पहिराले दशैंका बेला घर छाडेर भागाभाग, सयौं रोपनी जग्गा जोखिममा

  २०७९ असोज २१ गते १३:१२     विकासन्युज

बागलुङ । बागलुङ नगरपालिका वडा नंं ११ को तल्लो रामतोलामा पहिरो खसेको एक महिना भयो । महिना दिनदेखि निरन्तर बगेको पहिरोका कारण यहाँका दर्जनौँ घरपरिवारले दशैंको टीकासमेत आफ्नो घरमा बसेर लगाउन पाएनन् । भदौको १९ गतेदेखि जमिन चिरा परेको र २१ गते अविरल वर्षातपछि जमिन बग्न थालेको थियोे ।

निरन्तर बगिरहेको जमिनमा दशैंका बेला भइरहेको भारी वर्षाले झन असर गरेको छ । जमिन बग्दा सडक, ठूला पीपलका रुखसमेत बगेका छन् । पहिरो खस्न थालेपछि स्थानीय किसानले लगाएका सुन्तलाको बगान, कुखुरा पालन फार्मलगायत गोठ पुरिएका छन् । कतिपय घर चिरा परेका छन् भने केही किसानका घर र गोठ भत्केका छन् ।

“पहिला एउटा पाटोमा मात्रै ठूलो पहिरो थियो, अहिले अर्को पाटो पनि बग्यो”, वडाध्यक्ष ज्ञानेन्द्र गौतमले भने, “सुरक्षित छन् भनेका घर र यहाँ रहेका पशुपक्षीको फार्मसमेत पुरिने अवस्थामा पुगे ।” भारी वर्षा र पहिरोसँगै खसेको भेल गाउँ पसेको छ । “आफ्नो घर छ, तर पहिरोले राज गरेको छ, अर्कैको घरमा दशैं मनाउनुप¥यो, बासविनाको दशैं खल्लो भयो”, स्थानीय कुलराज शर्माले भने, “छिमेकीका घर पनि चिरा परेका छन्, जुनसुकै बेला खस्छन्, हाम्रो दशैं भागाभागमै बित्यो ।”

यो बस्तीका खानेपानीको ट्याङ्कीसमेत बगेपछि स्थानीयवासी चिन्तामा छन् । उक्त पहिराले उनीसहित दर्जन बढी घरपरिवार विस्थापित भइसकेका छन् । केही घरपरिवार सुरक्षित ठाउँको खोजीमा रहेको अर्का स्थानीयवासी विष्णु पौडेलले जानकारी दिए । जमिन चिरा परेको स्थान हेर्दा थप सयौँ रोपनी जमिन, घर तथा सडक बग्ने अवस्थामा रहेको देखिएको उनले बताए । पहिरोले यहाँको तमाखुवारी भन्ने अर्को बस्तीमा पनि जोखिम बढेको छ ।

“यो सङ्केत हेर्दा यहाँको बस्ती नै जोखिममा भयो, पहिलाभन्दा अब धेरै घर विस्थापित हुने भए”, पौडेलले भने, “अर्बौं खर्चेर पनि रोकथाम हुने अवस्था छैन ।” बगेको पहिरोले जैमिनी नगरपालिका वडा नं १ को ओडार भन्ने स्थानमा पनि दर्जन घर विस्थापित भएका छन् । उनीहरुले पनि यो वर्षको दशैं आफ्नो घर छोडेर अर्कैको घरमा मनाए । रामतोलादेखि तल्लो खण्ड जैमिनी नगरपालिका–१ मा पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.