राष्ट्र बैंकको कारवाहीमा परे ९ बैंक, ब्याज बढाउनेदेखि अनावश्यक सुविधा लिए

  २०७९ मंसिर १३ गते १२:३५     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले नियम विपरित काम गर्ने ९ वटा वाणिज्य बैंकलाई कारवाही गरेको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा तोकिएको नियमहरु उल्लंघन गर्ने ९ वटा वाणिज्य बैंकहरुलाई कारवाही गरेको हो ।

राष्ट्र बैंकले बैंक अफ काठमाण्डू, कृषि विकास बैंक, प्रभु बैंक, कुमारी बैैंक, प्राइम कमर्सियल बैंक, हिमालयन बैंक, सनराइज बैंक, ग्लोबल आइएमई र मेगा बैंक गरी ९ वटा वाणिज्य बैंकलाई कारावाही गरेको हो ।

राष्ट्र बैंकले निर्धारण गरेको नियम अनुसार विपन्न वर्ग क्षेत्र कर्जा लगानी नगरेको भन्दै बैंक अफ काठमाडौं लिमिटेडलाई २ करोड ११ लाख ८५ हजार रुपैयाँ जरिवाना गरिएको छ । यस्तै, सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन र निर्देशन उल्लघंन गरेको भन्दै कृषि विकास बैंकलाई २० लाख रुपैयाँ जरिवाना गरिएको छ ।

आधार दर भन्दा कम ब्याजदरमा कर्जा दिएको भन्दै सनराइज र मेगा बैंकका सीईओलाई सचेत गराइएको छ । सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत अवकाश हुँदा थप सुविधा दिएको भन्दै सनराइज बैंकको सञ्चालक समितिलाई सचेत गराइएको छ ।

मेगा बैंकले विगतमा लगानी भएका कर्जा असुल नगरी पटक–पटक नवीकरण गरेको भन्दै बैंकका सीईओ र प्रमुख कर्जा अधिकृतलाई सचेत गराइएको छ । राष्ट्र बैंकले रोक्का राख्न निर्देशन दिएका खाताहरुमा कारोबार गरेको भन्दै बैंक अफ काठमाडौं लिमिटेड, प्रभु बैंक, कुमारी बैंक र प्राइम बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको छ ।

एक पटक लगानी भएको कर्जामा प्रिमियम दर वृद्धि गरेको भन्दै हिमालयन बैंक, सनराइज बैंक, ग्लोबल बैंक र मेगा बैंकको प्रमुख कार्यकारी अधिकृतलाई पनि सचेत गराइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.