५ कम्पनीलाई बीमा प्राधिकरणको पत्र : तत्काल आईपीओ जारी गर्नु

  २०७९ मंसिर १९ गते १४:१३     विकासन्युज

काठमाडौं । नेपाल बीमा प्राधिकरणले ५ वटा जीवन बीमा कम्पनीलाई तत्काल साधारण सेयर (आईपीओ) जारी गर्न निर्देशन दिएको छ । आईपीओ जारी गर्न बाँकी रहेका ५ वटा जीवन बीमा कम्पनीलाई पत्राचार गर्दै प्राधिकरणले सो निर्देशन दिएको हो ।

प्राधिकरणले सिटिजन्स लाइफ, रिलायबल लाईफ इन्स्योरेन्स, सन नेपाल लाइफ, आईएमई लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सलाई पत्र काटेको अध्यक्ष सूर्य प्रसाद सिलवालले बताए ।

‘आईपीओ जारी नगरेका कम्पनीलाई अब आईपीओ जारी गर्नुपर्छ भनेर हामीले परिपत्र पठाएका छौं,’ अध्यक्ष सिलवालले विकासन्युजसँग बोल्दै भने- ‘ती कम्पनीलाई डकुमेन्टसहित स्वीकृति लिन आई सकेसम्म छिटो दोश्रो बजारमा जान आग्रह गरेका छौं ।’

प्राधिकरणले जीवन तथा निर्जीवन बीमा कम्पनीहरुलाई चुक्ता पुँजी बढाउनका लागि २०७९ चैतसम्मको समय दिएको छ । जसअनुसार जीवन बीमा कम्पनीले सो अवधिसम्ममा न्युनतम ५ अर्ब रुपैयाँको चुक्ता पुँजी पुर्याउनु पर्ने हुन्छ । सो अवधि भित्रमा चुक्ता पुँजी पुर्याउनको लागि पनि प्राधिकरणले कम्पनीहरुलाई पत्र काट्दै सकेसम्म छिटो सेयर जारी गर्न दवाव दिएको बुझिन्छ ।

सेयर निष्काशन गर्न बाँकी रहेका कम्पनीहरुमध्ये अधिकांश कम्पनी प्रिमियममा सेयर जारी गर्नेमा मनसायमा छन् । तर बीमा प्राधिकरणले प्रिमियममा सेयर जारी गर्न स्वीकृति दिन्छ या दिँदैन भन्ने अन्यौलता उनीहरुमा परेको देखिन्छ ।

‘सेयर जारी गर्ने विषय सेबोनको हो, यसमा सेबोनले हेर्छ, यसमा हाम्रो टाउको दुखाई छैन,’ अध्यक्ष सिलवालले भने ।

जसमध्ये रिलायबल लाईफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा कूल ६० लाख कित्ता सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको छ । जसको लागि कम्पनीले प्रिमियम मूल्य समेत तोकिसकेको छ । कम्पनीले अंकित मूल्य एक सय रुपैयाँमा थप ११२ रुपैयाँ प्रिमियममा आईपीओ जारी गर्न बोर्डसँगै स्वीकृति मागेको हो ।

यससँगै बोर्डले स्वीकृति दिएमा कम्पनीले प्रतिकित्ता २१२ रुपैयाँमा (प्रमियम मूल्य सहित) १ अर्ब २७ करोड २० लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्ने छ । उक्त आईपीओ जारी गर्न कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केटलाई नियुक्त गरिसकेको छ ।

त्यस्तै, सन नेपाल लाइफ इन्स्योरेन्सले पनि प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने प्रकृया अघि बढाएको छ । कम्पनीले ६० लाख कित्ता सेयर प्रिमियममा निष्काशन गर्न लागेको हो । इन्स्योरेन्सको पछिल्लो वार्षिक साधारण सभाले उक्त प्रस्तावलाई पारित समेत गरिसकेको छ ।

यता सिटिजन लाइफ इन्स्योरेन्सले पनि प्रिमियम मूल्यमै सेयर जारी गर्ने तयारी गरिरहेको छ । कम्पनीले चैतसम्ममा सेयर जारी गरी तोकिएको चुक्ता पुँजी पुर्याउने इन्स्योरेन्सका सीईओ पोषकराज पौडेलले बताए ।

‘सेयर जारी गर्ने प्रकृयामा छौं, भर्खर संस्थापकबाट ५० प्रतिशत पुँजी थप्यौं, अब चैतभित्र सेयर जारी गरी पुँजी पुर्याउने गरी कम्पनी लागिरहेको छ,’ विकासन्युजसँग बोल्दै सीईओ पौडेलले भने- ‘प्रिमियममै सेयर जारी गर्न हामीले होमवर्क गरिरहेका छौं ।’

महालक्ष्मी र आईएमई लाइफ इन्स्योरेन्स पनि चुक्ता पुँजीको ३० प्रतिशत सेयर निष्काशन गर्ने तयारीमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.