वीरगञ्ज भन्सार : चार महिनादेखि राजस्व संकलन घट्दै

  २०७९ मंसिर १४ गते १०:१८     विकासन्युज

वीरगञ्ज । देशको प्रमुख व्यापारिक नाका वीरगञ्जको राजस्व सङ्कलन लगातार चार महिनादेखि घट्दै गएको छ । चालु आर्थिक वर्षको साउन महिनामा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन गरेको वीरगञ्ज भन्सार कार्यालयले कात्तिक महिनामा ६० प्रतिशत मात्र राजस्व सङ्कलन गरेको छ ।

चालु आवको साउनमा १५ अर्ब २० करोड सात लाख रुपैयाँको लक्ष्य लिएकामा कार्यालयले एक अर्ब २१ करोड सात लाख रुपैयाँ कम अर्थात् १२ अर्ब ९८ करोड ९९ लाख रुपैयाँ सङ्कलन गरेको छ । भदौमा १९ अर्ब २९ करोड ४५ लाख रुपैयाँ राजस्वको लक्ष्य पाएको भन्सार कार्यालयले पाँच अर्ब १५ करोड २० लाख रुपैयाँ कम अर्थात् १४ अर्ब १४ करोड २५ लाख रुपैयाँ मात्र सङ्कलन गरेको कार्यालयका सूचना अधिकृत सुमित गुप्ताले जानकारी दिए ।

असोजमा २१ अर्ब ८८ करोड ३३ लाख रुपैयााँको लक्ष्य राखेकामा नौ अर्ब ३८ करोड ९४ लाख रुपैयाँ कम अर्थात् १२ अर्ब ४९ करोड ३८ लाख रुपैयाँराजश्व सङ्कलन गरेको छ । चालु आवको साउन, भदौ र असोजमा राजस्व सङ्कलनको लक्ष्य हासिल गर्न चुकेको कार्यालयले कात्तिकमा लक्ष्यभन्दा न्यून सङ्कलन गरेको छ ।

कात्तिकमा २१ अर्ब ६५ करोड ४२ लाख रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य थियो । तर कार्यालयले आठ अर्ब ७२ करोड ९५ लाख रुपैयाँ कम अर्थात् १२ अर्ब ९२ करोड ४६ लाख रुपैयाँ मात्र सङ्कलन गरेको छ । यो लक्ष्यको तुलनामा ४० प्रतिशत कम हो ।

वीरगञ्ज भन्सार कार्यालयलाई सबैभन्दा बढी राजस्व दिने वाहन, इन्धनलगायत १० वस्तुको आयातमा सरकारले लगाएको प्रतिबन्धका कारण राजस्व सङ्कलनमा ह्रास आएको सूचना अधिकारी गुप्ताको भनाइ छ । गत आवको पहिलो चौमासिकको तुलनामा चालु आवमा इन्धन आयातमा ७४ प्रतिशत र वाहन अयातमा ७९ प्रतिशतले राजस्व सङ्कलनमा कमी आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.