लुम्बिनीमा पर्यटक ल्याउन अरबियन मुलुकहरुमा जहाज उडाएर हुँदैन : धनन्जय रेग्मी

  २०७९ कार्तिक ३ गते १४:०३     विकासन्युज

काठमाडाैं । नेपाल पयर्टन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) धनन्जय रेग्मीले लुम्बिनीको लागि अरबियन मुलुकहरुमा जहाज उडाएर पर्यटक नआउने बताएका छन् । यात्रु कम भएपछि लुम्बिनी विमानस्थलमा जजिराले उडान कटाैती बारे विकासन्युजले गरेकाे प्रश्नबारे उनले प्रतिकृया दिँदै यस्ताे बताएका हुन् ।

‘बोर्डले पर्यटन प्रवद्र्धन बौद्धमार्गी देशहरुमा गएर गर्ने हो, कतारबाट जजिरा एयरलाइन्स चलाएर बुद्धिष्ट पर्यटक आउँछन’, उनले प्रश्न गरे, ‘के लुम्बिनी मक्कामदिना हो र ?’

लुम्बिनी गौतम बुद्धको जन्मभूमी भएकाेले बौद्धमार्गी पर्यटकहरु आउँछन भनेर एयरपोर्ट बनाइएकाे तर त्यस अनुसार सम्बन्धित निकायले भूमिका नखेलेको सिइओ रेग्मीले बताए । ‘नेपाल पर्यटन बोर्डले आफुले गर्ने प्रचारप्रसारको काम राम्रोसँग गरेको छ, तर एयरलाइन्स बनाउने र सञ्चालन गर्ने निकाय चाहिँ सिरियस छैनन्, ठेक्कापट्टामा रमाएका छन्, कारण यही हो’, उनले भने ।

रेग्मीले आफूहरुले आफ्नो तर्फबाट प्रवद्र्धनको क्षेत्रमा गर्नुपर्ने काम गरेको तर विमानस्थललाई सही ढंगले सञ्चालन गर्ने विषयमा क्यानको भूमिका नै सकारात्मक नरहेको बताए । रेग्मीले भियतनामले उडान गर्नको लागि इच्छुक भए पनि क्यान सकारात्मक नरहेको बताए ।

‘क्यानले आइकाओसँग अनुमति नलिने, आज भियतनाम नेपाल आउन तयार छ, कोरियाले प्लेन चलाउन माग गरिरहेको छ, तर क्यानबाट एउटा चिठी समेत गएको छैन’, उनले भने, ‘क्यानले कुनै इनिसियसन नलिने, एयरपोर्ट बनाउन र ठेक्कापट्टाभन्दा माथि रुची नभएकोले नेपाली एयरपोर्टहरु नचलेका हुन् ।’

अदूरदर्शी ठेक्कापट्टामा रमाउने मान्छेहरुले धमाधम एयरपोर्ट बनाउने तर त्यसको पहिला कुनै अग्रिम योजना नबनाउने गर्दा सो अवस्था आएको रेग्मीले प्राधिकरणलाई आरोप लगाए । गौतमबुद्ध एयरपोर्ट सञ्चालनको लागि नेपाली एयरलाइन्स बौद्धमार्गी मुलुकहरुमा पहिला किन नचलाएको भन्ने प्रश्न सीईओ रेग्मीको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.