कोरोना बीमाको १ अर्ब रकम कसरी वितरण गर्ने ? अन्योलमा बीमा समिति

  २०७९ कार्तिक १ गते १५:१५     विकासन्युज

काठमाडौं । कोरोना बीमाको पैसा वितरण गर्नमा बीमा समिति नै अन्योलमा परेको छ । अर्थमन्त्रालयले निकासा गरेको कोरोना बीमाको दावी भुक्तानी वापतको एक अर्ब रुपैयाँ कसरी वितरण गर्ने भन्नेमा समिति अन्योलमा देखिएको हो ।

समितिका अनुसार अर्थमन्त्रालयले दशै लगत्तै अर्थात असोज २३ गते बीमा समितिको खातामा एक अर्ब रुपैयाँ पठाएको थियो । पैसा पाएको करिब दुई साता बित्न लाग्दा पनि समितिले बीमितलाई के कसरी वितरण गर्ने भनेर टुङ्गो लाउन सकेको छैन ।

‘अर्थमन्त्रालयबाट एक अर्ब पैसा आयो तर अब कसरी बाड्ने ? छलफल गर्दै छौं, टुङ्गो लागेपछि भन्छौं,’ समितिका कार्यकारी निर्देशक राजुरमण पौडलले बताए ।

लामो समयपछि सरकारले आफ्नो दायित्वमध्ये एक अर्ब रुपैयाँ मात्रै निकासा गरेको छ । सरकारबाट पूर्ण रुपमा रकम नआईसकेकोले रकम वितरण गर्नलाई बीमा समिति अन्योलमा परेको हो । यसमा सहजीकरणका लागि समितिले निर्जीवन बीमा कम्पनीका सीईओहरुको छाता संस्था बीमक संघसँग राय सुझाव माग गरेको छ ।

‘कोरोना बीमाको भुक्तानी कम्पनीहरुले गर्ने हो, यसअघि के कसरी वितरण गरिएको थियो, पहिलाको सिष्टम के थियो, फष्ट कम फष्ट सर्भिस मार्फत जाने हो की कसरी जाने हो ? यस विषयमा गहन छलफल गरी निश्कर्ष निकाल्न बीमक संघलाई भनेका छौं, अब के निर्णय आउँछ, त्यसपछि मात्रै ठोेस निर्णय होला,’ कार्यकारी निर्देशक पौडेलले भने ।

बीमक संघले पनि हालसम्म यो विषयमा कुनै छलफल गरेको छैन । समितिले आफूहरुलाई मोडालिटी तयार पारेर पेश गर्न आग्रह गरेको तर हालसम्म छलफल नभएको जानकारी गराउँदै संघका चंकी क्षेत्रीले छिट्टै मिटिङ बसेर निश्कर्ष निकाल्ने बताए ।

‘भुक्तानी हुन १० अर्ब बढी बाँकी छ, एक अर्ब आयो, कसरी बाड्ने ? कसलाई बाड्ने ? हात्तीको मुखमा जिरा भनेजस्तै भएको छ,’ सगरमाथा इन्स्योरेन्सका सीईओ समेत रहेका क्षेत्रीले विकासन्युजसँग भने, ‘तर आएको पैसा सकेसम्म छिटो बाड्नुपर्छ ।’

सरकारले आफ्नो दायित्व वापतको सबै पैसा निकासा नगरेकोले रकम वितरण पछि विवाद निम्तिन सक्ने अनुमान धेरैको छ । तर, विवाद ननिस्किने तवरबाट आफूहरु अघि बढ्ने समितिको भनाइ छ । ‘आएको पैसा सकेसम्म छिटो वितरण गर्नेछौं, भलै ढिलै भएपनि विवाद नआउने ढंगबाट समिति अघि बढ्ने छ,’ कार्यकारी निर्देशक पौडेलले भने ।

साथै, अब सरकारले बाँकी पैसा कहिले देला ? भन्ने विकासन्युजको प्रश्नमा पौडेल भन्छन्– ‘यही पैसा त बल्ल बल्ल आएको छ, ढिलै भएनी सरकारले दिन शुरु गरेको छ, अहिले यसमै खुशी हौं ।’

कोरोना बीमा मार्गदर्शन २०७७ अनुसार १७ लाख ५८ हजार ३४३ जनाले कोरोना बीमा गरेका थिए । जसमध्ये १ लाख ६५ हजार ५९ बीमितले १५ अर्ब ८२ करोड २१ लाख ७१ हजार ५५४ रूपैयाँ बराबरको दावी दिएका थिए । त्यसमध्ये ५१ हजार ६६९ जना बीमितले कूल ४ अर्ब ९८ करोड रुपैयाँ बराबरको दावी भुक्तानी भइसकेको छ । र, बाँकी रहेको एक लाख १३ हजार ३९० जना बीमितलाई १० अर्ब ८४ करोड रुपैयाँभन्दा बढी दावी भुक्तानी गर्न बाँकी रहेको समितिले जनाएको छ ।

कोरोना बीमा मापदण्ड अनुसार बीमा कम्पनीहरुले एक अर्ब रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीले एक अर्ब रुपैयाँ, बीमा कम्पनीहरुको महाविपत्ति कोषबाट ५० करोड रुपैयाँ र बीमा समितिको तर्फबाट एक अर्ब रुपैयाँ भुक्तानी गर्ने व्यवस्था छ । त्यसभन्दा बढी दाबी परेमा सम्पूर्ण रकम सरकारले भुक्तानी गर्ने मापदण्डमा उल्लेख छ ।

यद्यपि, कम्पनीहरुले कोरोना मापदण्डअनुसार कम्पनीहरुले भुक्तानी गर्नु पर्ने सबै रकम भुक्तानी गरिसकेका छन् । तर, यता सरकारबाट रकम निकासा नभएकाले कोरोना बीमाको भुक्तानी पूर्ण रुपमा रोकिरहेको छ । सरकारले रकम निकासा गरेपछि मात्रै बीमितलाई दावी भुक्तानी गर्नेमा कम्पनीहरु छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.