लकडाउनमा ५० हजारमा सुरु गरेको अचार उद्योगबाट वार्षिक ५० लाख आम्दानी

  २०७९ मंसिर ११ गते १६:५८     विकासन्युज

काठमाडौं । मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले सफल भइन्छ भन्ने राम्रै उदाहरण बनेकी छिन् काठमाडौंको तारकेश्वर नगरपालिका–१० मनमैजुकी सरस्वती लोहनी अधिकारी । आफ्नै घरमा अचार उत्पादन सुरु गरेकी अधिकारीले नेपाल र विदेशमा अचार बिक्रीवितरण गरेर तीन वर्षमा ५० लाखभन्दा बढी आम्दानी गरेकी छ ।

काठमाडौंको तारकेश्वर नगरपालिका–१० मनमैजुमा ‘माई पिकल हाउस’ सञ्चालन गर्दै आएकी अधिकारीले कोरोना महामारीको समयमा सुरु गरेकाे अचार उद्योगबाट पर्याप्त आम्दानी गरेकी हुन् । तारकेश्वर उज्वल महिला समूहको सचिव भएको समयमा नगरपालिकाले दिएको अचार बनाउने तालिममा सहभागिता भएकी अधिकारीले नगरपालिकाकै कारण अचार बनाउन थालेकी हुन् । अधिकारी अहिले सो महिला समूहको सल्लाहकार छिन् ।

‘नगरपालिकाले हामीलाई तालिम दिएसँगै अचार बनाउन अग्रसर ग¥यो, सुरुमा बाध्यताले मसहित पाँचजना मिलेर अचार उद्योग सञ्चालन ग¥यौँ, पछि उद्योगको भविष्य राम्रो देखेर एक्लैले उद्योग सञ्चालन गरेकी हुँ,’ उनी भन्छिन् ।

तनहुँ घर र नुवाकोट माइती भएकी अधिकारी विगत २२ वर्षदेखि श्रीमान् राम अधिकारीले काठमाडौंको बागबजारमा सञ्चालन गरेको ‘बिआर प्रिन्टर प्रेस’को काम गर्दै आएको थिइन् । अचार बनाउने तालिम लिएसँगै छापाखानाको काम छाडेर हाल आफ्नै अचार उद्योगमा व्यस्त छिन् । उनले अचार उद्योग सञ्चालन गर्न परिवारको समेत राम्रो साथ र सहयोग पाएकी छिन् ।

विसं २०७६ फागुनदेखि सञ्चालनमा आएको उक्त अचार उद्योगमा पछिल्लो समय छ जनाले रोजगार पाएका छन् । नियमित रुपमा छ जनाले काम गर्दै आए पनि धेरै उत्पादन हुने समयमा कामदारको सङ्ख्या थपघट हुने गरेको उनको भनाइ छ । सुरुको समयमा ५० हजार लगानी गरेर मेसिन, भाँडाकुँडा, ढकतराजु र अचारलाई आवश्यक पर्ने सामाग्री खरिद गरेर एउटा कोठाबाट सञ्चालन गरिएको उक्त उद्योग हाल ६ कोठामा सञ्चालित छ ।

मिक्स अचार, टिमुरको छोप र मेथीको टुसाको अचारबाट सुरु भएको उक्त उद्योगमा हाल १५ किसिमका अचार उत्पादन हुँदै आएको अधिकारी बताउनुहुन्छ । हाल उक्त उद्योगमा मिक्स, टिमुर, मेथी, आँप, अकबरे, लप्सी, कागती, मुला, करेला, गुन्द्रूक, भट्टमास, सिद्रा, टिमुर मिक्स, सिद्रामाछा, काँक्रो र तामाका अचार उत्पादन हुन्छन् ।

माई पिकल हाउसमा उत्पादित अचार हाल काठमाडौं, भक्तपुर, ललितपुर र चितवन बिक्रिवितरण हुँदै आएको छ । नेपालबाहेक अष्ट्रेलियामा बढी अचार बिक्रि हुने गरेको छ । यस्तै, क्यानडा र अमेरिकामासमेत अचार निर्यात हुँदै आएको सञ्चालक अधिकारीले बताइन् ।

वैदेशिक रोजगार र अन्य कामका लागि विदेश जाने नेपालीले उद्योगमै आएर अचार लैजाने गरेको उनी बताउँछन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.