ग्राउण्ड ह्यान्डलिङ खोसिने कुराले निगमलाई चिन्ता, कार्यकारी अध्यक्ष भन्छन् : ‘हामीले नै पाउनुपर्छ’

  २०७९ कार्तिक ६ गते १४:११     विकासन्युज

काठमाडौं । ग्राउण्ड ह्यान्डलिङको एकाधिकार खोसिने विषयले नेपाल वायुसेवा निगममा चिन्ता छाएको छ । बायुसेवा निगमले ग्राउण्ड ह्याण्डलिङ आफ्नै नियन्त्रणमा कसरी राखिरहने भन्ने विषयमा छलफललाई अगाडि बढाएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले आयोजना कार्तिक ३ गते ना आयोजना गरेको पत्रकार सम्मेलनमा प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले कानून अनुसार हप्तामा ३५ वटा फ्लाइट गर्ने एयरलाइन्सले आँफै ग्राउण्ड ह्यान्डलिङ गर्न पाउने भएकाले कानूनको कार्यान्वयनतर्फ प्राधिकरण लाग्ने बताएका थिए ।

नेपाल एयरलाइन्सको कर्मचारीले कुनै दिनमा हड्ताल गरेमा पुरै एयरलाइन्स क्षेत्रमा ग्राउण्ड ह्यान्डलिङमा समस्या आउने भन्दै अधिकारीले त्यसको विकल्प तयार गर्नुपर्ने बताएका थिए । ‘कानूनले समान व्यवहार गर्नुपर्छ भन्ने हामीलाई थाहा छ, ग्राउण्ड ह्यान्डलिङमा वैकल्पिक व्यवस्था गर्ने विषयमा क्यान सचेत छ’, महानिर्देशक अधिकारीले पत्रकारहरुलाई बताएका थिए ।

विमानस्थलमा ग्राउण्ड ह्यान्डलिङ उडान भर्ने अन्य कम्पनीहरुलाई पनि अनुमति दिने र फिर्ता लिने विषय लामो समयदेखि छलफल हुँदै आएको विषय हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लामो समयदेखि ग्राउण्ड ह्यान्डलिङको सेवा प्रदान गर्दै आएको नेपाल बायुसेवा निगमले सन् २०१६ देखि आफ्नो सेवालाई अन्तर्राष्ट्रियस्तरको सेवामा मापन गर्दै आएको छ ।

वायुसेवा निगमले विगतमा ग्राउण्ड ह्यान्डलिङ सेवाको लोड कन्ट्रोल (एलओडी) प्यासेन्जर ब्यागेज ह्याण्डलिङ (पीएबी), एयरक्राफ्ट ह्यान्डलिङ एन्ड लोडिङ (एचडीएल), अर्गनाइजेसन एन्ड म्यानेजमेट (ओआरएम), एयरक्राफ्ट ग्राउन्ड मुभमेन्ट (एजीएम)मा आइएसएजीओ सर्टिफइड (आएएटीए सेफ्टी अडिट फर ग्राउन्ड अपरेसन) प्राप्त गरेको थियो । तर पछिल्लो समयमा सन् २०२४ सम्मलाई निगमले आइएटीएबाट आइएसएजीओ सर्टिफिकेट प्राप्त गरेको छ ।

लामो समयदेखि सुख, दुःख सबै समयमा ग्राउण्ड ह्यान्डलिङ गर्दै आएको, कमीकमजोरी छन भने त्यसलाई सच्याउँदै जाने, आफूहरुसँग प्रविधि र क्षमतावान कर्मचारी पनि भएकाले निगमले नै ग्राउण्ड ह्यान्डलिङको काम पाउनुपर्ने कार्यकारी अध्यक्ष युवराज अधिकारीले बताएका छन् । ‘हामीले शुरुदेखि गरिरहेका छौं, दुःखमा पनि सुखमा पनि, राष्ट्रिय ध्वजाबाहक भनेको सरकारकै अंग हो, यसका कमीकमजोरी छन् भने सुधार गर्ने हो’, उनले भने, ‘आएटीए’ ‘आइएसएजीओ’ सर्टिफाइड ग्राउन्ड हेन्डल हो, हाम्रो प्रविधि पनि छ र योग्य जनशक्ति पनि भएकाले हामीले नै गर्न पाउनुपर्छ भन्ने हाम्रो आग्रह रहन्छ ।’

निगमका अध्यक्ष अधिकारीले आफ्नो अनुरोधलाई सुनुवाई हुने आशा राखेका छन् । ग्राउण्ड ह्यान्डलिङको बिजनेस पनि एयरलाइन्सको बिजनेसको अंश भएको र सो अरु एयरलाइन्सले पनि गर्दै आएको उदाहरण बताउँदै निगमका अध्यक्ष अधिकारीले अन्य एयरलाइन्सलाई पनि सो बिजनेस दिँदा निगमलाई असर पर्ने बताए । आँफूहरुले अहिले ग्राउन्ड ह्यान्डलिङको विषयमा छलफल गरिरहेको उनको भनाई छ ।

निगमकी प्रवक्ता अर्चना खड्काका अनुसार निगमले वार्षिक रुपमा ग्राउन्ड ह्यान्डलिङको क्षेत्रमा झण्डै ३ अर्ब बराबरको व्यवसाय गर्दै आएको छ । सो व्यसाय भनेको निगमको मुख्य व्यवसाय अन्तर्गत पर्ने उनको भनाइ छ । अन्य कम्पनीलाई पनि ग्राउन्ड ह्यान्डलिङको व्यवसाय दिँदा निगमको भविष्यमाथि नै प्रश्न उठ्ने जानकारहरुकाे भनाइ छ ।

पछिल्लो समयमा विशेषगरी हिमालय एयरलाइन्सले ग्राउण्ड ह्यान्डलिङको लागि पहल गरिरहेको छ । सो एयरलाइन्सलाई दुई वर्ष अगाडि पनि ग्राउन्ड ह्यान्डलिङ दिने विषय अगाडि बढेको थियो । तर, चौतर्फी विरोध भएपछि त्यसको कार्यान्वयन हुन सकेको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.