नेपाली उद्योगलाई प्रतिष्पर्धी बनाउन उत्पादन लागतलाई कम गर्नुपर्छ : शंकरदास बैरागी

  २०७९ मंसिर ९ गते १५:२४     विकासन्युज

काठमाडौं । नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले नेपाली उद्योगलाई प्रतिष्पर्धी बनाउनको लागि उत्पादन लागतलाई कम गर्नुपर्ने बताएका छन् ।

शुक्रवार आठौं उद्योग दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यसचिव बैरागीले उद्योगलाई प्रतिष्पर्धी बनाउनको लागि उत्पादन लागत कम गर्नुपर्ने विश्वभरको मान्यता रहेकाले नेपालमा पनि आवश्यक रहेको बताएका हुन् । उनले उद्योग प्रतिष्पर्धी नभएसम्म फस्टाउन नसक्ने जानकारी दिए । उनले उद्योगमा उत्पादन वृद्धि भएर निर्यात नबढाएसम्म मुलुकमा व्यापार घाटा चुलिँदै जाने बताए ।

मुख्य सचिव बैरागीले पछिल्लो समय मुलुकको अर्थतन्त्रमा वाह्य दबाब रहेकाले अवस्था असहज रहेको भनेका छन् । उनले वाह्य क्षेत्रको असरले अर्थतन्त्रमा देखिको असहज अवस्था लामो समय नरहने विश्वास व्यक्त गरे । उनले अर्थतन्त्र तथा उद्योग क्षेत्रमा रहेका समस्याको सबैले पहिचान गरिसकेकाले निजी क्षेत्र र सरकार मिलेर समाधान गर्नुपर्ने बताए ।

उनले भने, ‘नेपालको मात्रै नभएर विश्वकै अवस्था त्यस्तै रहेको छ । त्यसैले समस्या समाधानको लागि निजी क्षेत्र र सरकार मिलेर समाधान गर्नुपर्छ  । नेपालमा अहिले भएको क्षमताले नभ्याएको हुनाले लगानी मैत्री वातावरण बनाउन आवश्यक छ । नेपालको उद्योग क्षेत्रका समस्या र विकासमा ठूलो चुनौती भनेको नीति बनाएर कार्यान्वयन नहुने हो । नेपाली उद्योग प्रतिष्पर्धी हुनको लागि उत्पादन लागत कम हुनैपर्छ । उद्योग नफस्टाएसम्म उत्पादन बढ्दैन । उत्पादन गर्न नसक्दा निर्यात बढ्दैन र निर्यात गर्न नसक्दा व्यापार घाटा बढ्दै जान्छ ।’

उनले नेपालमा भएका उद्योगको क्षमताले नभ्याएको हुनाले लगानी मैत्री वातावरण बनाएर वैदेशीक लगानी ल्याउन सक्नुपर्ने बताए । उनले नेपालको उद्योग क्षेत्रका समस्या र विकासमा ठूलो चुनौती नीति कार्यान्वयन भएको स्वीकार गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.