एक महिनामा कनेक्ट आइपिएस मार्फत १५ अर्बको कारोबार

  २०७९ मंसिर १ गते ११:२८     विकासन्युज

काठमाडौं । पछिल्लो समय कनेक्ट आईपिएस मार्फत हुने कारोबार रकममा उल्लेख्य रुपमा बृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार एक महिनामा मात्रै कनेक्ट आइपिएस मार्फत करिब १५ अर्ब बराबरको कारोबार भएको हो ।

बैंकले बुधबार चालु आर्थिक वर्षको तीन महिनामा (गत साउनदेखि असोज मसान्तसम्मको) तथ्यांक सार्वजनिक गरेको हो । उक्त तथ्यांक अनुसार गत भदौ महिनाको तुलनामा असोजको एक महिनामा कनेक्ट आइपिएस मार्फत १४ अर्ब ७३ करोड बढीको कारोबार भएको हो । गत भदौ महिनामा २ खर्ब ९२ अर्ब ५४ करोड ५० लाख बराबरको कारोबार भएकोमा असोज महिनामा ३ खर्ब ७ अर्ब २७ करोड ५० लाख बढीको कारोबार भएको हो ।

यस्तै, तथ्यांक अनुसार गत आवको तीन महिनाको तुलनामा चालु आवको तीन महिनामा कनेक्ट आइपिएस मार्फत हुने कारोबार रकममा २८ दशमलव ४८ प्रतिशतले बृद्धि भएको छ ।

अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनामा कनेक्ट आइपिएम मार्फत २ खर्ब ३९ अर्ब १४ करोड ८० लाख बराबरको कारोबार भएकोमा चालु आवको सोही अबधिमा ३ खर्ब ७ अर्ब २७ करोड ५० लाख बढीको कारोबार भएको हो ।

बढ्यो डिजिटल भुक्तानीको कारोबार

बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक वर्षको तुलनामा चालु आवको पहिलो तीन महिनामा विद्युतीय भुक्तानीको प्रयोगमा उल्लेख्य वृद्धि भएको देखिन्छ । यस्तो कारोबारमा एटिएम, विद्युतीय भुक्तानी प्रणाली, कनेक्ट आइपीएस, मोबाइल बैंकिङ, वालेट, प्रिपेड कार्ड, क्युआर कोडलगायतको प्रयोग बढेको छ  ।

सार्वजनिक तथ्याङ्कानुसार गत आवमा क्विक रेस्पोन्स (क्युआर) कोडमा आधारीत भुक्तानीको प्रयोग उच्च दरले बढेको देखिन्छ । गत आवको पहिलो तीन महिनामा क्युआर कोडको प्रयोग गरी ६ अर्ब नौ करोड ७० लाख रुपैयाँको कारोबार भएकामा चालु आवको समिक्षा अवधिमा यसको प्रयोग गरी १७ अर्ब ३३ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै चालु आवको असोज मसान्तसम्म प्रिपेड कार्डको मध्यमबाट ४३ करोड ६० लाख रुपैयाँको कारोबार भएको छ । यस्तो कार्डको प्रयोगबाट अघिल्लो आवको सोही अवधिमा १५ करोड ३० लाख रुपैयाँको कारोबार भएको थियो ।

केन्द्रीय बैंकका अनुसार कारोबारमा मोबाइल बैंकिङको प्रयोग गत आवको तुलनामा बढेको छ । गत आवको असोज मसान्तसम्म मोबाइल बैंकिङको प्रयोग गरी ८७ अर्ब ७३ करोड २० लाख बराबरको कारोबार भएकामा चालु आवको सोही अवधिमा एक खर्ब ६२ अर्ब १३ करोड ७० लाख पुगेको छ ।

त्यस्तै चालु आवको पहिलो तीन महिनामा एटिएमको प्रयोग गरी ८८ अर्ब ८९ करोड ६० लाखको कारोबार भएको छ । यसको प्रयोगगरी गत आवको सोही अवधिमा ७६ अर्ब ५३ करोड ७० लाखको कारोबार भएको छ ।

राष्ट्र बैंकका अनुसार चालु आवको पहिलो तीन महिनामा वालेटमार्फत १६ अर्ब ५६ करोड ८० लाखको कारोबार भएको छ । यसको प्रयोग गरी गत आवको सोही अवधिमा १५ अर्ब १८ करोड ७० लाखको कारोबार भएको थियो ।

विवरणानुसार अघिल्लो आवका आधारमा चालु आवको असोज मसान्तसम्म इन्टरनेट बैंकिङका माध्यमबाट हुने भुक्तानीमा भने कमी आएको देखिएको छ । गत आवको पहिलो तीन महिनामा इन्टरनेट बैंकिङको प्रयोग गरी १३ अर्ब ३४ करोड ४० लाख बराबरको कारोबार भएकामा चालु आवको समीक्षा अवधिमा ११ अर्ब ९५ करोड ९० लाख बराबरको कारोबार भएको छ ।

विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, विद्युतीय भुक्तानी कारोबारका लागि गरीएको प्रोत्साहन र सर्वसाधारणको विद्युतीय भुक्तानी उपकरण प्रयोगमा बढ्दो अभ्यासका कारण मुलुकमा विद्युतीय भुक्तानी कारोबार उल्लेख्य बढेको केन्द्रीय बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.