ग्राउण्ड ह्याण्डलिङमा विकल्प खोज्दै नागरिक उड्डयन प्राधिकरण

  २०७९ कार्तिक ४ गते १६:२८     विकासन्युज

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई.प्रदीप अधिकारीले नेपाल एयरलाइन्सले गर्दै आएको ग्राउण्ड ह्याण्डलिङ सञ्चालनको विकल्प खोज्ने बताएका छन् ।

बुधबार प्राधिकरणले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महानिर्देशक अधिकारीले वायुसेवा निगमले दिँदै आएको ग्राउण्ड ह्याण्डलिङ सेवामा प्रश्न उठ्ने गरेको भन्दै ग्राउण्ड ह्याण्डलिङ सञ्चालनको विकल्प खोज्ने बताएका हुन् ।

उनले वायुसेवा निगममा हुँदै आएको राजनैतिक किचलोका कारण जुनसुकै बेला हवाई उडान सेवामा अवरोध हुनसक्ने भन्दै प्राधिकरणले उपयुक्त समयमा निर्णय गर्ने पनि उल्लेख गरे ।

महानिर्देशक अधिकारीले कुनै पनि वायुसेवा कम्पनीले साताको ३५ वटा उडान गरेबापत ग्राउण्ड ह्याण्डलिङ सेवा दिनसक्ने कानुनी व्यवस्था रहेको उल्लेख गरे । उनले वायुसेवा निगमका कर्मचारीले नै आन्दोलन वा हड्ताल गरे सबै अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुने बताए । उनले अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुने जोखिमलाई मध्यनजर गर्दै विकल्प खोज्न आवश्यक देखिएको उल्लेख गरे ।

अधिकारीले कानुनले दिएको अधिकार सम्मान रूपमा प्रयोग गरी कार्यान्वयन र विकल्प प्रस्तुत गर्न प्राधिकरण सचेत रहेको बताए । उनले प्राधिकरण ग्राउण्ड ह्याण्डलिङको वैकल्पिक व्यवस्था सहितको हवाई उडान गर्ने कुरा चाँडै निर्णय गर्ने बताए ।

उनले यसअघि प्राधिकरणले हिमालय एयरलाइन्सलाई ग्राउण्ड ह्याण्डलिङ सेवा अनुमति दिँदा निजी एयरलाइन्सलाई दिएको भनेर मिडियाको प्रेसरबाट प्राधिकरण निजी वायुसेवा कम्पनीलाई ग्राउण्ड ह्याण्डलिङ सेवा दिने विषयमा पछाडि हटेको बताए । अधिकारीले हप्तामा ३५ वटा हवाई उडान गर्ने कम्पनीले ग्राउण्ड ह्याण्डलिङ सेवा दिन्छु भन्दा कानुनी रूपमा प्राधिकरणले अनुमति दिनुपर्ने उल्लेख गरे ।

उनले हवाई उडान कम्पनीले व्यापार गर्नको लागि उडानमा बढी प्राथमिकता दिनुपर्ने बताए । अधिकारीको भनाइअनुसार प्राधिकरण निजी क्षेत्रको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सलाई ग्राउण्ड ह्याण्डलिङ सञ्चालनको जिम्मा दिने तयारी रहेको देखिन्छ ।

अहिलेसम्म नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गर्दै आएका छन् । निगमले सुरुदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङ सेवा दिइरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.