आर्थिक क्षेत्रका अगुवाहरु प्रतिनिधिसभा सदस्य बन्ने दौडमा

  २०७९ असोज २३ गते १५:३२     विकासन्युज

काठमाडौं । आगामी मंशिर ४ गते हुने संघीय र प्रदेश तहको लागि हुने निर्वाचनमा आर्थिक क्षेत्रका अगुवा तथा उद्योगी व्यवसायीहरुले उम्मेद्वारी दिने भएका छन् । उद्योगी व्यवसायीहरुले उम्मेद्वारीको लागि मुख्यतः ठूला राजनीतिक दललाई रोजेका छन् ।

अर्बपति बिनोद चौधरी नेपाली कांग्रेशको तर्फबाट नवरपरासी पश्चिम १ बाट प्रतिनिधिसभाको सदस्यका लागि उम्मेद्वार हुने भएका छन् । चौधरीलाई नेपाली कांग्रेशले नवलपरासी पश्चिम १ बाट उम्मेदवार बनाउने निर्णय गरेकाले उनी सो क्षेत्रबाट प्रतिनिधिसभाको उम्मेद्वार बन्ने भएका हुन् । चौधरी पछिल्लोपटक नेपाली कांग्रेशको तर्फबाट प्रतिनिधिसभामा समानुपातिक सदस्य रहेका थिए भने २०६४ मा नेकपा (एमाले)को तर्फबाट संविधानसभाको समानुपातिक सदस्य बनेका थिए । चौधरी पहिलोपटक प्रत्यक्ष प्रकृयाबाट निर्वाचन उठ्न लागेका हुन् ।

शिक्षा तथा स्वास्थ्य क्षेत्रमा ठूलो लगानी गरेका व्यवसायी उमेश श्रेष्ठ नेपाली कांग्रेशको तर्फबाट उम्मेद्वार बन्ने भएका छन् । अहिले प्रधानमन्त्री कार्यालयमा राज्यमन्त्रीको रुपमा रहेका व्यवसायी श्रेष्ठ नेपाली कांग्रेशको तर्फबाट चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको लागि उम्मेद्वार बन्ने भएका हुन् । श्रेष्ठको प्रतिस्पर्धा नेकपा (एमाले)का कृष्णभक्त पोख्रेल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग हुनेछ ।

प्रभु ग्रुपका पूर्व अध्यक्ष देवीप्रसाद भट्टचन प्रतिनिधिसभा सदस्य बन्नको लागि नेकपा (एमाले)को तर्फबाट समानुपातिक सूचीमा परेका छन् । एमाले पार्टीले उनलाई प्रतिनिधि सभा तर्फको समानुपातिक उम्मेदवारमा आदिवासी जनजाती समूहबाट सिफारिस गरेको हो । यसअघि उनी नेपाली कांग्रेसको संगठन विभाग उपप्रमुख पदमा थिए । उनी ललितपुर जिल्लाबाट सिफारिस भएका हुन् ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेल नेपाली कांग्रेशको तर्फबाट चितवन निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवार बन्ने भएका छन् । डा. पौडेलसँग अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को आर्थिक सल्लाहकारको रुपमा काम गरेको अनुभव छ । पौडेल काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका ‘एसोसिएट प्रोफेसर’ थिए । उनीसँग यसअघि एक निजी बैंकमा निर्देशकका रुपमा काम गरेको अनुभव छ ।

मेडिकल कलेजका सञ्चालक तथा व्यवसायी डा. सुनिल शर्मा नेपाली कांग्रेशको तर्फबाट मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यको लागि उम्मेद्वार बन्ने भएका छन् । बिराटनगरको नोबेल मेडिकल कलेज र काठमाडौंको काठमाडौं मेडिकल कलेजको सञ्चालक समेत रहेका छन् । ०७४ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनमा शर्मा मोरङ क्षेत्र नम्बर ३ मा एमालेका भानुभक्त ढकालसँग पराजित भएका थिए । यसपटक पनि शर्माको प्रतिस्पर्धा नेता ढकालसँग नै हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.