मलाई पैसा पुगिसक्यो, मुस्ताङको विकासकै लागि ५५ करोडको रिसोर्ट खोलेँ : सोनाम शेर्पा

  २०७९ कार्तिक २३ गते १३:२७     विकासन्युज

काठमाडाैं । मुस्ताङको मुक्तिनाथ क्षेत्रमा ५५ करोड रुपैयाँ लगानीमा बनेको ‘लो मुस्ताङ हिमालयन रिसोर्ट’ सञ्चालनमा आएको छ । गैर आवासीय नेपाली संघका पूर्व उपाध्यक्ष सोनाम लामाको व्यक्तिगत ५५ करोड लगानी रहेको उक्त होटल गत शुक्रबारबाट सञ्चालनमा आएको हो । पर्यटकको चाप बढेपनि स्तरीय र सुविधासम्पन्न होटल संरचनाको अभाव रहेकाले आफूले व्यक्तिगत लगानीमा सुविधासम्पन्न होटल बनाएको उनी बताउँछन् ।

बुटिक अवधारणामा करिव १०० रोपनीमा फैलिएको होटलबाट चारै दिशामा हिमाल अवलोकन गर्न सकिनेछ । होटलमा २० कोठा र एक हल र अन्य आठको कोठा निर्माण कार्य पनि भइरहेको छ । होटल उच्च हिमाली क्षेत्रमा रहेकाले चिसोबाट बच्न सोना तथा स्पाकोसमेत सुविधा रहेको छ । होटल सञ्चालन आएको ३५ वर्षपछि होटल मुक्तिनाथका जनतालाई हस्तान्तरण गर्ने लामाको भनाई छ । निलगिरी धौलागिरी जस्ता मनमोहक हिमालको घेराभित्र रहेजस्तै देखिने सो होटलमा पर्यटकको सेवाका लागि साउना, स्पादेखि घोडाचढी सुविधा उपलब्ध हुनेछ । समुन्द्र सतहबाट करिव ३ हजार ७१० मिटर उचाईमा रहेको रिसोर्टबाट ३६० डिग्रीमा चारैतर्फ हिमालको दृश्यावलोकन गर्न सकिन्छ । हिन्दु र बौद्धमार्गीको साझा तीर्थस्थल रहेको मुक्तिनाथ क्षेत्रमा बढी हिन्दुधर्मालम्वीहरु दर्शन गर्नको लागि पुग्ने भएकाले होटलमा हिन्दुहरुको लागि साकाहारी रेष्टुरेण्ट सञ्चालनमा ल्याउने होटलको तयारी रहेको छ । रिसोर्टमा ध्यान, योग तथा दृश्यावलोकनका लागि उपयुक्त हुनेगरी पार्क तथा अन्य संरचनासमेत उपलब्ध हुने बताउनु भयो ।

अमेरिकामा २७ वर्ष विभिन्न व्यवसाय गरेका लामा गैरआवासीय नेपाली संघमा १३ वर्ष आवद्ध रहेका थिए । काठमाडौंको ठमेलमा १०० बेड क्षमताको होटल लो मुस्ताङ पनि सञ्चालनमा ल्याउने अन्तिम तयारी गरिरहेका छन् । गत शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारी मुस्ताङको प्रशिद्ध तीर्थस्थस्ल मुक्तिनाथ क्षेत्रमा पुगेर ‘लो मुस्ताङ हिमालयन रिसोर्ट’को उद्घाटन गरेकी थिइन् । यसै सन्दर्भमा गैरआवासीय नेपाली संघका पूर्व उपाध्यक्ष तथा रिसोर्टका सञ्चालक लामासँग मुस्ताङमा नै रिसोर्ट बनाउन करोडौं लगानी गर्नुको कारण लगायत मुस्ताङको पर्यटन विकासका विषयमा कुराकानी गरेका छौं ।

हिमालपारिको जिल्लामा करोडौंको लगानीमा रिसोर्ट बनाउने सोच कहिलेदेखि आएको थियो ?

