पुँजी वृद्धिसँगै बीमामा विश्वास बढ्छ, ऐनपछि क्षेत्र नै व्यवस्थित हुन्छ : अध्यक्ष सिलवाल

  २०७९ असोज १२ गते १६:२७     विकासन्युज

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरुको पुँजी वृद्धि भएपछि बीमा दावी भुक्तानी र बीमाप्रतिको विश्वास समेत बढ्दै जाने बताएका छन् ।

बडादशैं, शुभ दीपावली र छठ पर्वको उपलक्ष्यमा बीमा समिति कर्मचारी युनियनले आज ललितपुरमा आयोजना गरेको शुभकामना आदान-प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले समितिले बीमा कम्पनीहरुको पुँजी वृद्धिको निर्णय गरे अनुरुप पुँजी वृद्धिका लागि दुईवटा कम्पनी मर्ज भएका र अन्य २० वटा कम्पनीले मर्जरका लागि समितिबाट स्वीकृति लिएको बताए ।

अध्यक्ष सिलवालले नयाँ बीमा ऐन आएपछि बीमा समिति बीमा प्राधिकरणमा रुपान्तरण हुने र स्वायत्तताको अभ्यास गर्दै अगाडि बढ्ने बताए ।
मन्त्रिपरिषद्मा पेश भएको राष्ट्रिय बीमा नीति स्वीकृत भएपछि सोही नीतिका आधारमा संघ, प्रदेश र स्थानीय तहमा बीमा सम्बन्धी काम कारवाही अगाडि बढ्ने र बीमा क्षेत्र थप व्यवस्थित हुने उल्लेख गरे ।

अध्यक्ष सिलवालले आगामी केही महिनाभित्रै प्रदेश नं. १, गण्डकी र लुम्बिनी प्रदेशमा पनि बीमा समितिका प्रदेश कार्यालयहरु स्थापना गरिने र मंसिरदेखि बीमा सम्बन्धी जनचेतना अभिवृद्धिका कार्यक्रमहरुलाई अभियानका रुपमा संचालन गरिने जानकारी दिए ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा समितिका काम कारवाहीलाई अझ प्रभावकारी बनाउने क्रममा समितिको नयाँ कर्मचारी दरबन्दी स्वीकृत भएका बताए ।

कार्यक्रममा बीमा समितिका निर्देशक पूजन ढुङ्गेल (अधिकारी), उपनिर्देशक पुनम ज्ञवाली (श्रेष्ठ), उपनिर्देशक एवम् समितिको कर्णाली प्रदेश कार्यालयका प्रमुख पदमप्रसाद सोडारी, सहायक निर्देशक शम्भुप्रसाद मिश्र र सहायक निर्देशक रञ्जिता केसीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको सभापतित्व बीमा समिति कर्मचारी युनियनका अध्यक्ष पूर्ण बहादुर थापाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.