साधारणसभा नगरे काठमाडौं महानगरपालिकाले सहकारी संस्था खारेज गर्ने

  २०७९ मंसिर ९ गते ८:०९     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाले साधारण सभा सम्पन्न गरेको प्रतिवेदन पेश गर्न सहकारी संस्थाहरुलाई निर्देशन दिएको छ । काठमाडौं महानगरपालिका भित्र रहेका कार्यक्षेत्र भएका सहकारी संस्थाहरूले आगामी २०७९ पौष मसान्तभित्र साधारण सभा सम्पन्न गरी प्रतिवेदन काठमाडौँ महानगरपालिका, सहकारी विभागमा बुझाउन निर्देशन दिएको हो ।

सहकारी ऐन, २०७४ को दफा ३९ (२) तथा काठमाडौं महानगरपालिका सहकारी ऐन, २०७४ को दफा २८ (२) एवं दफा १०४ बमोजिम काठमाडौं महानगरपालिकाभित्र कार्यक्षेत्र भएका सहकारी संस्थाहरूले सभा सम्पन्न भएको मितिले १५ दिनभित्र साधारण सभाबाट पारित प्रमाणित प्रतिवेदन पेश गर्न भनेको हो ।

साधारण सभा सञ्चालन गर्दा सहकारी संस्थाको साधारण सभा (कार्य व्यवस्था) निर्देशिका २०७६ अनुसार सहकारी संस्थामा सदस्य बनाएर मात्र कारोबार गर्ने र सबै सदस्यलाई साधारण सभामा उपस्थितिका लागि आह्वान गर्नुपर्नेछ ।

यस्तै, साधारण सभामा कुल सदस्य सङ्ख्याको कम्तीमा ५१ प्रतिशत सदस्य उपस्थित नभए गणपुरक सङ्ख्या नपुग्ने हुँदा गणपुरक सङ्ख्या पुयाएर मात्र साधारण सभा सञ्चालन गर्नुपर्नेछ ।

सदस्यहरूको भूमिकालाई अझ सक्रिय बनाउन उद्घाटन सत्रलाई तथा मन्तव्यको कार्यक्रम नराखी सो एजेन्डा उपर छलफल गर्ने वातावरण मिलाउनुपर्ने, लेखापरीक्षण प्रतिवेदन, सञ्चालक समिति तथा लेखा समितिको प्रतिवेदन एवं पेश हुने अन्य सबै प्रतिवेदन तथा विषय उपर पर्याप्त छलफल गराएर मात्र पारित गर्नुपर्नेछ ।

सञ्चालक समिति तथा लेखा समितिको निर्वाचन हुने भए प्रचलित कानून, मापदण्ड एवं विनियम बमोजिमको योग्यता पुगेका सदस्यहरू मध्येबाट निर्वाचित गर्नुपर्नेछ ।

साधारण सभाबाट चालू आर्थिक वर्षको संस्थाको हिसाब किताबको लेखापरीक्षण गर्न एक जना लेखापरीक्षक र आवश्यकतानुसार वैकल्पिक लेखा परीक्षक नियुक्तिको निर्णय गर्ने र निजको पारिश्रमिक तोक्ने, संस्थाको विनियम संशोधन कार्यविधि नियमावली, नीति साधारण सभाबाट पारित गर्ने, संस्थाको चालू आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम साधारण सभाबाटै अनुमोदन गर्ने र साधारण सभाको प्रतिवेदनमा तपसिल बमोजिमका कागजातहरू समावेश गर्ने लगायतको प्रतिवेदन पेश गर्न निर्देशन दिएको हो ।

साथै, नयाँ दर्ता स्वीकृति प्राप्त सहकारी संस्थाहरूले दर्ता भएको मितिले ३ महिनाभित्र प्रारम्भिक साधारण सभा गरी नबुझाएमा र पुरानाको हकमा २ वर्षसम्म कुनै कारोबार नगरी निष्क्रिय रहेको पाइएमा काठमाडौं महानगरपालिका सहकारी ऐन २०७४ को दफा ६६ बमोजिम विघटन र दर्ता खारेजको प्रक्रिया अगाडि बढाइने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.