अम्बे स्टीलको आम्दानीमा उछाल, गोयन्काको कारोबार ५० प्रतिशतले घट्यो

  २०७९ कार्तिक ३० गते १३:३०     विकासन्युज

काठमाडौं । अम्बे स्टीलले सन् २०२२ मा पौने ११ अर्ब रुपैयाँको व्यापार गरेको छ । उद्योगले स्टीलको कारोबार गरेर सन् २०२२ मा १० अर्ब ९३ करोड ३० लाख रुपैयाँको कारोबार गरेको हो । जुन गत वर्षको तुलनामा १७ प्रतिशत बढी हो ।

सन् २०२१ मा अम्बे स्टीलले ९ अर्ब २८ करोड ४० लाख, २०२० मा ६ अर्ब ३७ करोड ६० लाख र २०१९ मा ८ अर्ब ८१ करोड ८० लाख रुपैयाँको कारोबार गरेको थियो ।

उद्योगले अम्बे ब्राण्डमा टीएमटी बार, जीआइ वायर र बाइन्डिङ वायर उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । उद्योगले बिलेट, पिग आइरन र स्पन्ज आइरन छिमेकी भारतबाट आयात गर्दै आएको छ । उद्योगको ८२ प्रतिशत आम्दानी टीएमटीबार बिक्रीबाट हुने गरेको छ ।

उद्योगको बिलेटल उत्पादन क्षमता वार्षिक ८० हजार टन छ । उद्योगले बिलेट उत्पादन क्षमता वार्षिक ४५ हजार टन थप्ने तयारी थालेको छ । सन् १९८२ मा स्थापना भएको यस ग्रुपमा शोभाकर न्यौपानेको ६०, रमेशकुमार अग्रवाल र सज्जन अग्रवालको २५ र बाँकी १५ प्रतिशत स्वामित्व पूर्णबहादुर पौडेलको छ ।

यो न्यौपाने, अग्रवाल र पौडेल परिवारले सञ्चालन गरेको उद्योग हो । उद्योगले ४ अर्ब ५२ करोड १० लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ । त्यसका लागि कम्पनीले एल डबल बीको रेटिङ पाएको छ । यो स्टील उद्योग भने सन् २००९ मा स्थापना भएको हो ।

यस्तै, गोयन्का स्टीलको व्यापार भने गत वर्ष घटेकोछ । यस स्टील उद्योगले सन् २०२१ मा १ अर्ब ८ करोड ७० लाख रुपैयाँको व्यापार गरेको छ । जुन अघिल्लो गत वर्षको तुलनामा करिब ५० प्रतिशत कम हो । अघिल्लो वर्ष अर्थात् सन् २०२० मा यस उद्योगले २ अर्ब १४ करोड ३० लाख रुपैयाँको कारोबार गरेको थियो भने सन् २०१९ मा ३ अर्ब ९४ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो ।

यस कम्पनीले ऋण सुविधाका लागि रेटिङ गराएको छ । कम्पनीले २ अर्ब १३ करोड ५० लाख रुपैयाँ ऋण सुविधाका लागि एल डबल बीको रेटिङ पाएको छ । गाेयन्का समूहले सञ्चालन गरिरहेको यस उद्योगमा राम गोपाल गोयन्का र उनका दुई छोराहरु अमित कुमार गोयन्का र अजय गोयन्काले सञ्चालन गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.