नेतालाई चुनावमा सेवा दिन हेलिकप्टर कम्पनी अनिच्छुक, अग्रिम भुक्तानीको माग

  २०७९ मंसिर १ गते १०:२८     विकासन्युज

काठमाडौं । नेपालमा अहिले नेपाली सेनासँग साना ठूला गरेर ८ वटा हेलिकप्टर छन् भने अन्य निजी क्षेत्रका ११ वटा कम्पनीहरुसँग २९ वटा हेलिकप्टर रहेका छन् । नेपाली सेनाले आफ्नो आवश्यक नियमित काम, सकारको निर्देशन, आकस्मिक उद्धार चार्टड फ्लाइटमा आफ्नो हेलिकप्टर प्रयोग गर्ने गर्छ । चुनाव लक्षित प्रचारप्रसारको लागि राजनीतिक दलका सिमित व्यक्तिहरुले हेलिकप्टरको प्रयोग गर्ने अनुमति निर्वाचन आयोगले दिएको थियो । नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टीले हेलिकप्टर प्रयोगको अनुमति आयोगबाट लिएको थियो ।

मुख्य गरेर चार राजनीतिक दलका मुख्य नेतृत्वले चुनाव लक्षित प्रचारका लागि हेलिकप्टर प्रयोगका लागि आयोगसँग अनुमति मागेपनि अन्य विभिन्न बाहानामा केही नेता तथा उम्मेदवारहरुले हेलिकप्टर प्रयोग गरेको आयोगमा उजुरी परेको छ । हेलिकप्टर कम्पनीहरुका अनुसार राजनीतिक राजनीतिक नेताहरुले प्रचार कार्यमा प्रयोग गर्नको धेरै हेलिकप्टर कम्पनीसँग अनुमति मागेपनि उनीहरुले उपलब्ध नगराएको बुझिएको छ ।

यतिबेला नेपालमा पर्यटक घुम्न आउने समय भएकाले पर्यटक बोक्ने कामले नै फुर्सद नभएकाले राजनीतिक नेतृत्हरुलाई हेलिकप्टर उपलब्ध गराउन नसकिएको कतिपयले बताएका छन् भने कतिपयले नेताहरुले विगतमा नै प्रयोग गरेको बक्यौता नबुझाएकाले आफूहरु उनीहरुलाई सेवा दिन अनिच्छुक भएको बताएका छन् ।

एयर एल्टिच्युडले यसपटक माग आएपनि कुनैपनि राजनीतिक दलका उम्मेदवारहरुलाई चुनाव प्रचारप्रसारको लागि हेलिकप्टर उपलब्ध गराएन । कम्पनीका मार्केटिङ अफिसर सुदिप प्याकुरेलका अनुसार हेलिकप्टरले विदेशी पर्यटक बोकिरहेको कारणले राजनीतिक दलका नेतृत्वको मागलाई सम्बोधन गर्न नसकेको बताए ।

विगतका चुनावहरुमा विभिन्न राजनीतिक नेताहरुले कम्पनीको हेलिकप्टर प्रयोग गर्दाको झण्डै १० लाख बक्यौता उठाउन बाँकी रहेको उनले अफिसर प्याकुरेलले विकासन्युजलाई बताए ।

एयर डाइनेस्टीका अपरेसन म्यानेजर बालकृष्ण पण्डितका अनुसार राजनीतिक प्रचारका लागि हेलिकप्टरको माग निकै नै भइरहेको छ, तर कम्पनीले उपलब्ध गराउन सकिरहेको छैन । ‘चुनावको लागि माग अत्यन्तै धेरै भएको छ, २र४ वटा फ्लाइट भए तर हामीले माग भएजति दिन सकिरहेका छैनौं’, म्यानेजर पण्डितले विकासन्युजसँग भने ।

पण्डितका अनुसार हेलिकप्टरहरु पर्यटक फ्लाइटमा नै व्यस्त भएकाले कम्पनीले राजनीतिक दलका उम्मेदवारलाई हेलिकप्टर उपलब्ध गराउन सकेको छैन । चुनावमा राजनीतिक नेताहरुलाई पैसा डिपोजिट राखेर मात्रै भाडामा दिने गरिएको म्यानेजर पण्डितले बताए ।

डाइनेस्टीमा पनि विगतको निर्वाचन प्रचारप्रसारको क्रममा प्रयोग गरेर विभिन्न राजनीतिक दलका उम्मेदवारहरुले लामो समयदेखि पैसा बुझाउन बाँकी रहेको छ ।

हेलिकप्टर सेवा व्यवसाय गर्दै आएको मनाङ एयरमा भने निर्वाचन लक्षित चुनाव प्रचारका लागि कुनै पनि दलका नेताले बुकिङ गरेनन् । मनाङ एयरका अपरेसन डाइरेक्टर शेरचन सुवेदीले अहिलेसम्म निर्वाचन प्रचारको अवधिमा कुनै पनि राजनीतिक दलले आफूहरुको हेलिकप्टर प्रयोगको लागि माग नगरेको बताए । साथै उनले पर्यटकहरुलाई नै सेवा दिन भ्याइनभ्याई भएको कारणले माग आएपनि सेवा उपलब्ध गराउन नसकिने अवस्था रहेको शेरचनले बताए ।

‘पहिलाको निर्वाचन पनि पर्यंटकको सिजनमा परेको थियो यसपटक पनि त्यस्तै सिजनमा पर्यो’, उनले भने ।

त्यस्तै कैलाश हेलिकप्टरले पनि राजनीतिक नेताहरुलाई निर्वाचन लक्षित प्रचारका निमित्त हेलिकप्टर उपलब्ध गराएको छैन् । कम्पनीका अपरेसन डेपुटी डाइरेक्टर श्रीहरी कुइकेलका अनुसार यतिबेला हेलिकप्टर पर्यटक बोक्न नै व्यस्त भएकाले राजनीतिक दलका नेताहरुको मागलाई उपलब्ध गराउन सकिने अवस्था नरहेको बताए ।

चुनावी प्रचार अभियानमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सिम्रिक एयरलाइन्सको हेलिकप्टरको प्रयोग गरे भने सत्ता गठबन्धनका नेता प्रधानमन्त्री शेरबहादुर देउबा र प्रचण्डले सैनिक जहाजदेखि निजी हेलिकप्टरको प्रयोग गरे ।

One comment on "नेतालाई चुनावमा सेवा दिन हेलिकप्टर कम्पनी अनिच्छुक, अग्रिम भुक्तानीको माग"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.