काठमाडौं महानगरले गएको वर्षको तुलनामा २९.८५ प्रतिशत बढी राजस्व उठायो

  २०७९ असोज ६ गते १८:३१     विकासन्युज

काठमाडौं । गएको आर्थिक बर्षको असोज ५ गतेसम्मको तुलनामा यस आर्थिक वर्षको असोज ५ गतेसम्ममा काठमाडौं महानगरपालिकाको २९.८५ प्रतिशत बढी राजस्व संकलन भएको छ ।

यस अवधिमा गएको वर्ष १ अर्व २८ करोड ७१ लाख ३२ हजार ६६८ रुपैयाँ संकलन भएको थियो । चालु आर्थिक वर्षको सोही अवधिमा १ अर्व ६७ करोड १४ लाख ६ हजार ९८३ रुपैयाँ राजस्व संकलन भएको छ । यो ३८ करोड ४२ लाख ७४ हजार ३१५ रुपैयाँ बढी हो ।

विगत वर्षहरुमा अटेर गरेर कर नतिर्ने ठूला करदातालाई पत्राचार गरेर कडाई गरेपछि यस वर्ष राजस्व संकलनको मात्रामा वृद्धि भएको हो । राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारी भन्छन्, ‘गएको वर्षहरुमा पनि पत्राचार भएको हो, तर, करदाताले टेरेका थिएनन् ।’

यस अघि मनोरञ्जन कर तिर्न नमानेका क्यासिनो सञ्चालकहरुलाई पत्राचार गरेपछि चालु आर्थिक वर्षको यस अवधिसम्ममा ८६ लाख ४५ हजार १८९ रुपैयाँ कर तिरेका छन् । यसैगरी, करको दायरामा आउन नमानेका संघ संस्थाले १ करोड ८० लाख ७३ हजार ३११ रुपैयाँ ६७ पैसा सम्पत्ति कर तिरेका छन् । यस्तै, बहाल कर बुझाउन आनाकानी गरिरहेका संघ संस्थाहरुबाट ७८ लाख ३६ हजार ४४१ रुपैयाँ ६६ पैसा राजस्व असुली भएको राजस्व विभागका प्रमुख डा. अधिकारीले बताए ।

पत्राचार गरिएकामध्ये व्यवसाय करतर्फ १८ लाख रुपैयाँ कर असुली भएको छ । नियमित करदाताबाहेक कर तिर्न अटेर गर्नेहरुबाट करिब ५० करोड रुपैयाँ राजस्व थप हुने प्रक्षेपण गरिएको छ । यसमध्ये विद्युत प्राधिकरणले मात्र २६ करोड १९ लाख रुपैयाँ सम्पत्ति कर तिर्नुपर्ने डा. अधिकारीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.