अस्पताल तोडफोड गर्नेलाई कारबाही गर्न माग

  २०७९ असोज २१ गते १८:१६     विकासन्युज

चितवन । यही असोज १७ गते बिरामीको उपचारका क्रममा मृत्यु भएको घटनालाई लिएर अस्पताल तोडफोड गर्नेलाई कारबाहीको माग गर्दै नेपाल चिकित्सक सङ्घ चितवनले प्रमुख जिल्ला अधिकारीलाई आज ज्ञापनपत्र बुझाएको छ । सङ्घले चितवन मेडिकल कलेजको सघन उपचार कक्ष (आइसियु) तोडफोडमा उत्रिएका दोसीलाई कारबाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई ज्ञापनपत्र बुझाएको हो ।

सङ्घका सचिव डा सूर्यप्रकाश सापकोटाले प्रमुख जिल्ला अधिकारी तामाङलाई ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्र बुझाउँदै सापकोटाले कलेजको सघन उपचार कक्षमा उपचाररत बिरामी र स्वास्थ्यकर्मीलाई समेत त्रसित बनाउने गरी गरिएको कार्य कानुनी राज्यको उपहास भएको बताए ।

तोडफोडको घटनामा संलग्नमाथि तत्काल स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मी संरक्षण ऐन २०६६ को संशोधन २०७९ अनुसार कारबाही अघि बढाउन प्रहरी प्रशासनसमक्ष सङ्घले माग गरेको छ । सङ्घको ज्ञापनपत्र बुझ्दै तामाङले अस्पतालको सघन उपचार कक्षमा तोडफोड भएको विषय गम्भीर रहेको बताए । दोषीलाई कारबाहीका लागि अस्पतालले जाहेरी दिएर सहज गरिदिनसमेत अग्रह गरे । दोषी जो कोही भए पनि कारबाही गरिने उनको भनाइ थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.