म नेपालको हिमालपारी तथा विकट जिल्ला मुस्ताङको सामान्य परिवारमा जन्म लिएको मान्छे हुँ । म मुस्ताङ जिल्लामा जन्म लिएपनि काठमाडौंमा धेरै समय दुःख गरेर बसेँ । त्यसपछि विदेश गएँ । विदेशमा बस्दा गैर आवासीय नेपाली संघको केन्द्रिय उपाध्यक्षसमेत भएर काम गरेँ । म मुस्ताङ जस्तो जिल्लामा जन्म लिएर विदेशमा गएर काम गरेर मुस्ताङको पर्यटन विकासको लागि केही काम गर्न पाउनु आफ्नो बुबा आमाको श्रेय हो । आफूसँग भए आफू जन्मको ठाँउ र समाजसेवा,आफ्नो देशलाई सहयोग गर्नुपर्छ भन्ने भावना छ । समाजसेवा गर्नु धर्म हो । मैले मेरो छोराछोरीलाई कमाइ दिनुपरेको छैन । आफैँ राम्रो काम गर्ने भएका छन् । उनीहरुबाट नै मलाई मुस्ताङको पर्यटन विकास र समाज सेवा गर्न साथ सहयोग रहेको छ । आफू जन्मेको ठाउँमा पर्यटन क्षेत्रको पूर्वाधार निर्माण गर्नु मेरो पहिले देखिको उदेश्य रहेको थियो । तर अहिले आएर सम्भव भयो । मैले मेरो लागि भन्दा पनि मुस्ताङ मुक्तिनाथ क्षेत्रको लागि पर्यटन पूर्वाधार होटलमा लगानी गरेको हो ।

गैरआवासीय नेपाली संघ पूर्व उपाध्यक्ष भइसक्नुभएको मान्छे तपाई विश्वका जुनसुकै देशमा होटलमा लगानी गर्न सक्नुहुन्थ्यो, तर विदेशमा लगानी नलगाएर करौडौंको लगानी मुस्ताङमा नै किन ?

मानिसहरुले गर्न नसक्ने भन्ने कुरा कुनै छैन । मुक्तिनाथ क्षेत्रमा अहिलेसम्म त्यति धेरै पर्यटकको लागि सुविधा सम्पन्न होटल बनेका छैनन् । मुक्तिनाथ क्षेत्रमा सबै होटलहरु होम स्टेको रुपमा चलेका थिए । होम स्टेका रुपमा होटलहरु चलाउँदा मुक्तिनाथ क्षेत्रमा आउने पर्यटकहरुले पर्यटकीय क्षेत्रमा राम्रो होटलहरुको सुविधा नभएको गुनासो गर्ने गरेका थिए । मैले मुक्तिनाथ क्षेत्रमा धार्मिक तथा विदेशी पर्यटकका लागि सुविधा सम्पन्न होटल तथा मुस्ताङका व्यवसायीहरुलाई पनि सिक्ने अवसर बनाउनको लागि रिसोर्टमा लगानी गरेको हुँ । पर्यटकहरु आएर बस्ने होटलहरुमा लजिङ, फुडिङ तथा शौचालयहरु कस्तो राख्ने, बेड रुम कस्तो बनाउने होटल तालिम समेत दिने सोच बनाएर रिसोर्ट बनाउन लागेको हो । मैले १०० रोपनी गाउँको जग्गा लिजमा लिएर होटल बनाएको हो । मुक्तिनाथ क्षेत्रलाई र यहाँको समाजलाई केही योगदान होस भनेर मुस्ताङ मुक्तिनाथ क्षेत्रमा लगानी लगाएको हो । मैले मुस्ताङको मुक्तिनाथ क्षेत्रमा कमाउनको लागि लगानी गरेको होइन । मुक्तिनाथ क्षेत्रको आर्थिक र सामाजिक विकासको लागि हो । मलाई कमाउनको लागि देश तथा विदेशमा ठूलो लगानी गर्नसक्छु । अहिले पनि अमेरिकामा ७ वटा डिपार्टमेण्ट स्टोर सञ्चालनमा छन् । मैले समाज सेवाको लागि मात्रै आफू जन्मेको ठाँउमा लगानी गरेको हो । मलाई खर्ब र अर्बौ रुपैयाँ पैसा चाहिएको छैन । मलाई चाहिने पुगेको छ । म शिक्षा क्षेत्रको विकासको लागि सहयोग गरिरहेको छु । मेरो चाहना दुर्गम क्षेत्रमा शिक्षा ,स्वास्थ्य तथा विपन्नहरुलाई सहयोग गर्ने र समाज सेवा गर्ने रहेको छ ।

होटल सम्पूर्ण रुपमा तयारी हुँदा लागत कति पुग्छ, होटलका सेवा सुविधाहरु के–के छन् ?

