उमेशलाललाई ४० वर्षदेखि एउटै प्रश्न- ‘राजनीतिमा किन नलागेको ?’

  २०७९ मंसिर १४ गते ८:०१     सीआर भण्डारी

उमेशलाल श्रेष्ठका ठूला बुवा गंगालाल श्रेष्ठ हुन्, जसलाई प्रजातन्त्र स्थापनाका लागि राजनीति गरेको भन्दै राणा शासकले गोली हानी हत्या गरेका थिए । प्रजातन्त्र स्थापनासँगै उनलाई सहिद घोषणा गरियो ।

उमेशलालका बुवा पुष्पलाल श्रेष्ठ हुन्, जो नेपाल कम्यूनिष्ट पार्टीका संस्थापक महासचिव हुन् । उनले राणा र पञ्चायत शासन ढाल्न र प्रजातन्त्र स्थापना गर्न आजीवन संघर्ष गरे, राजनीतिक तहमा नेतृत्व गरे ।

उमेशलालकी आमा साहाना प्रधान राणा विरुद्ध बोल्ने, पञ्चायत विरुद्धको संघर्षमा नेतृत्व गर्ने एक साहसिक महिला हुन् । उनी विभिन्न पटक मन्त्री पनि भइन् ।

नेपालको राजनीतिक इतिहासमा यी तीन जनाले गरेको योगदान बारे धेरै अध्याय लेखिएका छन्, पढ्न पाइन्छ । त्यहि परिवारमा २०१३ सालमा जन्मिएका थिए उमेशलाल श्रेष्ठ ।

यति उच्च राजनीतिक पृष्ठभूमिकामा जन्मे हुर्केका उमेशलाल भने राजनीतिमा लागेनन् । राजनीतिमा किन नलागेको भनेर उमेशलालाई धेरैले प्रश्न गर्छन । उनी भन्दा सिनियरहरुले पनि यहि प्रश्न गर्छन्, जुनियरहरुले पनि यहि प्रश्न गर्छन् ।

४० वर्ष अघिदेखि यहि प्रश्नको सामाना गरिरहेका छन् उनले । उनलाई भेट्ने हरेक पत्रकारले नछुटाउने प्रश्न पनि यहि हो । र, हामीले पनि यहि प्रश्न गर्यौं, तपाई राजनीतिमा किन लाग्नु भएन ?

उनले लामो सन्दर्भ र प्रसंगहरु व्याख्या गरे । निष्कर्षमा हामी पुग्यौ-बाध्यता, समझदारी र चेतना ।

‘ठूला नेताहरुले मलाई भन्नुहुन्छ-तिमी राजनीतिमा आउँछौं भने हामी राम्रो स्थान दिन्छौं, नेकपा एमालेको नेतृत्वले पनि भनेको हो, अरु ठूला पार्टीका नेतृत्वले पनि भनेका हुन्,’ उनले भने, ‘यस्तो प्रस्तावमा मैले विनम्रतापूर्वक जवाफ दिन्छु, म जहाँ छु, त्यहि ठिक छु, म राजनीति नगरी बाहिरबाटै देशको सेवा गर्छु ।’

पुष्पलालको निधनपछि छोरा उमेशलाललाई राजनीतिमा ल्याउनुपर्छ भनेर नेपाल कम्यूनिष्ट पार्टीमा आवाज उठेको थियो । ‘राजनीतिमा मेरो चाहाना भएन, आमा अगाडी बढ्नु भयो’ उनले भने ।

‘राजनीतिमा जान मलाई केही समस्या थिएन तर म गइन’ उमेशलालले स्मरण गरे-‘आमा राजनीतिमा सक्रिय हुँदा म २३ वर्षको थिएँ, त्यो बेलामा मेरो दिमाग परिपक्व पनि थिएन होला ।’

२०३६ सालको आन्दोलनसँगै साहाना प्रधानकोनेतृत्वदायी भूमिकामा उदाईन् । उमेशलाल बाहिरै बसे ।

‘राजनीति’ पारिवारिक विरासतमा हुनु हुँदैन भन्ने उनको स्पष्ट मान्यता छ । ‘मेरो बुवा र आमाले जे गर्नु भयो उहाँहरुको आफ्नो राजनीतिक चेत र राजनीतिक ज्ञान अनुसार राम्रै गर्नु भयो, तर मैले पनि राजनीति नै गर्नुपर्छ भन्ने हुँदैन ।’

