१०० बढी स्टार्टअपको सहभागितामा ‘यार्सा ल्याब्स स्टार्टअप एण्ड आईडिया फेस्ट’ हुँदै

  २०७९ कार्तिक १७ गते १६:०३     विकासन्युज

काठमाडाैं । सातै प्रदेशको कार्यक्रम पश्चात लिभिङ विथ आइसिटीको आयोजनामा काठमाडौंस्थित बानेश्वर बैकुटमा यार्सा ल्याब्स स्टार्टअप एण्ड आइडिया फेस्ट कार्यक्रम हुने भएकाे छ ।

उक्त कार्यक्रममा सातै प्रदेशबाट छनौट भएकासँगै इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ का उत्कृष्ट १२ फाइनलिस्टहरुको सहभागिता हुनेछन् । यसका अतिरिक्त फेस्टमा विभिन्न कलेजका विद्यार्थीले विकास गरेका इन्नोभेसन र रकेट साइन्स क्याम्प पनि आयोजना हुँदैछ ।

२ दिनसम्म चल्ने फेस्टमा १०० बढी स्टार्टअप र इन्नोभेसनहरूले आफ्ना उत्पादन प्रदर्शनीमा राख्ने छन् । स्टार्टअप एण्ड आईडिया फेस्टमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

स्टार्टअप इकोसिस्टम प्रवर्द्धन गर्न सातै प्रदेशमा स्टार्टअप एण्ड आईडिया फेस्ट सफलतापूर्वक सम्पन्न गरेपछि काठमाडौंमा पनि आयोजना गर्न लागेको कार्यक्रमका संयोजक राजन लम्सालले बताए ।

फेस्टमा स्टिम क्याम्प, जब फेयर, एआई एण्ड इमर्जिङ टेक्नोलोजी, गेमिङ प्रतियोगिता, लगानीको अवसर, उद्यमी र लगानीकर्तासँग भेटघाट, रोबोटिक्स, ड्रोन, एआई÷भीआर लगायतका गतिविधि हुने आयोजकले जानकारी दिएको छ ।

स्टिम क्याम्पका लागि द स्क्वाइड अफ चेन्जमेकर र इन्नोभेट घर नेपालले सहकार्य गरेका छन् । २ दिनसम्म सञ्चालन हुने फेस्ट १० हजार बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

सन् २०१६ बाट सुरू भएको आइसिटी अवार्डको सातौं संस्करणमा १२ विधामा अवार्ड वितरण गरिँदै छ । यस वर्ष अवार्डमा ४०० बढीको आवेदन प्राप्त भएको थियो ।१३ जनाको जुरी समिति र १५ जनाको सल्लाहकार समितिले अवार्डको छनोटको काम गरिरहेको छ ।

बुधबार मात्रै आइसिटी अवार्डका स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार विधाका उत्कृष्ट १२ प्रतिस्पर्धीलाई मेन्टरिङ तथा ओरियन्टेसन सेसन सम्पन्न गरिएको थियो । त्यस्तै सातै प्रदेशमा आयोजना भएको स्टार्टअप एण्ड आईडिया फेस्टबाट छनोट भएका ४० बढी उत्कृष्ट स्टार्टअप तथा आईडियाहरूका लागि समेत मंगलबारदेखि बिहीबारसम्म ३ दिने बुटक्याम्प सञ्चालन भइरहेको छ ।

आइसिटी अवार्डको ग्राण्ड फिनाले पुस ८ गते द सोल्टी काठमाडौंमा आयोजना हुनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.