लाभांश घोषणा गर्ने तयारीमा आधा दर्जन बैंक, कुनको क्षमता कति ?

  २०७९ असोज २ गते १९:४९     विकासन्युज

काठमाडौं । आधा दर्जन वाणिज्य बैंकले लाभांश घोषणा गर्ने तयारी गरेका छन् । लाभांश घोषणाका लागि आधा दर्जन वाणिज्य बैंकहरुले नेपाल राष्ट्र बैंकमा वित्तीय विवरण पेश गरेका हुन् । केही प्राविधिक समस्याका कारण ती बैंकहरुकाे वित्तीय विवरण स्वीकृत हुन ढिलाइ भएकोले अब केही समयभित्रै लाभांश घोषणा गर्ने तयारी गरिरहेकाे रहेकाे बुझिएकाे छ ।

राष्ट्र बैंकका सह–प्रवक्ता नारायण पोखरेलका अनुसार राष्ट्र बैंकमा ८ वटा वाणिज्य बैंकको वित्तीय विवरण पेश भएको छ । ‘आधा दर्जन बढी वाणिज्य बैंकहरुले वार्षिक साधारणसभा क्लियरेन्सका लागि राष्ट्र बैंकमा पठाएका छन्, त्यस विषयमा हामी अध्ययन गरिरहेका छौं, पूर्ण रुपमा अध्ययन गरेपछि हामी हाम्रो निर्णय गर्छौं,’ उनले भने ।

राष्ट्र बैंक स्रोतका अनुसार एनआइसी एसिया, सनराइज, ग्लोबल आइएमई, बैंक अफ काठमाण्डू, सिद्धार्थ, सिटिजन्स, मेगा र कुमारी बैंकको वित्तीय विवरण राष्ट्र बैंक पुगेको छ । तर, यी बैंकहरुका वित्तीय विवरणमा केही प्राविधिक समस्या देखिएको कारण स्वीकृत गर्न केही ढिलाइ भएको स्रोतको भनाइ छ ।

अब बैंकहरुले सो विषय सच्याएपछि यी ८ वटा बैंकहरुले राष्ट्र बैंकबाट प्रारम्भिक स्वीकृति पाउनेछन् ।

‘राष्ट्र बैंकमा वित्तीय विवरण स्वीकृतिका लागि आएका बैंकहरुलाई हामीले जति सक्दो छिट्टो स्वीकृति दिने योजना बनाएका छौं, सकेसम्म दशैं अगाडि नै स्वीस्कृति दिने हाम्रो योजना थियो तर केही प्राविधिक समस्या देखियो, अझै पनि समय छ, दशैं अगाडि नै सबै बैंकले स्विकृति पाउन सक्छन्’ राष्ट्र बैंक स्रोतले भन्यो ।

नेपाल राष्ट्र बैंकले बैंकको वित्तीय विवरणमा कुनै अंकुश नलागेमा बैंकहरुले चाहेकाे हाराहारीमै लाभांश वितरण गर्न सक्छन् । यद्यपि, बैंकहरुले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले लाभांश पाउँछन् । नेपाल राष्ट्र बैंकले लाभांश वितरण गर्न सक्ने स्वीकृति दिएपछि बैंकले २१ दिन अगावै वार्षिक साधारण सभा बोलाउनु पर्ने व्यवस्था छ ।

बैंकहरुको गत आर्थिक वर्षको नाफाको आधारमा वित्तीय विवरण पेश गरेका बैंकहरुमध्ये एनआइसी एसियाले ३३ प्रतिशत, सनराइजले १४.४६ प्रतिशत, ग्लोबल आइएमईले १३.४५ प्रतिशत, बैंक अफ काठमाण्डूले १२.२५ प्रतिशत, सिद्धार्थले १६.८२ प्रतिशत, सिटिजन्सले ११.२४ प्रतिशत, मेगाले ११.४४ र कुमारी बैंकले १२.६६ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिएको छ ।

स्रोतका अनुसार बैंकहरुले पठाएको वित्तीय विवरणमा राष्ट्र बैंकले केही असहमति जनाएकोले वित्तीय विवरण स्वीकृतिमा केही ढिलाइ भएको हो । राष्ट्र बैंकले केही कर्जामा प्रोभिजन गर्न लगाएको छ । बैंकहरुले सो प्रोभिजन गरेपछि राष्ट्र बैंकले एजीएम क्लिरियनसको स्वीकृति दिनेछ र बैंकहरुले लाभांश घोषणा गर्नेछन् । तर, केही रकम प्रोभिजन गरेपछि बैंकहरुको लाभांश दिन सक्ने क्षमतामा भने केही ह्रास आउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.