चार वर्षमा पनि बनेन नारायणगढको ३ किलोमिटर सडक

  २०७९ कार्तिक १० गते ८:४२     विकासन्युज

भरतपुर । नारायणगढको सहिदचोकबाट बैकुण्ठचोक, धर्मचोक हुँदै कचपचेचोक पुग्ने सडक निर्माण अलपत्र परेको छ । ठेकेदार कम्पनीले विभिन्न बाहना बनाउँदै निर्माणमा ढिलाइ गरेका कारण सडक निर्माण अलपत्र परेको हो ।

सडक निर्माणका लागि चार वर्षमा तीनपटक म्याद थप गरिएको छ । यो अवधिमा सडक निर्माणको ७५ प्रतिशतमात्र काम भएको छ । सडक निर्माणको बाँकी काम कात्तिक महिनाभित्र सक्ने निर्माण कम्पनी रमण शिवशक्ति जेभीका प्रोजेक्ट म्यानेजर रञ्जन ठाकुरले बताए । उनले भने, ‘नाला र सबबेसको काम सकियो अब कालोपत्र हुन्छ, एक–दुई हप्ताको काम हो, कात्तिक महिनाभर सकिन्छ ।’

जेभीले नेपाल सरकारबाट विसं २०७९ चैत २५ गतेसम्मको म्याद पाएको छ । धेरै समय लागिसकेकाले अब चैत कुर्न नपर्ने ठाकुरको भनाइ छ । उनका अनुसार अब चार सय ८० मिटर सडक बनाउन बाँकी छ । करिब ३.१ किलोमिटर रहेको सडक निर्माणका लागि सम्झौता विसं २०७५ वैशाख २६ गते भएको थियो ।

सघन सहरी तथा भवन निर्माण आयोजना चितवनले रमण शिवशक्ति जेभीसँग यसको सम्झौता गरेको थियो । सम्झौताअनुसार विसं २०७७ असार मसान्तसम्म निर्माण सक्नुपर्ने थियो । दश मिटर चौडाइको यस बाटो निमार्णका लागि सडकको दुवैतर्फ छदेखि सात फिट गहिरो ढल खनिएको छ । सघन सहरी विकास कार्यक्रमअन्तर्गत कालोपत्र सडक तथा ढल निर्माणकार्य प्याकेज नं २ अन्तर्गतको सात योजनामध्ये यो एक योजना हो । जसका लागि ६८ करोड २३ लाख १५ हजार आठ सय २४ मा सम्झौता भएको थियो ।

सहिदचोकबाट बैकुण्ठचोक, धर्मचोक र कचपचेचोकसम्मको बाटोको ठेक्का रकम भने ७१ करोड ३८ लाख ३५ हजार पाँच सय ७४ रहेको सहरी विकास कार्यालयका इञ्जीनियर पुजन न्यौपानेले बताए । कार्यालयले अब २१ करोड भुक्तानी दिन बाँकी रहेको उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.