तानसेन र अर्घाखाँचीले गरे साढे २१ करोडको सिमेन्ट निर्यात, भारतमा बजार खोज्दै

  २०७९ कार्तिक २३ गते ११:१६     विकासन्युज

काठमाडौं । नेपालले तीन महिनामा साढे २१ करोड बढीको नेपाली सिमेन्ट निर्यात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तीन महिनाको तथ्यांक (गत साउनदेखि असोज मसान्तसम्म) अनुसार २१ करोड ५६ लाख ९० हजार रुपैयाँ बराबरको नेपाली सिमेन्ट भारत निर्यात भएको हो ।

तथ्यांक अनुसार उक्त अवधिमा ८ करोड ३३ लाख रुपैयाँ बराबरको क्लिंकर र १३ करोड ५४ लाख ६० हजार रुपैयाँ बराबरको सिमेन्ट निर्यात भएको हो । सरकारले चालू आर्थिक वर्षको बजेटमा निर्यातमा छुटको घोषणा गरेसँगै नेपाली दुई सिमेन्ट उद्योगले नेपाली ब्राण्डका सिमेन्ट भारतमा निर्यात सुरु गरेका छन् ।

गत असार २४ गतेदेखि पाल्पा सिमेन्टको ‘तानसेन’ ब्राण्ड र असोज ३१ गतेदेखि अर्घखाँची ब्राण्डको सिमेन्ट भारत निर्यात सुरु भएको हो । दुई सिमेन्ट तथा एक स्टील निर्यात गरेका व्यवसायीहरु भारतीय बजारमा नेपाली उत्पादनले बजार पाएको बताउँछन् ।

नियमित निर्यात

पाल्पा र अर्घखाँची सिमेन्टरले भारतका विभिन्न सहरमा नेपाली सिमेन्ट निर्यात भैरहेको बताएका छन् । अर्घाखाँची सिमेन्ट उद्योगका सञ्चालक राजेश अग्रवाल ठूला चाडपर्वमा निर्यातमा केही सुस्तता आएतापनि हाल नियमित रुपमा निर्यात भैरहेको बताउँछन् ।

‘ठूला चाडपर्वका कारण केही सुस्तता भयो, नयाँ सामग्री, नयाँ ब्राण्ड, नयाँ बजार भएपछि हामीसँगै ग्राहकले बुझन समेत केही समय लाग्छ, नयाँ स्थानमा पिकअप लिन केही समय लाग्यो’, उनले भने, ‘हामीले निरन्तर रुपमा नेपाली सिमेन्ट र रड निर्यात गरेका छौँ, विस्तारै बजार पाउँछ ।’

उनका अनुसार गत असोज ३१ गतेदेखि अर्घखाँची ब्राण्डको सिमेन्ट सात हजार बोरा सिमेन्ट निर्यात भैसकेको छ भने एक सय ५० टन रड निर्यात भैसकेको छ । कम्पनीले भारतको युपी सहरमा सिमेन्ट निर्यात गरेको जनाएको छ । कम्पनीले प्रतिबोरा २ सय ६५ रुपैयाँका दरले सिमेन्ट निर्यात गरेको हो ।

पाल्पा सिमेन्टले असार २४ गते, श्री स्टीलले साउन ४ गते तथा अर्घखाँची सिमन्टले गत असोज ३१ गतेदेखि नेपाली उत्पादन भारत निर्यातको सुरु गरेका हुन् । सरकारले सिमेन्ट, स्टील लगायत सामान निर्यातमा ८ प्रतिशत अनुदान र वार्षिक १० करोड बढीको विद्युत खपत गर्ने उद्योगलाई २ देखि १५ प्रतिशतसम्म महसुलमा छुट दिने घोषणा गरेको थियो । चालु आर्थिक वर्षको बजेटमार्फत् सो व्यवस्था गरेको थियो । त्यसका लागि कार्यविधि पनि बनिसकेको छ ।

तर, सञ्चालक अग्रवालले कार्यविधि बनेपनि सरकारसँग छुटको रकम नलिएको बताए । सिमेन्ट उत्पादक संघका उपाध्यक्ष ताराप्रसाद पोखरेल नेपाली सिमेन्ट नियमित रुपमा भारतका विभिन्न सहरमा निर्यात भैरहेको बताउँछन् ।

‘सरकारले निर्यातमा छुटको घोषणा गरेपछि पाल्पा र अर्घखाँची सिमेन्टले निर्यात सुरु गरिसकेका छन्, उनीहरुले भारतका विभिन्न सहरमा नियमित रुपमा सिमेन्ट निर्यात गर्दै आएका छन्, दुई सिमेन्ट उद्योगसँगै अन्य उद्योगहरु निर्यातमा तयारीमा जुटेका छन्’, उनले भने ।

भारत सरकारबाट सिमेन्ट निर्यातमा गुणस्तर प्रमाणपत्रको पर्खाईमा धेरै सिमेन्ट उद्योग रहेको उनको भनाई छ । नेपाली सिमेन्ट उद्योगले भारत निर्यातका लागि भारत सरकारबाट गुणस्तर प्रमाणीत प्रमाणपत्र लिनुपर्नेछ । सिमेन्ट उत्पादक संघको तथ्यांक अनुसार नेपालमा ५० भन्दा धेरै सिमेन्ट उद्योग सञ्चालनमा छन । तीमध्ये करिब १५ वटाले सिमेन्ट र क्लिंकर दुवै उत्पादन गर्दै आएका छन । यी सिमेन्ट उद्योगको वार्षिक उत्पादन क्षमता झण्डै २ करोड २० लाख टन जति रहेको अनुमान छ ।

उत्पादनको मात्रा हालको आन्तरिक मागभन्दा बढी जस्तो छ । सरकारले २०७२ को भूकम्पपछि पुनर्निर्माणका कामलाई तीव्रता दिँदा पछिल्ला केही वर्षमा सिमेन्ट उद्योगले तीव्र व्यापार गरे जस्तो थियो । विगत सात वर्षमा भूकम्पबाट क्षति भएका पाँच लाखभन्दा बढी निजी घर र हजारौं विद्यालय भवन, सम्पदा स्थल, स्वास्थ्य चौकी र अन्य संरचनाको पुनर्निर्माण गरिएको छ ।

निर्यात र विद्युत महसुलमा छुट पाउने भएपछि उद्योगीहरु उत्साहित भएका छन् । सरकारको उक्त छुटसँगै पाल्पा र अर्घाखाँची सिमेन्टपछि जगदम्बा, सर्वोत्तम र सौर्य लगायत सिमेन्ट उद्योग पनि निर्यातको तयारीमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.