काठमाडौंको ७१ ठाउँमा ट्राफिक चेकिङ, १४ स्थानमा यात्रु सहायता कक्ष

  २०७९ असोज १२ गते १७:२२     विकासन्युज

काठमाडौं । चाड पर्वलाई लक्षित गरी ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाका १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ ।

दशैँ, तिहार तथा छठ पर्वको समयमा आवतजावत गर्ने यात्रुहरुको चाप बढ्ने भएकाले यात्रुहरुलाई सहयोग गर्ने उद्देश्यले उपत्यकाको १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको हो ।

बुधबार पत्रकार सम्मेलन गर्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सो कुराको जानकारी गराएको छ । कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले नागढुङ्गा, कलंकी, स्वयम्भू, माछापोखरी, नयाँ बसपार्क, चाबहिल, गौशाला, कोटेश्वर, जगाती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा र पुरानो बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको जानकारी दिए । सो कक्षबाट २ वटा गुनासो समेत सुनिएको उनले बताए ।

दशैँ अवधिभर १ हजार ४६८ जना ट्राफिक प्रहरी खटाइने प्रवक्ता भट्टले बताए । प्रहरी नायब उपरीक्षकको कमाण्डमा उपत्यकाका विभिन्न स्थानमा यात्रुवाहक सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन हुने सार्वजनिक सवारी साधनको यान्त्रिक परीक्षण गरेर मात्र सञ्चालन गर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

उनका अनुसार ८ ठाउँबाट यान्त्रिक परीक्षण भइरहेको छ । त्यसैगरी, नियमित ३६ स्थानमा चेकिङ भइरहेकोमा थप ३५ स्थानमा चेकिङ हुने जनाइएको छ । उपत्यकाबाट बाहिरिने नाकामा दैनिक एक स्थानमा लागु पदार्थ सेवनको पनि चेकिङ गरिने उनले बताए । भट्टको अनुसार ट्राफिक प्रहरीले तिव्र गतिको चेकिङ ५ स्थानमा र लामो दूरीका सवारी साधनहरुलाई लक्षित गरी ९ स्थानमा विशेष चेकिङ गरिरहेको छ ।

उनले बसपार्क क्षेत्र, कलंकी, बल्खु, कोटेश्वर, पुरानो बसपार्क, गौशालामा सादा पोशाकमा प्रहरी परिचालन गरी बढी भाडा लिने, फर्जि टिकट तथा डबल टिकट काट्ने व्यक्तिमाथि निगरानी राखि आवश्यक कारबाही गरिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.