लाङटाङ राष्ट्रिय निकुञ्जको जडीबुटी सदुपयोग गर्न माग

  २०७९ असोज २२ गते १३:१८     विकासन्युज

सिन्धुपाल्चोक । प्राकृतिक जडीबुटीको भण्डारका रूपमा चिनिने सिन्धुपाल्चोकको पाँचपोखरी क्षेत्रमा रहेको बहुमूल्य जडीबुटी पहिचान र सदुपयोग गर्न नसक्दा बर्सेनि खेर गइरहेको छ ।

लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा चिराइतो, कुड्की, नागबेली, पाउडर झ्याउ, ठूलो ओखतो, लोठसल्ला, धूपी, सुनपाती, जटामसीलगायत जडीबुटी पाइन्छ । निकुञ्ज क्षेत्रको स्याउले, सेलाङ, गुम्बा, गोल्चे, गुन्सा, थाङपालकोट, भोताङलगायत जङ्गलहरूमा यस्ता जडीबुटी प्रशस्त मात्रामा पाइने गरेको पाँचपोखरी थाङपाल गाउँपालिका–५ गुन्साका वडाध्यक्ष काले गोलेले बताए ।

अन्य जडीबुटी सङ्कलन नभए पनि आंशिक रूपमा यार्सागुम्बा सङ्कलन गर्न शुरु भएको पाँचपोखरी थाङपाल गाउँपालिका–३ का वडाध्यक्ष नीमछिरिछ तामाङले जानकारी दिए । यस क्षेत्रका कमैले मात्रै रोग लागेपछि मेडिकलको औषधि प्रयोग गर्ने गरेको भोताङका नीरबहादुर तामाङ बताए। उनले भने, ‘जे भए पनि यहीँको झारपातलाई औषधि बनाएर खाने गरेका छौँ ।’

राजधानीबाट नजिक रहेको लाङटाङ राष्ट्रिय निकुञ्जका कर्मचारी इन्द्रबहादुर गुरुङलाई जडीबुटीको सदुपयोग नहुँदा दुःख लागेको बताए । उनका अनुसार यस क्षेत्रमा पाइने महत्वपूर्ण जडीबुटी पहिचान गरेर यसको सदुपयोग गर्नसके यस क्षेत्रका बासिन्दाको जीवनस्तर उठ्न सहज हुने थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.