बेनीमा नौ करोडका गौरवको आयोजना

  २०७९ मंसिर २१ गते ९:४५     विकासन्युज

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले चालू आर्थिक वर्ष २०७९-८० मा नौ करोड रुपैयाँ बजेट विनियोजन गरेको गौरवका आयोजना कार्यान्वयन थालेको छ ।

नगरपालिकाले महत्व र प्राथमिकता दिएका पाँचवटा सडक, तीनवटा खानेपानी, एक–एक भवन, खेलमैदान र चिस्यानगृह निर्माण गर्न विभिन्न शीर्षकबाट नौ करोड एक लाख बजेट विनियोजन गरेको छ । नगरपालिकाको पूर्वाधार शाखाका प्रमुख इञ्जीनियर बिमलरञ्जन कार्कीले सातवटा ठूला योजनाको ठेक्का लागिसकेको बताए ।

‘ठेक्काबाट दुईवटा योजना निर्माण सुरु भइसकेका र पाँचवटा सुरु हुने तयारीमा छन्’, उनले भने, ‘तीनवटा योजनाको ठेक्का आह्वान भएको छ । एउटाको लागत अनुमान तयार गरेर ठेक्का प्रक्रियामा लैजाने तयारीमा छौं।’

नगरपालिकाले  एक करोड रुपैयाँ बजेट विनियोजन गरेको बेनी–पाखापानी सडकअन्तर्गत वडा नं ६ अर्थुङ्गेबाट वडा नं ९ को सिमानासम्मको सडक ढलान, नाली, घुम्ती र ग्रेड सुधार गर्न कृसु निर्माण सेवा काठमाडौँले ६६ लाख ९३ हजार तीन सय ९१ रुपैयाँमा ठेक्का पाएको छ ।

एक करोड २१ लाख रुपैयाँ लागत अनुमान गरिएको अर्थुङ्गे–पुलाचौर–भुतपानी सडक निर्माणका लागि उत्तरगङ्गा निर्माण सेवा बेनीले रु ८५ लाख ४० हजारमा ठेक्का पाएको छ । गण्डकी प्रदेश सरकारले ५० लाख रुपैयाँ, नगरपालिकाको गौरवको योजना शीर्षकमा २५ लाख रुपैयाँ र समपूरक कोषबाट ४६ लाख विनियोजन गरेको थियो । यो योजनामार्फत वडा नं ६ को बाँसबोटसम्म तीन–तीन सय मिटर ढलान र कालोपत्रका साथै नाली निर्माण गर्ने लक्ष्य छ ।

७० लाख रुपैयाँ लागत अनुमान गरिएको बेनी–महारानीथान–छाप–ठूलोखोला सडक योजना खुसीहोम बिल्डर्सले रु ५८ लाखमा ठेक्का लिएको छ । वडा नं ४ र ६ को भूगोलमा ग्यावियन पर्खाल, नाली, सोलिङ र ढलान गर्न लागिएको हो ।  २५ लाख रुपैयाँ विनियोजन भएको बेनी–ज्यामरुककोट सडकको तल्लो क्षेत्रमा पहिरो नियन्त्रण र माथिल्लो खण्डमा नाली बनाउन भगवती मालिका कन्ट्रक्सनले  २० लाख ५० हजार रुपैयाँमा ठेक्का लिएको छ ।

२३ लाख ३० हजार रुपैयाँ विनियोजन भएको बेनपा–४ को तातोपानी बजार कालोपत्र गर्ने योजना सोमरस निर्माण सेवाले २१ लाख २२ हजारमा ठेक्का पाएको छ । तल्लो तातोपानी बजारभित्र प्रिमिक्स प्रविधिको कालोपत्र गरिने नगरपालिकाले जनाएको छ ।

५० लाख रुपैयाँ विनियोजन भएको बेनी मिनी रङ्गशाला योजना निर्माणका लागि  ३५ लाख ९३ हजारमा ठेक्का लिएको उत्तरगङ्गा निर्माण सेवाले पर्खाल र प्यारापिट निर्माण सुरु गरेको छ । नगरपालिकाको प्रशासकीय भवनको तला थप गर्ने योजनाको ठेक्का पाएको शङ्कर निर्माण सेवाले पनि काम तीव्ररूपमा गरिरहेको छ ।

७३ लाख रुपैयाँ बजेट विनियोजन भएको नगरपालिकाको भवनमा तला थप गर्ने योजना ५२ लाख ५८ हजार दुई सय रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । सङ्घीय सरकारको  एक–एक करोड रुपैयाँअनुदान प्राप्त गाजने–नयाँगाउँ–ढोलठान–पुलाडाँडा र पात्लेखेत काछलुङ खानेपानी आयोजनाको ठेक्का आह्वान भएको छ । विशेष अनुदानबाट ४९ लाख ३० हजार रुपैयाँ प्राप्त खबरा खानेपानी योजनाको अधुरो कामलाई पूर्णता दिन पनि ठेक्का आह्वान भएको छ ।

सङ्घीय सरकारको  ७० लाख रुपैयाँ, प्रदेश सरकारको ५० लाख रुपैयाँ अनुदान र नगरपालिकाले  ७० लाख रुपैयाँ विनियोजन गरेको चिस्यान गृह निर्माणका लागि ठेक्का आह्वान गर्ने तयारी छ । बेनी नगरपालिका–४ सिङ्गामा तीन सय मेट्रिक टन क्षमताको फलफूल र तरकारी भण्डारण गर्ने चिस्यान गृह बनाउन लागिएको नगरप्रमुख सुरत केसीले बताए ।  १५ लाख रुपैयाँ सम्म बजेट विनियोजन भएका योजना उपभोक्ता समिति र सोभन्दा बढी बजेटका योजना ठेक्का प्रक्रियाबाट कार्यान्वयन गर्ने नगरप्रमुख केसीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.