उम्मेदवारको फोटो राखेर बधाई दिने शिक्षक तथा सरकारी कर्मचारीलाई कारवाही गरिने

  २०७९ असोज २६ गते १०:११     विकासन्युज

काठमाडाैं । निर्वाचन आयाेगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका उम्मेदवारकाे प्रचारप्रसारमा संलग्न सरकारी कर्मचारी तथा शिक्षकहरुलाई कारवाही गर्ने भएकाे छ ।

आयाेगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले एक सूचना जारी गर्दै सरकारी कर्मचारी तथा शिक्षकहरु प्रचारप्रसारमा संलग्न भएकाे पाइएकाले आवश्यक कारबाही प्रारम्भ गरेको बताए ।

‘चुनावी प्रचारप्रसारमा सम्लग्न कर्मचारी तथा शिक्षकहरुले उम्मेदवारसँग तस्वीर खिचाइ बधाई र शुभकामना दिने, राजनीतिक दल र उम्मेदवाहरुका प्रचार सामग्रीहरुको शेयर र लाइक गर्ने गरेका घटनाहरु अनुगमनका क्रममा पाइएकाले आयोगले आवश्यक कारबाही प्रारम्भ गरेको छ,’ विज्ञप्तिमा भनिएकाे छ ।

निर्वाचन आचारसंहिता, २०७९ मा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारी, विद्यालय, महाविद्यालय वा विश्वविद्यालय तथा सोमा सम्वद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षक, सरकारी वा गैह्रसरकारी निकायबाट सञ्चालित परियोजना, विकास समिति तथा सोका कर्मचारीले पालना गर्नुपर्ने आचारणहरुबारे स्पष्ट व्यवस्था गरिएको छ ।

आचारसंहितामा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा सम्लग्न हुन वा प्रचारप्रसार गर्न नहुने र सामाजिक सञ्जालमा राजनीतिक दल वा उम्मेदवारको पक्ष विपक्षमा कुनै सन्देश, सूचना, प्रचारप्रसार सामग्री पोष्ट वा शेयर गर्न वा सामाजिक सञ्जाल मार्फत मत माग्न नहुने व्यवस्था गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.