नेपालमा ५५ देशको २ खर्ब २७ अर्ब लगानी, भारतबाट मात्रै ७५ अर्ब ८१ करोड

  २०७९ भदौ २८ गते १६:२८     विकासन्युज

काठमाडौं । नेपालमा ५५ वटा देशले २ खर्ब २७ अर्ब रुपैयाँ लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकले गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षणमा २ खर्ब २७ अर्ब ९५ करोड रुपैयाँ लगानी देखिएको हो ।

आर्थिक वर्ष २०७७/७८ मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीमध्ये कुल १९७ वटा कम्पनीको नमूना छनौट गरी सर्वेक्षणबाट प्राप्त तथ्याङ्क तथा अन्य विवरणको विश्लेषणका आधारमा ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७७÷७८’ तयार पारिएको राष्ट्र बैंकले जनाएको छ ।

सर्वेक्षणबाट प्राप्त नतिजाअनुसार नेपालमा आर्थिक वर्ष २०७७÷७८ को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात अघिल्लो वर्षको तुलनामा १४.८ प्रतिशतले वृद्धि भई रु.२२७ अर्ब ९५ करोड कायम रहेको छ । कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५३.९ प्रतिशत, सञ्चितिको ३१.६ प्रतिशत र कर्जाको अंश १४.५ प्रतिशत रहेको छ । चुक्ता पुँजीको अंश १३.७ प्रतिशतले बढेकोले कुल प्रत्यक्ष वैदेशिक लगानीमा वृद्धि भएको हो । २०७८ असार मसान्तसम्ममा नेपालमा ५५ देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ ।

जसमध्ये, भारतबाट सबैभन्दा बढी अर्थात् रु.७५ अर्ब ८१ करोड र त्यसपछि क्रमशः चीनबाट रु.३३ अर्ब, आयरल्याण्डबाट रु.१६ अर्ब ४८ करोड, सिङ्गापुरबाट रु.१५ अर्ब ४८ करोड र सेन्ट किट्स एण्ड नेभिसबाट रु.१४ अर्ब ५१ करोड प्रत्यक्ष वैदेशिक लगानी रहेको देखिन्छ । नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ६०.५ प्रतिशत औद्योगिक क्षेत्रमा र ३९.४ प्रतिशत सेवा क्षेत्रमा रहेको देखिन्छ । औद्योगिक क्षेत्रअन्र्तगत जलविद्युत्क्षेत्रमा ३०.८ प्रतिशत र उत्पादन क्षेत्रमा २९.५ प्रतिशत वैदेशिक लगानी रहेको देखिन्छ ।

यसैगरी, कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २६.९ प्रतिशत सेवा क्षेत्रअन्र्तगत बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरूमा रहेको छ । समीक्षा वर्षमा वैदेशिक लगानीमा सञ्चालित उत्पादनमूलक कम्पनीको क्षमता उपयोग ६४.९ प्रतिशत रहेको पाइएको छ भने नाफाको दर करिब १४.७ प्रतिशत रहेको पाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.