होटलमा २० कोठा रहेको छ । जसमा एक हल छ । होटलमा हिटिङ समेत भएको बुटिक स्तरको छ । बाँकी ८ वटा कोठा २ महिनामा तयारी हुन्छ । त्यसमा सोना, स्पा सेवा सुविधा थप हुन्छ । चिसो ठाउँ भएकाले होटलमा मौसम अनुसारका पर्यटकको सुविधाको लागि सोना स्पाको व्यवस्था गरिन्छ । होटलमा लगानी किस्ता किस्तामा भइरहेको छ । पहिलो पटक २५ करोड लगानी लागेको छ । सम्पूर्ण रुपमा होटल तयारी हुँदासम्म ५५ करोड लगानी गर्ने सोचमा रहेको छु । मुक्तिनाथमा धेरै हिन्दु धर्मालम्बिहरु आउने भएकाले हिन्दु तीर्थयात्रीहरुको लागि होटलमा मासु रहितको छुटै रेष्टटुरेन्ट सञ्चालनमा ल्याउने तयारी छ । होटलमा नै योगा सेन्टर खोल्ने योजना रहेको छ । होटलमा सबै सेवा सुविधा थप्दै जाँदा ५५ करोडभन्दा बढी लगानी लाग्नसक्ने आँकलन रहेको छ ।

५५ करोड लगानी गरेर मुस्ताङमा लो मुस्ताङ हिमालयन रिसोर्ट’ सञ्चालनमा ल्याउँदा मुस्ताङका जनतालाई के फाइदा देख्नुहुन्छ ?

यो होटल भएको स्थान बरागड मुक्तिनाथ क्षेत्र गाउँपालिका वडा न १ मा पर्छ । यो होटल कागवेनीदेखी देख्न सकिन्छ । रिसोर्टको वरीपरी ६०० स्याउका बिरुवाहरु पनि रोप्न शुरुवात भएको छ । यो मुक्तिनाथको मुखमा नै छ । मान्छेहरुले मुक्तिनाथ जाँदा बस्ने खाने लजिङ फुङिङ राम्रो छैन भन्छन् । त्यसको व्यवस्थाको लागि पनि होटल बनाएको हो । अब होटलमा नै उच्च हिमाली क्षेत्र रहेकाले बिरामी पर्ने तिर्थयात्रीहरुको लागि अक्सिजन तथा औषधि मेडिकल खोल्ने तयारी पनि गरेको छु । मुक्तिनाथ क्षेत्रमा आउने धार्मिक तथा अन्य विदेशी पर्यटकहरुले दुःख नपाउने गरी सबै व्यवस्था सहितको रिसोर्ट बनाउने सोच बनाएको छु ।

विशेष गरी विदेशी पर्यटकको लागि बढी प्राथमिकता राखेर रिसोर्ट सञ्चालन गर्न लाग्नु भएको छ, मुक्तिनाथ क्षेत्रमा आन्तरिक पर्यटकहरु पनि आउछन्, मुक्तिनाथ क्षेत्रमा आउने आन्तरिक धार्मिक पर्यटनहरुले रिसोर्टको कस्तो सुविधा लिन सक्छन ?

मुक्तिनाथ क्षेत्रमा पनि नेपालीहरु धेरै खर्च गर्ने राम्रो सेवासुविधा भएको होटलमा बस्ने हुन्छन् । सोना, स्पा भएको ठाउँमा बस्ने हुन्छन् । नेपालीहरु पनि धनी छन् । सामान्य परिवारका नेपालीहरुको लागि पनि मुक्तिनाथमा त्यही अनुसारका अन्य होटलहरु रहेका छन् । त्यहाँबाट सेवा पाउन सक्छन् । तर उहाँ स्टारहरु नभएकाले यो होटलमा स्टार होटलको रुपमा विस्तार गर्ने र त्यही अनुसारको सेवा सुविधा दिन्छौं । स्टार होटलको सुविधा खोज्नेहरुको लागि यो लो मुस्ताङ हिमालयन रिसोर्ट बनाएको हो ।

मुस्ताङमा पर्यटन क्षेत्रको विकास किन हुन नसकेको र अब राज्यले के गर्नुपर्छ जस्तो लाग्छ ?

