बीमाका सीईओलाई अध्यक्ष सिलवालले भने : बैंकमा मात्रै होइन ठूला व्यवसायमा लगानी गर्नुस्

  २०७९ असोज १३ गते १४:२२     विकासन्युज

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरुलाई राम्रो प्रतिफल दिने व्यवसायमा लगानी गर्न आग्रह गरेका छन् । उनले कम्पनीहरुलाई बैंकहरुमा मात्र केन्द्रित नभई लगानीको क्षेत्र प्रतिवर्तन गर्न आग्रह गरेका हुन् ।

विजया दशमी, शुभ दीपावली र छठ लगायतका पर्वहरूको उपलक्ष्यमा बीमा समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले सो बताएका हुन् । उनले कम्पनीहरुले लगानीका क्षेत्र परिवर्तन गरी दीर्घकालीनरूपमा राम्रो प्रतिफल प्राप्त हुने ठूला व्यवसायमा लगानी गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

साथै, उनले बीमा क्षेत्रको विकास, विस्तार र बीमामा पहुँच वृद्धिका लागि बीमा कम्पनीहरूसँग सहकार्य गर्न बीमा समिति तयार रहेको बताएका छन् । समितिले समस्याहरू समाधान गरिसकेपछि पुनः समस्या नदोहोरिने गरीे कम्पनीहरूले काम गर्नुपर्ने समेत उनको भनाई छ ।

अध्यक्ष सिलवालले बीमा कम्पनीहरूले नागरिकको आवश्यकता र मुलुकको भौगोलिक अवस्था अनुसार बीमालेख ल्याउनुपर्ने र कर्मचारीहरूको दक्षता अभिवृद्धिका लागि तालिम सञ्चालन गर्नुपर्ने बताए ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमाको पहुँच वृद्धिका लागि बीमा कम्पनीहरूले गाउँ गाउँमा पुगेर कृषि तथा पशुपन्छी बीमा, स्वास्थ्य बीमा लगायतका बीमा गर्नुपर्ने बताए ।

कार्यक्रममा बीमा समितिका निर्देशक सुशीलदेव सुवेदी तथा निर्देशक पूजन ढुङ्गेल (अधिकारी) र जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीहरूका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.