तनहुँका सहकारी : साढे ११ अर्बको कर्जा प्रवाह, ८९३ जनालाई रोजगारी

  २०७९ असोज १० गते ११:५४     विकासन्युज

डुम्रे । तनहुँमा सहकारीलाई एकापसमा गाभ्न थालिएको छ । जनकल्याण बचत तथा ऋण सहकारी र गण्डकी बहुद्देश्यीय सहकारीबीच एकापसमा गाभ्ने सहमती भएको छ । दुई सहकारी गाभ्ने काम सम्पन्न भएसँगै एकिकृत कारोबारसमेत सूरु भएको छ ।

एकिकृत भएपछि जनकल्याण सहकारीले पहिलो अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनबाट वृषराज श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति गठन भएको छ । संस्थाको उपाध्यक्षमा प्रियनाथ पौडेल, सचिवमा उदयराज तिमल्सेना, कोषाध्यक्षमा देवकुमार श्रेष्ठ र सदस्यहरुमा राजकुमार श्रेष्ठ, अंकुरकुमार पिया, गोविन्द श्रेष्ठ, प्रदीप काफ्ले र चन्द्रकुमारी बराल चयन भएका छन् ।

यस्तै लेखा समिति संयोजकमा ओमराज श्रेष्ठ, शिक्षा समिति संयोजकमा हरिप्रसाद वाग्ले र ऋण समिति संयोजकमा गोविन्द श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । संस्थाको सेयर पूँजी एक करोड ७८ लाख ५२ हजार रहेको छ । १५ करोड ४७ लाख ४५ हजार निक्षेप संकलन गरी १५ करोड २४ लाख ३९ हजार कर्जा प्रवाह भएको छ ।

संस्थाको विनियमा उल्लेख भएबमोजिम सेवा प्रवाहलाई अगाडि बढाउन कृषिमा समयानुकूल मल, बिउ विजन र यान्त्रिक सामग्री खरिद बिक्री गर्नुका साथै कच्चा पदार्थको प्रशोधन गरी बजारीकरण गर्नका लागि मल, बिउ तथा कुटानी पिसानीलाई उच्च प्रशोधनका लागि व्यवस्था गरिने संस्थाका सचिव उदयराज तिमल्सेनाले जानकारी दिए ।

राष्ट्रिय सहकारी बैंकको तथ्याङ्कअनुसार तनहुँमा २५३ सहकारी सञ्चालनमा छन् । व्यास नगरपालिकामा ८२ सहकारी संस्थाको कूल सेयर पूँजी ७० करोड ८९ लाख ६२ हजार, भानु नगरपालिकामा ५५ सहकारी संस्थाको कूल सेयर पूँजी तीन करोड ३३ लाख ४३, शुक्लागण्डकी नगरपालिकाका २५ सहकारीको कूल सेयर पूँजी एक अर्ब ११ करोड ८८ लाख, म्याग्दे गाउँपालिकाका २४ सहकारीको कूल सेयर पूँजी २७ करोड ५७ लाख २५ हजार र भिमाद नगरपालिकाका १९ सहकारी संस्थाको कूल सेयर पूँजी चार करोड ८० लाख १९ हजार रहेको छ ।

यसैगरी बन्दीपुर गाउँपालिकाका १८ सहकारी संस्थाको कूल सेयर पूँजी २२ करोड १८ लाख ७९ हजार, आँबुखैरेनी गाउँपालिकाका १४ सहकारी संस्थाको कूल सेयर पूँजी १७ करोड ८९ लाख २२ हजार, देवघाट गाउँपालिकाका १४ सहकारीको कूल पूँजी १७ करोड ५८ लाख २२ हजार, ऋषिङ गाउँपालिकाको एक सहकारीको सेयर पूँजी पाँच लाख ६० हजार र घिरिङ गाउँपालिकाको एक सहकारीको सेयर पूँजी नौ लाख ३१ हजार रहेको छ ।

तनहुँका २५३ सहकारी संस्थाले कूल ११ अर्ब ४४ करोड ९४ लाख १८ हजार कर्जा प्रवाह गर्दै आएका छन् । यी सहकारी संस्थाले ८९३ जनालाई रोजगारी दिएको प्रबन्धक दाहालले बताए ।

राष्ट्रिय सहकारी बैंक तनहुँ शाखाले तनहुँलगायत लमजुङ, गोर्खा र मनाङको कार्य क्षेत्र हेर्छ । राष्ट्रिय सहकारी बैंकमा आवद्ध चार जिल्लामा २९३ सहकारी सञ्चालनमा छन् । सहकारी ऐनअनुसार हाल स्थानीय सरकारले नै दर्ता तथा सञ्चालन गर्न पाउने प्रावधान रहेकाले राष्ट्रिय सहकारी बैंकको तथ्याङ्क फरक पर्न सक्ने सहकारी बैंक तनहुँका शाखा प्रबन्धक दाहालले बताए ।

‘केही सहकारीबीच मर्जर हुने सम्भावना छ,’ उनले भने । सहकारी ऐन, २०४८ को दफा ३१ को उपदफा १ बमोजिम उद्देश्य कार्यान्वयन गर्न सहकारी संस्था एकापसमा एकिकरण गर्ने सम्बन्धमा सहकारी ऐन, २०४८ र सहकारी नियमावली, २०४९ अनुसार एकिकरण हुन चाहेमा एकिकरण कार्यको समय सीमा र तोकिएको प्रस्तावित कार्ययोजनासहित आ–आफ्नो सञ्चालक समितिबाट प्रस्ताव पारित गरी सो सम्बन्धी कार्य गर्न विभाग/कार्यालयमा निवेदन दिनुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.