

‘केही बैंकहरुले हाइड्रोपावर लगानीको विशेष क्षेत्र हुन सक्दैन, यो क्षेत्रमा जोखिम लिएर लगानी गर्दैनौं बण्ड खरिद गर्छु भन्नेलाई यो अवसर हो, केही बैंकसँग सेक्टरल विशेषज्ञता हुँदैन,’ उनले भने । प्राथिमक क्षेत्रमा कम्पलायन्स नपुगेर पेनाल्टी तिर्नुपर्ने बाध्यतालाई यस्ता बण्डहरुले सहजता ल्याउने धारणा उनले राखे ।

निफ्रा बैंकले ऋणपत्र निष्काशनका लागि झण्डै १ वर्ष अघि आवेदन दिएको थियो । तर, नेपाल धितोपत्र बोर्ड (सेबोन) को निर्देशीका नै संशोधन गर्नुपर्ने भएकाले ढिलाइ भएको बैंकले बताएको छ । सेबोनले स्रोत संकलन गर्नका लागि भनेर क्यापिटल रिडेम्प्सन रिजर्भको निर्देशीका नै परिवर्तन गरेपछि मात्रै बैंकले ऋणपत्र निष्काशन गर्न स्वीकृति प्राप्त गरेको हो ।

निफ्रा बैंकलाई उर्जा ऋणपत्र निष्काशन गर्न राष्ट्र बैंकले २० दिन अघि मात्रै स्वीकृति दिएको हो । स्वीकृति पाएको २ महिनाभित्र बिक्री खुला गर्नु पर्ने व्यवस्था रहेको सीईओ खतिवडाले बताए ।

‘ऋणपत्र बिक्री गर्न बैंकहरुसँग छलफल भइरहेको छ, बैंक तथा वित्तीय संस्थाहरुले बिना क्रेडिट रिस्क सेक्टरल काउण्ट हुने इन्स्टुमेन्ट पाएका छन्, कर्जाको जोखिम निफ्राले लिन्छ, एनएमबि बैंक र कृषि विकास बैंकले यस्तै प्रकृतिका ऋणपत्र बिक्री गरिसकेका छन्,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.