राजनीतिक परिवारमा जन्मेको व्यक्तिले किन राजनीति नगरेको भनिरहँदा अचेल उमेशलाललाई ‘रिस’ उठ्ने गरेको छ । ‘हाम्रो परिवेशमा डाक्टरका छोरा डाक्टर, इन्जिनियरका छोरा इन्जिनियर, कर्मचारीका छोरा कर्मचारी बन्ने भन्छन्, बनेका पनि छन्, ल त्यो ठिकै हो’ उनले पुरक प्रश्न गरे, ‘के डाकाका छोरा डाका नै बन्ने हो त ? त्यो त हुँदैन ।’

सरकारले जागिर खोसिएपछि …

साहाना त्रिभुवन विश्व विद्यालयमा पढाउथिन् । पञ्चायत विरुद्ध राजनीति गरेको आरोपमा तत्कालिन सरकारले साहानालाई जागिरबाट निकाल्यो ।

उक्त घट्ना उमेशलालको जीवनको ठूलो टर्निङ प्वाइन्ट भयो ।

त्यतिबेला उमेशलाल बिएससी पढ्दै थिए । मास्टर्स डिग्री र पिएचडी हासिल गर्न विदेश जाने योजनामा थिए । अस्ट्रेलिया जान उमेशले स्कलरसिप, पासपोर्ट, भिजा लगायत तयारी गरिसकेका थिए ।

आमाको जागिर खोसिएपछि उमेशलालको परिवार आर्थिक मारमा पर्यो । परिवार चलाउन कमाईको काम गर्नै पर्ने बाध्यता उनको काँधमा आयो । उच्च शिक्षाको लागि विदेश जाने उनको इच्छामा पूर्णविराम लाग्यो ।

कामको खोजीको क्रममा उनले संसारको नम्बर वान औषधि कम्पनी हेक्सल फर्मासियूटिकल्समा जागिर पाए । त्यतिबेला जागिर खानुको विकल्प आफूसँग नभएको उनले सुनाए ।

तीन वर्षपछि उनी जागिर छोडेर आफ्नै विजनेश गर्ने सोचमा पुगेका थिए । दिमाग यताउता चल्न थालिसकेको थियो । त्यहिबेला उनको प्रमोशन भयो । अब प्रमोशन खाने कि छोडेर ब्यापार गर्ने भन्ने दुविधामा परे उनी ।

‘लोभ लागेर प्रमोशन खाएँ’ उनले सम्झिदै भने- ‘व्यापारमा पनि तनाव हुन्छ, जोखिम हुन्छ भनेर मैले सजिलो बाटो रोजेँ ।’

अन्ततः २०४४ मा उनले जागिर छोडे र साझेदारीमा नयाँ फर्मासियूटिकल्स कम्पनी चलाए । पछि अर्काे कम्पनी खोले क्वेष्ट फार्मास्यूटिकल्स । र, पुरानो कम्पनीबाट बाहिरीए ।

विशेषगरी डाइबेटिज, ब्लडप्रेसर, कोलेस्टरल, मष्तिस्कघात जस्ता जटिल रोक निरोधका औषधिहरु बनाउँदै क्वेष्ट फार्मास्यूटिकल्स कम्पनी अहिले औषधि उद्योगको क्षेत्रमा अब्बल उद्योगको रूपमा स्थापित भएको छ ।

परिवेश

जनताको लागि राजनीति गर्दा परिवारमा आर्थिक संकट निम्तन्छ । उमेशलालको परिवारमा यस्तै संकट थियो । परिवारमा एक जनाले मात्र राजनीति गर्नुपर्छ, अरुले आय आर्जनको काम गर्नुपर्छ भन्ने समझदारी र अभ्यास पुष्पलालको पालामा नै परिवारभित्र थियो ।

पुष्पलाल राजनीतिमा हुँदा साहाना अध्यापन पेशामा थिइन् । पुष्पलालको निधनपछि सहाना राजनीतिमा लागिन, उमेशलाल आय आर्जनमा । बुबाले थालेको अभ्यासलाई उमेशलालले निरन्तरता दिए ।

उमेशलालले आफ्नो बुवासँग धेरै समय बिताउन पाएनन् । जतिबेला उमेशलाल कुरा बुझ्ने, गफ गर्न सक्ने उमेरमा थिए त्यतिबेला पुष्पलाल निर्वासित जीवन बिताइरहेका थिए । ‘मेरो बुवा पुष्पलाल आदर्शपूर्ण नेता हुनुहुँदो रहेछ भन्ने जानकारी पछि कितावहरु पढेर मात्रै जानकारी पाएको हुँ’ उमेशलालले भने ।

