याङ्री र लार्केको पानी काठमाडौँ उपत्यकामा वितरणका लागि पाइप बिच्छ्याइँदै

  २०७९ असोज ४ गते १५:४७     विकासन्युज

काठमाडौं । मेलम्चीपछि याङ्री र लार्के खोलाको पानी काठमाडौँ उपत्यकामा वितरणका लागि ठूला पाइप विच्छ्याउन थालिएको छ । सुन्दरीजलबाट चाबहिलसम्मको ११ किमी दूरीमा मेलम्ची आयोजनाको दोस्रो चरणको पानी वितरणका लागि एक हजार छ सय र एक हजार आठ हजार मिलिमिटर एमएमका ठूला पाइप विच्छ्याउन थालिएको हो ।

दोस्रो चरणमा याङ्री र लार्केको पानी पनि ल्याउने तयारी भएसँगै पानी वितरणका लागि राजधानीमा ठूला पाइप विच्छ्याउन थालिएको हो । पहिलो चरणमा मेलम्चीको पानी वितरणका लागि सुन्दरीजलबाट चाबहिलसम्म विसं २०६९ मा एक हजार चार सय मिलिमिटरको पाइप विच्छ्याइएको थियो । यो पाइपबाट दैनिक २२ करोड लिटर पानी पठाउन सकिने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।

दोस्रो चरणमा एक हजार ६०० र एक हजार ८०० मिलिमिटरका पाइप विच्छ्याएपछि यसबाट दैनिक २९ करोड लिटर पानी ल्याउन सकिने निर्देशनालयका सूचना अधिकारी चन्द्रकुमार श्रेष्ठ पाँले राससलाई जानकारी दिए ।

सुन्दरीजलस्थित मेलम्चीको पानी प्रशोधन केन्द्रबाट साँढे दुई किमी नयाँ पाटीसम्म एक हजार ८०० मिलिमिटरको पाइप विच्छ्याइने छ । साँढे दुई किलोमिटर भन्दा तल चावहिलसम्म करिब आठ किमी दुरीमा भने एक हजार ६०० मिलिमिटरको पाइप विच्छ्याइने छ । याङ्री र लार्केको पानी आउनुअघि नै पनि मेलम्चीबाट दैनिक १७ करोड लिटरभन्दा बढी पानी आउने भएपछि ठूलो आकारको पाइप विच्छ्याइएको उनले सुनाए ।

वर्षाका समयमा एउटा खोलाबाट दैनिक १७ करोड लिटरभन्दा बढी पानी ल्याउन सकिने जनाइएको छ । याङ्री र लार्केको पानी राजधानी ल्याउन तयारी सुरु भएकै बेला निर्देशनालयले भने पाइप विच्छ्याउन थालिसकेको छ ।

हवास उई कङ्काई कम्पनी जेभीले पाइप विच्छ्याउने कामको ठेक्का पाएको छ । सन् २०२१ अप्रिलदेखि सुरु भएको काम दुई वर्षमा सकिने सम्झौता भएको छ । दुई अर्ब ८८ करोड रुपैयाँको लागतमा काम भइरहेको आयोजनाका सूचना अधिकारी श्रेष्ठले बताए । सुन्दरीजलबाट गोकर्णेश्वर महादेव मन्दिरमाथिको जगडोल डाँडासम्म जग्गा अधिग्रहण गरेर ठूला पाइप विच्छ्याइएको छ । जगडोल डाँडाबाट चाबहिलसम्म भने सडकमा ठूला पाइप विच्छ्याइनेछ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.