गगन थापाले चुनाव जितेर देशको प्रधानमन्त्री बन्न कति सम्भव ?

  २०७९ असोज २६ गते ११:३२     नारायण अर्याल

काठमाडौं । नेपाली कांग्रेशका महामन्त्री गगन थापाले पटक–पटक विभिन्न मञ्चमार्फत् आँफूलाई आगामी प्रधानमन्त्रीको दाबेदारका रुपमा प्रस्तुत गर्ने गरेका छन् । थापाले आगमी मंशिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौं ४ बाट उम्मेद्वारी दर्ता गरिसकेपछि आगामी सरकारको नेतृत्व गरेर मुलुक हाँक्ने प्रतिक्रिया दिएका थिए ।

‘ड्राइभिङ सिटमा अब आफैँ बस्ने हो । अब आउने पाँच वर्ष आफैँ ड्राइभिङ सिटमा बसेर मूल दायित्व लिने प्रयत्न गर्ने हो । फल कस्तो आउँछ, समयले बताउला,’ थापाले बताएका थिए । थापाले निरन्तर बिजय हासिल गर्दै आएको काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित भएर आगामी प्रधानमन्त्री हुने बाटो तय गर्न कति सहज होला ? २०७४ मंसिरमा भएको प्रतिनिधिसभाको निर्वाचनमा महामन्त्री गगन थापाले २१ हजार ५ सय ५८ मत प्राप्त गरेर निकटतम प्रतिस्पर्धी एमालेका उम्मेद्वार राजन भट्टराईलाई ३ हजार ४ सय ११ मतले हराउँदै बिजयी भएका थिए ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर चारमा काठमाडौं महानगरका वडा नं. १, ७, ८, ३० र बूढानीलकण्ठ नगरपालिकाका १, २, ८, ९, १०, ११, १२, १३ वडा यस क्षेत्रमा पर्छन् । ०७४ र ०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा सो क्षेत्रमा पर्ने वडाहरुमा भएको मत परिवर्तनलाई हेर्दा काठमाडौंका वडाहरुमा कांग्रेश विस्तार हुँदै गएको देखिन्छ । तर, बुढानिलकण्ठ नगरपालिकामा भने ०७४ देखि अहिलेसम्म एमालेले आफ्नो बिरासत कायम राख्न सकेको देखिन्छ ।

०७४ सालको निर्वाचनमा काठमाडौंको निर्वाचन क्षेत्र नम्बर ४ पर्ने काठमाडौं महानगरको वडा नम्बर १, ७ र ८ मा एमालेले निर्वाचन जितेको थियो भने वडा नम्बर ३० मा नेपाली कांग्रेशले जितेको थियो । गत बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा आइपुग्दा निर्वाचन क्षेत्र नम्बर ४ मा पर्ने काठमाडौंका वडाहरुमध्ये वडा नम्बर १ मा मात्रै एमालेले जित हासिल गर्यो भने नेपाली कांग्रेशले मत समेत बढाउँदै ७, ८ र ३० मा बिजय हासिल गर्न सफल भयो ।

त्यस्तै सोही निर्वाचन क्षेत्रमा पर्ने बुढानिलकण्ठका नगरपालिकाका वडाहरुमा ०७४ मा भएको स्थानीय तहको निर्वाचनबाट प्राप्त परिमाणलाई भने एमालेले गत बैशाखमा भएको निर्वाचनमा आफ्नो बिरासत भत्काउन दिएन ।

गगनको प्रधानमन्त्री कार्डले थप भोट ल्याउला ?

काठमाडौं महानगरपालिका वडा नम्बर ७ का अध्यक्ष बिमलकुमार होडाले गगन थापा आफ्नै पार्टीभित्र सभापतिलाई प्रतिस्पर्धाको चुनौती दिने र अरु नेतृत्वले समेत स्वीकार गरिसकेको व्यक्ति भएकाले जनताले सो अनुसार बुझेर बिजय गराउने बताउँछन् । ‘गगनजीको उम्मेद्वारी प्रधानमन्त्रीकै लागि हो, हुनत हाम्रो पार्टी सभापति उम्मेद्वारको रुपमा देखिनुहुन्छ अहिले, तर म के भन्छु भने उहाँको विरुद्धमा उठ्ने उम्मेद्वार गगन थापा हो’, होडाले भने, ‘यति धेरै जनताले शेर बहादुर देउबालाई मन पराएको छैन हुँदैन भन्ने आवाज आइरहेको छ भने गगन थापाको उम्मेद्वारीलाई स्वीकार गरेर शेरबहादुर देउबालाई हराउने पक्षमा जनता होलान की भन्ने मेरो अनुमान छ ।’

निर्वाचन क्षेत्र नम्बर ४ मा पर्ने बुढानिलकण्ठ नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष राजेन्द्र श्रेष्ठले भने गगन थापाले प्रधानमन्त्रीको कार्ड फालेको भएपनि यसपटक सो क्षेत्रका जनताले जनप्रतिनिधि परिवर्तन गर्न चाहेको बताएका छन् । उनले बिगतका कार्यकालमा गगन थापाले सो क्षेत्रमा उल्लेखनीय काम नगरेको र एमसीसी र नागरिकता लगायतका विषयमा खेलेको भूमिकाको कारण जनताले उनलाई अस्वीकृत गर्ने बताए ।

