२४ बैंकका सीईओलाई नागरिक लगानी कोषले भन्यो : बजार नियमअनुसार चल्नुहोस्, ब्याज बढ्नुपर्छ

  २०७९ भदौ २३ गते १६:१८     विकासन्युज

काठमाडाैं। बैंकहरुको पछिल्लो भूमिकाप्रति असन्तोष प्रकट गर्दै आएको नागरिक लगानी कोषले सबै बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुलाई खुला बजारको नियम अनुसार चल्न सुझाव दिएको छ । गत साउन ३० गते बैंकर्स संघले संस्थागत निक्षेपकर्ताको व्याज घटाएर ९.०३ प्रतिशत मात्र दिने निर्णय गरेपछि संस्थागत निक्षेपकर्ताहरु बैंकर्ससँग आक्रोसित भएका छन् ।

भदौ २२ गते कोषले आयोजना गरेको एक कार्यक्रममा कोषका कार्यकारी निर्देशक रमण कुमार नेपालले बैंकर्स संघले भदौ ३० गते गरेको निर्णयप्रति असन्तोष जनाएका थिए । कार्यकारी निर्देशकले खुल्ला बजार नीति अनुरुप माग र आपूर्तिको आधारमा व्याजदर कायम नभएकोे बताएका हुन् ।

‘वित्तीय क्षेत्रको तरलता समस्या र नागरिक लगानी कोषको भूमिका सम्वन्धी’ छलफल कार्यक्रममा २६ वटा बैंकका प्रमुख कार्यकारी अधिकृतलाई निम्ता गरेपनि २४ जना सहभागी भएका थिए । बैंकर्सहरुले बैकर्सहरुले वित्तीय क्षेत्रमा तरलता समस्या देखिएको भन्दै कोष जस्ता संस्थाले केही मात्रामा भएपनि बजारमा तरलता अभाव न्युनीकरण गर्ने भूमिका खेल्नु पर्नेमा जोड दिए ।

वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरुले वजारमा देखिएको तरलता समस्या समाधान गर्न कोषले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए । जवाफमा कोषका कार्यकारी निर्देशक नेपालले कोषमा बचत गर्नेहरुबाटै ८० प्रतिशतसम्म ऋण सापटीको माग बढि रहेको बताए ।

‘तपाईहरुले संस्थागत निक्षेपकर्तालाई कम व्याज दिने निर्णय गर्नु भयो । कोषमा बचत गर्नेहरुले ८० प्रतिशतसम्म कर्जा माग गर्न थालेका छन् । आवास तथा सरल कर्जाको मागमा उच्च बृद्धि भएको छ । बिभिन्न बँैकहरुबाट जारी गर्ने डिबेन्चर निस्काशनमा बृद्धि हुन थालेको छ । हामीसँग पनि पैसाको अभाव छ’ नेपालको भनाई उदृत गर्दै एक बैंकर्सले बताए ।

बैंकहरुले जारी गरेको ऋणपत्रमा ११ प्रतिशतसम्म व्याज पाएको अवस्थामा ९.०३ प्रतिशतमा मुद्दती खातामा पैसा राख्नु कोषका लागि घाटाको व्यापार उनले उनले बताएका थिए । उनले कुटनीतिक तरिकाले निक्षेपको व्याजदर वृद्धि गर्न बैंकर्ससँग आग्रह गरेका थिए ।

कार्यकारी निर्देशक नेपालले १५ भदौसम्मको तथ्याकं अनुसार कोषको कुल लगानीको ६५ प्रतिशत लगानी बैँकिग क्षेत्रमा रहेको जानकारी दिए । २०७९ असार मसान्तसम्म कोषको खुद कोष मौज्दात २ खर्ब १७ अर्ब रुपैँया रहेको र १ खर्ब ९४ अर्ब रुपैयाँ २६ वटा बैंकको मुद्दती खातामा लगानी रहेको जानकारी दिएका थिए ।

कार्यक्रममा नेपाल बैकर्स एसोसियसनका अध्यक्ष अनिल कुमार उपाध्याय, ग्लोबल आइएमई बैकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले बजारमा देखिएको तरलता समस्याको बारेमा धारणा राखेको थिए । सो अवसरमा कोष संचालक समितिका अध्यक्ष प्रा.डा.सूर्य बहादर थापाले कोष र बैकहरुले आपसी सहकार्य गरी अहिले बजारमा देखिएको तरलता अभावलाई न्युनीकरण गर्नेतर्फ विशेष जोड दिनुपर्ने खाँचोे औल्याएको कोषद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यसअघि नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोषको कार्यकारी प्रमुखहरुले एक साताअघि अर्थसचिव कृष्णहरि पुस्करसँग भेटी व्यक्तिगत र संस्थागत भनि व्याजदरमा गरिएको विभेद अन्त्य गर्न माग गरेका थिए । साथै बीमा कम्पनीहरुले पनि संस्थागत निक्षेपकर्तालाई कम व्याज दिने बैंकर्सको नीतिको आलोचना गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.