कुमारी र एनसीसी बैंक मर्जमा एनबी समूहको मुद्दा, छोरालाई सञ्चालक र १२५ रोपनी जग्गा माग

  २०७९ मंसिर २२ गते १०:३२     विकासन्युज

काठमाडौं । कुमारी र एनसीसी बैंकबीचमा मर्जमा एनबी समूहले भाँजो हालेको छ । एनबी समूहका ९ कम्पनी, लक्ष्मीबहादुर श्रेष्ठ, उनको श्रीमती बिनु श्रेष्ठ, उनका छोराहरु एल्सन श्रेष्ठ र विन्सन श्रेष्ठले दुई बैंकबीचको मर्ज र विशेष साधारणसभामा भाँजो हाल्दै उच्च उदालतमा मुद्दा हालेका छन् ।

मर्ज सम्बन्धि अन्तिम निर्णयको लागि एनसीसी बैंक र कुमारी बैंक दुबैले मंसिर २५ गते विशेष साधारण सभा बोलाएका छन् । उक्त विशेष साधारणसभा रोक्न माग गर्दै उनीहरुले मंसिर १८ गते उच्च अदालत पाटनमा मुद्दा हालेका हुन् ।

अदालतले २० गतेको लागि छलफलमा दुबै पक्षलाई बोलाएको थियो । छलफलमा दुबै बैंकबाट उपस्थिति भएपनि निवेदकहरु नै उपस्थित भएनन् । २० गते नै अदालतभित्र सेटिङ गराएर लक्ष्मी बहादुरले २५ गते सुनुवाईको पत्र लिएका रहेछन् ।

लगत्तै दुबै बैंकको तर्फबाट लक्ष्मीबहादुर श्रेष्ठको जालझेल छिर्न फुटकर निवेदन अदालतमा दर्ता भयो । त्यसको सुनुवाई मंसिर २१ गते भयो ।
२१ गते पनि लक्ष्मीबहादुर श्रेष्ठका परिवार र उनका निजी कम्पनीहरुको तर्फबाट छलफलमा सहभागी नभएपछि इजलासले उनीहरुको नाममा राष्ट्रिय दैनिक पत्रिकाहरुमा र राष्ट्रिय टेलिभिजन सार्वजनिक सूचना जारी गर्दै मंसिर २३ गतेका लागि तोकिएको पेशीमा छलफल भाग लिन आउने भनेको छ ।

२३ गतेको छलफल पेशीमा अनिर्वाय उपस्थिति हुन इजलासले तोकेको र उनीहरुको नाममा सार्वजनिक सूचना दिने निर्णय पनि भएको अदालत स्रोतले बतायो ।

‘दुई ठूला बैंकहरु मर्जमा जाँदै गरेको र उनीहरुले बोलाएको विशेष साधारणसभालाई प्रभावित गर्ने उदेश्यले मुद्दा हालेको देखियो, अदालतले बैंकहरुको विशेष साधारणसभा प्रभावित् नहोस भनेर २३ गते नै सुनुवाई राखेका हो’ अदालत स्रोतले भन्यो ।

लक्ष्मीबहादुर श्रेष्ठ, लक्ष्मी बहादुरकी श्रीमती विनु श्रेष्ठ, उनका छोराहरु एल्सन श्रेष्ठ र विन्सन श्रेष्ठ, उनीहरुको प्राइभेट कम्पनीहरु भिमसेन इन्भेष्टमेन्ट, एनबी ग्रुप (नेपाल), एनबी इन्भेष्टमेन्ट, एनबी मार्केटिङ, जेनिथ इन्भेष्टमेन्ट एण्ड सेक्यूरिटी, हिमालयन क्यापिटल मार्केट् एण्ड इन्भेष्टमेन्ट, मनाङ इन्भेष्टमेन्ट र दिब्वेशवारी इन्भेष्टमेन्ट (सबै कम्पनीहरु प्रालि हुन्) हरुलाई २३ गते छलफल पेशीमा बोलाइएको छ ।

मुद्दासँगै लक्ष्मी बहादुर श्रेष्ठले कुमारी बैंकसँग बार्गेनिङ गरेको स्रोतले बतायो । उनले मर्जपछिको बैंकको सञ्चालक समितिमा आफ्नो छोरालाई राख्न माग गरेका छन् । साथै, एनसीसी बैंकको नाममा रहेको हरिसिद्धिको १२५ रोपनी जग्गा आफूलाई फिर्ता गरिदिन माग गरेका छन् ।

एनसीसी बैंकको सेयर पुँजी ७० करोड रुपैयाँ हुँदा एनबी समूहले हरिसिद्धिको जग्गा धितो राखेर ४४ करोड रुपैयाँ ऋण लिएको थियो । बैंकमा प्रवद्र्धकले हालेको पुँजी भन्दा बढी कर्जा लिएपछि राष्ट्र बैंकले आफ्नै बैंकबाट प्रवद्र्धकले कर्जा लिन नपाउने नियम बनाएको थियो ।

एनबी समूहले उक्त कर्जा भुक्तानी नगरेपछि एनसीसी बैंकले धितो सम्पत्ति आफ्नो नाममा ल्याएको छ । मर्जपछि उक्त सम्पत्ति कुमारी बैंकमा जानेछ ।

मर्जपछि कुमारी बैंकमा लक्ष्मीबहादुर श्रेष्ठको सेयर हिस्सा ३ प्रतिशतभन्दा कम हुने भएको छ । ठूलो बैंकमा सानो सेयरधनी भएपछि उनको केही लाग्दैन ।

त्यसैले मर्जपूर्व नै उक्त सम्पत्ति आफ्ना नाममा ल्याउन उनले बार्गेनिङ गरेको छन् । ‘५० करोड रुपैयाँ भुक्तानी गर्छु, उक्त जग्गा मलाई दिनुपर्छ भनिरहेका छन्’ उच्च स्रोतले भन्यो–‘त्यो सम्भव छैन ।’ साथै, ३ प्रतिशत सेयर हुँदैमा उनको छोरालाई सञ्चालक बनाउन नसकिने बताइएको छ । विवादस्पद इतिहास भएको एनबी समूहलाई अरु सेयरधनीले प्रोक्सी दिएर पनि समर्थन गर्दैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.