बीमा उद्योगलाई नयाँ युगमा प्रवेश गर्न ढोकाहरु खुले : डा. घिमिरे

  २०७९ असोज २४ गते ९:३८     विकासन्युज

काठमाडौं । बीमा विज्ञ डा. रबिन्द्र घिमिरेले बीमा उद्योगलाई नयाँ युगमा प्रवेश गर्न बाटो खुलेको बताएका छन् । बीमा ऐन, २०४९ लाई प्रतिस्थापन गर्ने गरी ल्याइएको बीमा ऐन, २०७९ प्रमाणिकरण भएसँगै यो उद्योगलाई नयाँ युगमा प्रवेश गर्नका लागि सम्भावनाका ढोकाहरु खुलेका उनले बताए ।

‘नेपालको बीमा उद्योगलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनका लागि धेरै कामहरु गर्नु अपरिहार्य भइरहेको अवस्थामा मौजूदा ऐन बाधक रहेको थियो, नयाँ ऐन प्रगतिशील छ, यसले बीमा उद्योग नयाँ युगमा प्रवेश गर्नका लागि सम्भावनाको ढोकाहरु खोलिदिएको छ,’ नेपाल पुनर्बीमा कम्पनीको अध्यक्ष समेत रहेकका डा. घिमिरेले सामाजिक सञ्जालमार्फत भने ।

साथै, उनले बीमा ऐनको डिजाइनर तात्कालिन अध्यक्ष प्रा.डा.फत्त बहादुर के.सी. तथा यसलाई यथासमयमा संसदबाट पास गराउन सक्रिय भूमिका खेल्नु हुने वर्तमान अध्यक्ष सूर्यप्रसाद सिलवाल लगायत विशेष धन्यवादका पात्र रहेको बताए । र, सभामुख अग्निप्रसाद सापकोटा र अर्थमन्त्री जनार्दन शर्माको पनि यसमा भूमिका महत्वपूर्ण रहेको उनको भनाई छ ।

नयाँ ऐन कार्यान्वयन भएसँगै यसले बीमा समिति बीमा प्राधिकरणमा परिवर्तन हुनुको साथै प्राधिकरणको क्षेत्राधिकार फराकिलो हुने छ । यसले बीमा प्राधिकरणलाई थप जिम्मेवार बनाएको छ ।

एक पूर्ण रुपको बीमा बजारमा अनिवार्य रुपमा हुनुपर्ने कतिपय अवयवहरुको अभाव पूर्ति यस ऐनद्धारा हुने डा. घिमिरे बताउँछन् ।

साथै, प्राधिकरणले बीमा सम्बन्धी दक्ष जनशक्ति उत्पादनका लागि अन्तर्राष्ट्रिय स्तरको बीमा कलेजको स्थापना गर्नका लागि अधिकार प्राप्त गरेको छ । बीमा सूचना केन्द्रको स्थापना, बीमामा हुने ठगी र जालसाजीको न्यूनिकरणका लागि संस्थागत संरचना बनाउन सक्नेछ । बीमित हितकोष स्थापना गर्न सक्नेछ । तेश्रो पक्ष सहजीकरणको लाइसेन्स दिन सक्नेछ र ब्रोकिङ्ग पेशालाई व्यवस्थित बनाउन मार्ग प्रशस्त गरेको उनको भनाई छ ।

यससँगै बीमा क्षेत्रमा कार्यरत विभिन्न पेशेवार प्रोफेसनलहरुको वृत्ति विकास हुनेछ । समग्रमा आम जनताले सर्वसुलभ ढंगबाट बीमा सेवा प्राप्त गर्ने, बीमाको पहुँच वृद्धि गर्ने, बीमाको पेनिट्रेशन र डेन्सिटी बढाउने संरचनाको विकास हुने डा. घिमिरेले बताए ।

साथै, उनले यो अवसरमा नियामक निकाय, बीमा सेवा प्रदायक कम्पनी तथा संस्थाहरु, अभिकर्ता, सर्भेयर, ब्रोकर, पत्रकार, अनुसन्धाकर्ता, प्राध्यापक, विश्लेषक, बीमित र बीमित हितमा काम गर्ने अभियन्ताहरु, बीमा क्षेत्रको हित चाहने सबै शुभेक्षुक सबैलाई बधाई तथा शुभकामना समेत व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.