राजनीतिक चेतना

उमेशलालमा राजनीतिक चेतना नभएको होइन र उनलाई राजनीतिप्रति रुची नै नभएको पनि होइन ।

‘म राजनीतिबाट टाढा छैन, राजनीतिक विषयमा अनविज्ञ पनि छैन, राजनीतिमा चाख राख्छु, विशेषगरी नेपाली राजनीति र अन्तर्राष्ट्रिय राजनीति नजिकसँग नियाली रहेको छु’ उनले भने ।

नीति निर्माण र नेतृत्व गर्ने काम राजनीतिबाट मात्र सम्भव हुने कुरामा पनि उनी जानकार छन् । राजनीतिशास्त्र, समाजशास्त्र, कम्युनिज्म, प्रजातन्त्र, दर्शन, पौराणिक किताहरुको अध्ययन गरेको उनले सुनाए ।

उनले निर्वाचनको बेलामा आफ्नो मत फेरबदल गर्ने गरेको पनि खुलाए । भोट दिँदा चिन्ह भन्दापनि राम्रो मान्छेलाई छान्ने गरेको पनि खुलस्त बताए । तर, राम्रा मान्छेले पनि राजनीतिमा लागेर राम्रो गर्न नसकेको उनको बुझाइ छ ।

‘राजनीति स्वच्छ, सरल र जनतामुखी भएन । स्वार्थमुखी भयो । यस्तो किसिमको राजनीति भइरहेको बेलामा एक्लो व्यक्तिले केही पनि गर्न सक्दैन, म राजनीतिमा लागे भने पनि काम गर्न गाह्रो छ’ उनले भने- ‘मैले राम्रो गरे भने पनि त्यो मेरो बुबा र आमाले गरेको कामसँग तुलना हुन्छ । ‘पुष्पलाल भएको भए यस्तो हुनसक्थ्यो, साहानाले भए यस्तो गर्ने थिइन’ भनिन्छ ।

‘मेरो तुलना पुष्पलाल श्रेष्ठ र साहाना प्रधानसँग हुन्थ्यो, उहाँहरुको अगाडि म जहिल्यै पनि बच्चा नै हुन्छु, अमिता बच्चनको अघि अभिसेक बच्चनको जस्तै’ उनले सटिक उदाहरण दिए ।

धेरै मान्छे राजनीतिमा लाग्नु र राजनीतिलाई पेशा बनाएकोमा पनि उनी बेचैन छन् ।

‘एउटै पार्टीको १५ लाख सदस्य छन्, १० लाखभन्दा बढी सदस्य भएको ठूला पार्टी नै तीन छन् । सबैले राजनीति गर्न जरुरी छैन नि’ उनले भने ।

राजनीति डोरीको गुजुल्टो जस्तो भएको र त्यो फुक्नुको साटो झन कसिलो बन्दै गएको उनको विश्लेषण छ ।

आर्थिक विकासमा जोड

‘आमाबुवाले राजनीतिमा जोड दिनुभयो, राजनीति चेतना फैलाउनुभयो, मैले आर्थिक विकासमा जोड दिए, मेरो मान्यता आर्थिक विकास नभएसम्म देश विकास गर्न सकिन्न भन्ने हो,’ उनले भने ।

आर्थिक विकासको लागि नीजि क्षेत्रलाई प्रोत्साहित गर्नुपर्नेमा उनले जोड दिए । ‘अर्थतन्त्रको ७० प्रतिशत हिस्सा ओगटेको नीजि क्षेत्रसँग सरकारले जहिले पनि हातेमालो गरेर हिड्नुपर्छ, निजी क्षेत्रले राम्रोसँग काम गर्न पायो भने आर्थिक वृद्धिदर उच्च हुन्छ’ उनले भने ।

नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्षको जिम्मेवारी समेत सम्हालिकसकेका उमेशलाल महासंघको वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने तयारीमा छन् । महासंघको अध्यक्ष नेतृत्वमा गएर पुराना, असान्दर्भिक कानुनहरुको खारेजी गराउने, संशोधन गराउने, नीजि क्षेत्रलाई प्रोत्साहित गर्ने गरी नयाँ कानुनहरु निर्माणमा सरकारलाई सघाउने उनको चाहाना छ ।

मुलधारको राजनीतिमा सहभागी नभएपनि सरकारको ध्यान आर्थिक विकासमा केन्द्रीत गराउने र निजी क्षेत्रलाई प्रोत्साहित गर्दै यस क्षेत्रको नेतृत्व गर्ने उनको अठौट मुलधारका राजनीतिकर्मीले गर्ने राजनीतिभन्दा कम महत्वपूर्ण छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

X