बेमौसमी वर्षाले धानबालीमा ठूलाे क्षति, मूल्यांकनमा समेत अगाडि बढेन सरकार

  २०७९ असोज ३१ गते १७:०३     विकासन्युज

काठमाडौं । असोज अन्तिम समयमा आएको वर्षाले देशभरीकै अवस्थालाई प्रभावित बनाएको छ भने प्रमुख बाली धानमा ठूलो क्षति पुर्याएको छ । तर, कृषि क्षेत्रको विषयमा नीति निर्माण गर्ने तथा विभिन्न कार्यक्रम सञ्चालन गर्ने कृषि विभागले धानबाली क्षतिको विषयमा कुनै चासो समेत दिएको छैन् ।

कैलालीको टीकापुर, भजनी नगरपालिका, जानकी र जोशीपुर गाउँपालिकामा बाढीले धानबाली, तरकारी खेती र पशुपालक किसानलाई क्षति पुर्याएको छ । टीकापुरमा २० प्रतिशत धानबालीमा नोक्सान पुर्याएको छ । टिकापुर नगरपालिकामा २० प्रतिशत धानबालिमा क्षति भएको त्यहाँको पालिका अन्तर्गत कृषि शाखाले अनुमान गरेको छ ।

वर्षाले भजनीमा कृषिजन्य उत्पादनमा ९० प्रतिशत क्षति भएको छ भने ७० प्रतिशत धानबालीमा क्षति भएको पालिकाले जनाएको छ । ‘समग्रमा ९० प्रतिशतमाथि क्षति भएको छ । धानबालीका कुरा गर्दा कोही–कोही किसानको उच्च जमिनमा रहेको बाली बचेको देखिन्छ’, कृषि शाखा प्रमुख हरिलाल रेग्मी भन्छन् । भजनीमा माछापालन, कुखुरापालन र बंगुरपालनमा समेत ठूलो क्षती भएको जनाइएको छ । जानकी र जोशीपुर गाउँपालिकामा पनि बाढीले धानबालीमा क्षति भएको छ ।

वर्षाले बर्दियामा चार सय ९४ बिघाको धानबालीमा क्षति पुर्याएको छ । राजापुर, गुलरिया, मधुवन, बारबर्दिया क्षेत्रमा काटेर खेतमै सुकाइएको धान नदीले बगाएको छ । एकीकृत कृषि तथा पशुपक्षी कार्यालयका सूचना अधिकारी सन्तोष पाठकले बताउनुभयो । उनका अनुसार गुलरिया, मधुवन र बारबर्दियामा प्रारम्भिक लगतअनुसार चार सय ९४ बिघा धान बालीमा क्षति पुगेको छ । तीन सय नौ बिघामा लगाइएको धानबाली पूर्ण क्षति भएको छ  ।

बाँकेका अधिकांश स्थानीय तहमा पनि असोजको अन्तिम समयमा आएको वर्षाले धानबाली लगायतका बालिमा ठूलो क्षती पुर्याएको छ । जिल्लाका अधिकांश पालिकाले क्षतिको विवरण संकलन गर्ने र राहत प्रदान गर्ने काम पनि अगाडि बढाएका छन् ।

राप्ती सोनारी गाउँपालिकामा, नरैनापुर गाउँपालिकाका बैजानाथ गाउँपालिकामा पनि राहत वितरण र क्षतिको विवरण सङ्कलन शुरु भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले पनि आकस्मिक रुपमा राहत वितरण गरेको छ । त्यस्तै, जानकी गाउँपालिकाले पनि वर्षाले भएको क्षतिको विवरण सङ्कलन सुरु गरेको छ ।

असोज अन्तिम समयमा लगातार छ दिनसम्म परेको अविरल वर्षाले मुगु जिल्लाको खत्याड गाउँपालिकामा अन्न बाली भित्र्याउने बेला वर्षाले धान, मकै, सिमी, मासलगायतका बाली बोटमै ढल्नुका साथै कोदो, फाफर बोटमै कुहियो । खेतीयोग्य जमिन खोलाले बगाएर बगरमा परिणत भयो ।
कृषि ज्ञानकेन्द्र रुपन्देहीका अनुसार जिल्लाको दक्षिणी मर्चवार, लुम्बिनी, मायादेवी, गैडहवा र धकधई क्षेत्रको धान बालीमा बढी क्षति भएको छ । त्यसक्षेत्रमा खेतहरू डुबानमा परेका छन् भने पाकेको धानबाली खेतमै ढलेर कुहिने र डुबेका बालामा टुसा पलाउने अवस्था आएको अवस्था छ ।

