नागरिकताका विषयमा रविले बुझाए बन्दी खाममा आफ्नो स्पष्टीकरण

  २०७९ मंसिर ७ गते ८:१२     विकासन्युज

काठमाडौं । नागरिकताका विषयमा निर्वाचन आयोगले सोधेको स्पष्टीकरणमा चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रवि लामिछानेले मङ्गलबार जवाफ दिएका छन् । लामिछानेले बन्दी खाममा आफ्नो स्पष्टीकरणको जवाफ पठाएका हुन् । आयोगको निर्वाचन कार्यालय चितवनमा उनले स्पष्टीकरण बुझाएको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए ।

मङ्गलबार अबेर गरी उनले जवाफ बुझाएको उनले बताए । सो जवाफलाई कार्यालयले निर्वाचन आयोगमा जस्ताको तस्तै बुझाउने बताइएको छ । आयोगले यस विषयमा थप निर्णय गने उनको भनाइ छ । चितवन क्षेत्र नम्बर २ मा लामिछानेले अग्रता लिइरहेका बेला सो जवाफ बुझाएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछाने विरुद्ध नेपालको नागरिकता त्याग नगरेकाले उम्मेदवारी खारेजी गर्नुपर्ने माग गर्दै परेको उजुरी परेपछि गत कात्तिक ३० गते आयोगले स्पष्टीकरण सोधेको थियो । मङ्गलबार स्पष्टीकरणको अन्तिम दिन थियो । लामिछाने विरुद्ध आयोग कार्यालयमा राजकुमार पाण्डेले उम्मेदवारी खारेजी मागसहित अघिल्लो मङ्गलबार उजुरी दिएका थिए ।

आयोगमा दर्ता भएको सो उजुरीलाई आयोगले आफ्नो मातहत कार्यालय निर्वाचन कार्यालय चितवन क्षेत्र नम्बर २ मार्फत स्पष्टीकरण लिएको थियो । १८२२२ नागरि कता नम्बर कायम भई २०५० सालमा तत्कालीन काठमाडौं नगरपालिका वडा नम्बर ६ बाट रविले नागरिकता लिएको देखिन्छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट लिइएको सो नागरिकता अमेरिकी नागरिक भएसँगै खारेज भएको तर त्यही खारेज भएकै नागरिकताका आधारमा उम्मेदवारी दर्ता गरिएको दाबी उजुरीकर्ताको छ । नेपाल नागरिकता ऐन, २०६३ अनुसार कुनै पनि नेपाली नागरिकले विदेशी नागरिक बने सँगै नेपाली नागरिकता निष्क्रिय हुने व्यवस्था छ । यसरी निष्क्रिय बनेको नागरिकताका सम्बन्धमा विवाद भएपछि चार वर्षअघि नै अमेरिकी नागरिकता त्यागेर नपाली नागरिकता सक्रिय बनाएको रवि लामिछानेको दाबी छ । यता जारी मतगणनामा लामिछानेको अग्रता कायमै छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.