‘प्रधानमन्त्री बन्नलाई पहिला उनी निर्वाचित हुनुपर्छ, दोस्रो पार्टीको बिधानअनुसार पार्टीले उनलाई संसदीय दलको नेता बनाउनुपर्यो’, वडाअध्यक्ष श्रेष्ठले भने, ‘यी दुईटा नै पार नगरीकन मनको लड्डु घिउसित खा भनेजस्तो म आगामी प्रधानमन्त्री हुँ भन्ने कुरा उनको स्वइच्छाको कुरा हो ।’

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा स्थानीय तहमा खसेको मत परिणामलाई हेर्दा र सोही समयमा भएको संघीय तहको निर्वाचनको मत परिणामलाई हेर्दा मतदाताहरुले संघीय र स्थानीय तहमा दलगत मत बद्लेको देखिन्छ । गत बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा भन्दा ०७४ मा भएको स्थानीय तहको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ मा एमालेको दबदबा बढी थियो । तर, सो समयमा एमालेका उम्मेद्वार राजन भट्टराइलाई हराउँदै गगन थापाले बिजय हासिल गर्न सफल भएका थिए ।

त्यति मात्रै नभएर ०७४ सालको संघीय तहको निर्वाचनमा एमाले–माओवादी गठबन्धनका कारण बामगठबन्धनको पक्षमा राष्ट्रिय माहोल सिर्जना भएको थियो । तरपनि सो अवस्थामा नेपाली कांग्रेशका उम्मेद्वार थापाले बिजय हासिल गरेका थिए । काठमाडौं निर्वाचन क्षेत्रमा संघीय र स्थानीय तहमा देखिएको विगतकै मतदानको प्रवृत्ति कायम रहेमा र गठबन्धनको तर्फबाट हुनसक्ने योगदानले केही थप सहयोग गरेमा मात्रै यसपटकको प्रतिस्पर्धामा गगनलाई सफलता हासिल गर्न सहज हुने अनुमान गर्न सकिन्छ । अन्यथा स्थानीय तहको मतको संघीय चुनावमा प्रभाव पर्ने र गगनको व्यक्तिगत लोकप्रियताको ग्राफ घटेको अवस्था हुन पुगेको छ भने उनलाई निर्वाचन चुनौतिपूर्ण हुने देखिन्छ ।

प्रधानमन्त्री बन्ने सम्भावना कति ? 

आफ्नो निर्वाचन क्षेत्रबाट निर्वाचन जित्न सफल भएमा पनि गगन थापालाई मुलुकको प्रधानमन्त्री बन्न भने सजिलो देखिँदैन । मुलुकको प्रधानमन्त्री बन्नको लागि थापाले नेपाली काँग्रेसको बिधानअनुरुप संसदीय दलको नेतामा विजय हासिल गर्न सक्नुपर्छ । आगामी मंसिर ४ गते हुने निर्वाचनमा नेपाली काँग्रेसमा गुटअनुसारको टिकट बाँडिएको छ ।

जसमा काँग्रेसको भागमा परेको सिटमा देउबा पक्षले ५१ जनालाई टिकट दिएको छ । यो संख्या काँग्रेसले पाएको कूल सिट संख्या ९१ को ५६ प्रतिशत हो । यसैगरी काँग्रेसमा अर्को समूहको नेतृत्व गरेका शेखर समूहले २२ सिटका लागि टिकट पाएको छ । त्यस्तै, नेता कृष्णप्रसाद सिटौला समूहले ६, प्रकाशमान सिंह समूहले ५, रामचन्द्र पौडेल समूहले ४ र शशांक कोइराला समूहले ३ सिट पाएको छ ।

पछिल्लो समयमा गगन थापा शेखर कोइरालाको समूहमा रहँदै आएका छन् । आगामी निर्वाचनका लागि शेखर समूहले नेपाली काँग्रेसले प्रतिनिधिसभा उम्मेदवारका लागि बाँडेको सिटको २४ प्रतिशत मात्रै प्राप्त गरेको छ । समानुपातिक तर्फको बन्द सूचीमा पनि देउबा पक्षको नै हाबी रहेको छ । त्यसैले आगामी निर्वाचनमार्फत् आउने परिणाममा अहिलेको सिट बाँडफाँडको अवस्थालाई हेर्दा देउबा पक्षले नै बहुमत ल्याउने देखिन्छ । देउबा बाहेक शेखर कोइराला लगायत अन्य सबै समूहको जोड्दा पनि बहुमत पुग्न नसक्दा गगन थापालाई पार्टीको बिधानअनुरुप संसदीय दलको नेता बन्न नै कठिन हुने स्वभाविक अनुमान गर्न सकिन्छ ।

त्यस्तै, प्रधानमन्त्री बन्नका लागि नेपाली काँग्रेसले बहुमत ल्याउनुपर्ने वा नेपाली सत्ता समिकरण नेपाली काँग्रेसको पक्षमा बन्नुपर्ने भएकाले निर्वाचनपछिको राजनीतिक शक्ति सन्तुलनले समेत त्यसमा प्रभाव पार्ने हुँदा गगन थापाले आफूलाई आगामी प्रधानमन्त्री बनाउने भन्ने कुरा निकै चुनौतिपूर्ण रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.