पछिल्लो समयमा वर्षाले जुम्लामा पाक्नै लागेको मार्सीधानबालीका फाँटमा क्षति पुगेको छ । किसानको धानबाली, सिमी लगायतका बालीमा पुर्याएको क्षतिको विवरण सङ्कलन गर्न स्थानीय तहका कृषि शाखासँगको सहकार्यमा कृषि विकास कार्यालयले काम गरिरहेको जनाइएको छ ।
तिला गाउँपालिका र सिञ्जा गाउँपालिकामा लगाइएका अधिकांश कृषिबालीमा क्षति पुगेको जनाइएको छ, जसले गर्दा सो क्षेत्रका किसानमा यो वर्ष खाद्यान्न बालिमा संकट हुने चिन्ता छाएको छ ।

केही दिनयता निरन्तर परेको वर्षाले बाँकेमा धान बालीमा ठूलो क्षति भएको छ । कृषि ज्ञानकेन्द्र, बाँकेले प्रारम्भिक जानकारीअनुसार जिल्लाको कूल खेतीयोग्य जमिनमध्ये सात हजार चार सय ६० हेक्टर क्षेत्रफलमा लगाइएको धान बालीमा नोक्सानी भएको छ । अहिलेसम्म नेपालगञ्ज उपमहानगरपालिकामा तीन सय ६५ हेक्टर, नरैनापुर गाउँपालिकामा तीन सय ८० हेक्टर, राप्तीसोनारी गाउँपालिकामा एक हजार छ सय ५० हेक्टर, डुडुवा गाउँपालिकामा एक हजार चार सय ६० हेक्टर र खजुरा गाउँपालिकामा एक हजार ९५ हेक्टर क्षेत्रफलमा लगाइएको धान बालीमा क्षति जनाइएको छ ।

त्यस्तै वैजानाथ गाउँपालिकामा आठ सय ३० हेक्टर, कोहलपुर नगरपालिकामा सात सय ३० हेक्टर र जानकी गाउँपालिकामा नौ सय ५० हेक्टर क्षेत्रफलमा लगाइएको धानी बाली निरन्तर परेको वर्षाले डुबायो ।

अघिल्लो हप्ता परेको अविरल वर्षाका कारण सिन्धुपाल्चोकका किसानको धानबालीमा क्षति पुगेको छ । हेलम्बु गाउँपालिका, मेलम्ची नगरपालिका र इन्द्रावती गाउँपालिकाको कतिपय ठाउँमा धान काट्ने बेला भइसकेको छ । वर्षाले खेतमा लगाएको धानसँगै बारीमा लगाएको कोदो बालीमासमेत क्षति पुर्याएको छ । जिल्लाका अधिकांश किसानले लगाएको धान तथा कोदो बालीमा वर्षाले क्षति पुर्याएपछि किसानलाई चिन्ता थपिएको छ ।

देशैभरी किसानले लगाएको प्रमुख अन्नबाली धान लगायतका कृषि बालीमा बेमौसमी वर्षाले ठूलो क्षति गराउँदा पनि संघीय सरकार मुखदर्शक भएर बसेको छ । कृषि विभागकी प्रवक्ता जानुका पण्डितले आफूहरु विश्व खाद्य दिवशमा केन्द्रीत भएकाले कृषि बालिमा भएको क्षतिको विवरण संकलन गर्नतर्फ नलागेको बताइन् ।

गत आर्थिक वर्षमा विभागले देशैभरी कृषि क्षेत्रमा भएको क्षतिको विवरण संकलन गरेको थियो भने मन्त्रालयले आवश्यक कार्यविधि बनाएर स्थानीय तहमार्फत किसानलाई राहतको व्यवस्था गरेको थियो । तर, अहिले विभागले बेमौसमी वर्षाको क्रममा किसानको अन्नबालीमा भएको क्षतीको विवरण नै संकलन गर्न ध्यान दिएको छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.