उत्कृष्ट करदाता बन्यो सूर्य नेपाल, बैंकिङमा नबिल

  २०७९ मंसिर ७ गते ११:०१     विकासन्युज

काठमाडौं । आन्तरिक राजस्व विभागले उत्कृष्ट करदाता घोषणा गरेको छ । विभागले बुधबार कर दिवस मनाउँदै उत्कृष्ट करदातालाई सम्मान गरेको हो ।

विभागले आर्थिक वर्ष २०७७/७८ मा सूर्य नेपालले सबैभन्दा धेरै कर तिरेको भन्दै सम्मान गरेको छ । विभागले आर्थिक वर्ष २०७७/७८ मा व्यक्तिगत आयतर्फ भने विजयकुमार शाहलाई सम्मानित गरेको छ ।

विभागले जावलाखेल डिस्टिलरीका अध्यक्ष समेत रहेका शाहलाई बुधबार सम्मान पनि गरेको छ । जावलाखेल डिस्टिलरीसँगै शाहले हिमालयन डिष्टिलरी, राज ब्रुअरी, एसियन र विजय डिष्टिलरी सञ्चालन गरिरहेका छन् । उनी २०७७ सालमा पनि व्यक्तिगततर्फ धेरै कर तिरेर सम्मानित भएका थिए ।

यस्तै, नेपाल टेलिकम सबैभन्दा धेरै आयकर बुझाउने कम्पनी बनेको छ भने शिवशक्ति घ्युबाट निर्यात कारोबारबाट धेरै कर तिर्ने कम्पनी बनेको छ । राजेश मेटल प्रालि विशेष उद्योग शीर्षकको आयकरदाताका रुपमा सम्मानित भएको छ ।

ओसीबी फुड्स प्रालि कृषि एवम् पशुपन्छी आयकरदाता बनेको छ भने नबिल बैंक वित्तीय संस्थातर्फको ठूलो आयकर दाता बनेको छ भने छिमेक लघुवित्त सहकारी तथा लघुवित्त आयकरदाता बनेको छ ।

बीमा व्यवसायबाट धेरै आयकर दाखिला गर्नेमा नेपाल पुनर्बीमा कम्पनी छ भने स्वास्थ्य तथा शिक्षातर्फ धेरै आयकर तिर्नेमा नोबेल मेडिकल कलेज सम्मानित भएको छ ।

पर्यटन व्यवसायमा मनकामना दर्शन, वस्तु व्यापारमा हंसराज हुलाशचन्द प्रालि र चिलिमे हाइड्रोपावरले उर्जामूलक उद्योगको ठूलो आयकरदाता बनेको छ ।

मद्यमस्तरीय करदातामा सबैभन्दा धेरै आयकर दाखिला गर्नेमा नेपाल धितोपत्र विनिमय बजार लिमिटेड र रेमिटेन्स कम्पनीमा आईएमई लिमिटेड बनेको छ ।

आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा धेरै कर तिर्ने व्यक्ति तथा संस्थालाई सरकारले बिभिन्न १५ वटा बिधामा सम्मान गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.