नयाँ बीमा ऐन : कम्पनीको लाभांश रोक्नेदेखि आईपीओ जारी गर्न नदिनेसम्म

  २०७९ असोज २८ गते १२:४९     विकासन्युज

काठमाडौं । बीमा कम्पनीहरुले विभिन्न चार अवस्थामा लाभांश वितरण गर्न नपाउने भएका छन् । हालै राष्ट्रपति विद्यादेवी भण्डारीबाट स्वीकृत भएको बीमा ऐन २०७९ अनुसार सञ्चालनमा रहेको बीमा कम्पनीहरुले विभिन्न चार अवस्थामा लाभांश घोषणा तथा वितरण गर्न नपाउने भएका हुन् ।

जसमा नाफामा रहेका बीमा कम्पनीले मात्रै लाभांश वितरण गर्न पाउने छन् । नयाँ ऐन अनुसार कम्पनीहरुले आफ्नो सम्पूर्ण प्रारम्भिक खर्च, अघिल्लो आर्थिक वर्षसम्मको नोक्सानी यस ऐन तथा प्राधिकरणले निर्धारण गरे बमोजिम जोखिम व्यहोर्न कायम गर्नुपर्ने कोष वा जगेडा कोषको व्यवस्था नगरेसम्म सेयरधनीलाई लाभांश खुवाउन पाउने छैनन् ।

त्यस्तै, कम्पनीहरुले बीमा प्राधिकरणले तोकेको न्यूनतम चुक्ता पुँजी पुरा नगरेसम्म लाभांश वितरण गर्न पाउने छैनन् । कम्पनीको चुक्ता पुँजी भने प्राधिकरणले समय समयमा निर्धारण गर्न सक्ने ऐनमा उल्लेख छ ।

लाभांश वितरण गर्नको लागि कम्पनीहरुको सम्पत्ति र दायित्वको अनुपात कायम हुनु पर्ने छ । जसमा कूल सम्पत्ति कूल दायित्वभन्दा बढी हुने पर्ने छ । जसको लागि कुनै पनि कम्पनीको कुल सम्पत्ति र कुल दायित्वको अनुपात (सोल्भेन्सी मार्जिन) प्राधिकरणले निर्धारण गरे बमोजिम हुने छ ।

अर्को, प्राधिकरणले सर्वसाधारणलाई छुट्याइएको सेयर वितरण गरी पूर्ण रुपमा चुक्ता पुँजी भुक्तानी नभएसम्म पनि उक्त कम्पनीले सेयरधनीलाई लाभांश वितरण गर्न पाउने छैन ।

साथै, कम्पनीहरुले लाभांश घोषणा गर्नु अघि बीमा प्राधिकरणको स्वीकृति लिनु पर्ने छ ।

नयाँ ऐन अनुसार पनि कम्पनीले कूल जारी पुँजीको कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्नको लागि छुट्याउनु पर्ने छ । तर विदेशी बीमा कम्पनीको शाखा कार्यालयको रुपमा दर्ता भएको कम्पनीले भने सेयर निष्काशन गर्न पाउने छैन ।

सर्वसाधारणलाई छुट्याइएको सेयरको पाँच प्रतिशतसम्म सेयर बीमकले आफ्ना कर्मचारीको लागि छुट्याउनु पर्ने छ । त्यस्तै, प्राधिकरणको स्वीकृतिमा संस्थापक सेयर समूहको स्वामित्व ५१ प्रतिशतभन्दा कम नहुने गरी बाँकी अंश सर्वसाधारण सेयर समूहमा परिणत गर्न सक्ने छ ।

कम्पनीहरुले बीमा व्यवसाय सञ्चालन गरेको एक वर्ष पुरा गरेपछि मात्र सर्वसाधारण सेयर निष्काशन गर्न पाउने छन् । र, उनीहरुले सेयर बिक्री गर्दा सेयरको अंकित मूल्यको शतप्रतिशत रकम माग गर्न सक्ने व्यवस्था रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.