मुस्ताङमा पर्यटन क्षेत्रको विकास गर्न मुख्य बाधक सडक सञ्जाल रहेको छ । कालीगण्डकी करिडोर बनाउन लागेको धेरै समय भएको छ । तर सडक बिस्तार राम्रो हुन सकेको छैन । त्यो सडक बिस्तार व्यवस्थित बनाएर चीनको कारोला नाका जोड्नसके मुस्ताङमा पर्यटन विकासमा धेरै अवसरहरु रहेका छन् । मुस्ताङको समुन्द्र सतहबाट करिव ३ हजार ७१० मिटर उचाईमा रहेको रिसोर्टबाट ३६० डिग्रीमा चारैतर्फ हिमालको दुश्यावलोकन गर्न सकिन्छ । मुस्ताङमा फल्ने स्याउ,आलु र सिमी अग्र्यानीक हुन्छ । मुस्ताङ नेपालको पर्यटकको लागि पहिलो नम्बर ठाउँ हो । त्यसको लागि सडक राम्रो हुनुपर्छ । जलवायु परिवर्तनका कारण केही असर परेकोले जलवायु परिवर्तन नहुने गरी वातावरण संरक्षण गर्नुपर्ने अवस्था छ । ट्रेकिङ र साइकिलिङ पर्यटकका लागि राम्रो रुट बनाउनु पर्ने देखिएको छ । मुस्ताङको पर्यटक विकासको लागि मुख्य गरेर म्याग्दीको सडक बिग्रिरहने समस्याले मारमा पारेको छ । मुस्ताङ जिल्लाको सडक राम्रो रहेको छ । मुस्ताङ आउँदा नेपालीहरुले नै नेपाल नै होर भन्ने गरेका छन् । मुस्ताङ पर्यटनको लागि प्रचुर सम्भावना रहेको जिल्ला हो । वातावरणका हिसावले पनि सबै मिलेको ठाउँ रहेको छ ।

मुस्ताङको मात्रै नभएर समग्र नेपालमा पर्यटकको कस्तो सम्भावना देख्नुभएको छ ?

मुस्ताङको मुक्तिनाथमा अहिले आन्तरिक पर्यटकहरुलाई नै ठाउँ दिन सकिएको छैन । कोरोला नाका नजिक भएकाले चीन नजिक छ । हिन्दुराज्य भारत नजिक रहेको छ । त्यसले गर्दा भारत र चीनबाटसमेत धार्मिक पर्यटक ल्याउन सडक राम्रो बनाउनसके मुक्तिनाथ क्षेत्र नेपालको धार्मिक पर्यटन क्षेत्रमा पहिलो नम्बरमा आउँछ । अहिले एयरप्लेनको समरमा समस्या रहेको छ बाँकी पर्यटनको लागि राम्रो अवसर रहेको छ । मुस्ताङमा मुक्तिनाथ दर्शन गर्नेदेखि हिउँ पर्दा हिउँ खेल्न पर्यटकहरु आउछन् । अहिले मुक्तिनाथ क्षेत्रमा विद्युतको समस्या रहेको छ । चिसो समयमा होटलहरुमा हिटिङ रुपको व्यवस्था गर्दा प्रशस्त आन्तरिक तथा विदेशी पर्यटक ल्याउन सकिन्छ । नेपाल एक अथाह पर्यटकिय सम्भावना बोकेको देश हो । गर्नसके विदेशमा जानुपर्ने अवस्था छैन ।

गैर आवासीय नेपाली संघमा आवद्ध नेपालीहरुलाई नेपालमा आफू जन्मेको ठाउँमा लगानी लगाउने विषयमा के भन्न चाहनुहुन्छ ?

गैर आवासीय नेपाली संघमा लाखौं नेपालीहरु आवद्ध हुनुहुन्छ । उहाँहरुको सोच र मेरो सोच मिल्दैन । संघको प्लेटफर्म प्रयोग गरेर काम गर्ने होइन । एनआएरएनमा मसँग विचार मिल्ने शेष घले दाई हुन् । हामीले नेपालको विकासको लागि काम गर्ने सोच राखेका छौं । तर अहिले गैर आवासीय नेपाली संघ आफ्नो व्यक्तिगत स्वार्थको लागि कमाउने थलो बनाउने काम भएको छ । एनआरएन संस्था राम्रो हो । संस्थामा भएर नै मुक्तिनाथ क्षेत्रमा भगवान गौतम बुद्ध र विष्णुको मूर्ति बनाउन सकेको हो ।

One comment on "मलाई पैसा पुगिसक्यो, मुस्ताङको विकासकै लागि ५५ करोडको रिसोर्ट खोलेँ : सोनाम शेर्पा"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.