आइटीमा पनि थरिथरि विषय पढाइ, स्नातक तहमा कुन कोर्ष राेज्ने ?

  २०७९ भदौ २१ गते १२:३४     विकासन्युज

काठमाडौं । विज्ञान प्रविधिको विकाससँगै संसारभर काम गर्ने तरिका पनि प्रविधिमैत्री हुँदै गएको छ । उत्पादन, वितरण तथा सेवाको प्रकियामा प्रविधिले ठूलो परिवर्तन ल्याएको छ । यस तथ्यलाई ध्यानमा राखेर विश्व विद्यालयहरुले पाठ्यक्रम बनाएका छन् । सोही अनुसार कलेजहरुले अध्यायन अध्यापनमा जोड दिएका छन् । तर नेपालमा पढाई र गराईमा थुप्रै बेमेल छन् । विश्वविद्यालय पढाई पुरा गरेका युवाहरुले देशमा काम नपाएको भन्दै विदेशिएको र विदेशमा पनि उनीहरुले सीप नभएका मानिसले गर्ने काम गरिरहेको पाइन्छ ।

भर्खरै कक्षा १२ को परिक्षा उत्तिर्ण गरेर विश्वविद्यालय प्रवेश गर्न लागेका आइटी क्षेत्रमा रुची भएका विद्यार्थीहरुले कस्तो विषय छनोट गरेर अध्ययन गर्दा व्यवहारिक हुनसक्ला ? नेपाली कलेजहरुले आइटी क्षेत्रसँग सम्बन्धित के–कस्ता कोर्षहरु पढाइरहेका छन् ? यहाँ नेपालका अधिकांश कलेजले सञ्चालन गरिरहेको आइटी क्षेत्रसँग सम्बन्धित मुख्य कोर्षको विषयमा चर्चा गर्न खोजिएको छ ।

बिएससी सिआइटी (कम्प्युटर साइन्स एण्ड इन्फर्मेसन टेक्नोलोजी)


बिएससी सिआइटी ४ वर्षे सेमेस्टर प्रणालीमा अध्यापन हुने प्राविधिक कोर्ष हो । डियर वाक डी डब्लु आइटी कलेज काठमाडौं बिएसी सिएसआइटी विभागका प्रमुख बिजयबाबु रेग्मीकाअनुसार कक्षा १२ मा फिजिक्स, म्याथ र केमेस्ट्र विषय लिएर सी ग्रेड हासिल गरेका विद्यार्थीले पनि यो विषय पढ्न सक्छन् । रेग्मीका अनुसार यो कोर्षमा कम्प्युटर साइन्स र सूचना प्रविधिको विषयमा आधारभूत सैद्धान्तिक ज्ञान, सफ्टवेयर निर्माण तथा सञ्चालन र वेबसाइट, मोबाइल एप्लिकेसन को विषयमा अध्ययन गरिन्छ । कम्प्यूटरसँग सम्बन्धित धेरै समस्या र इन्टरनेट सुरक्षा सम्बन्धी आधारभूत ज्ञान यो कोर्षको अध्ययनमार्फत प्राप्त गर्न सकिन्छ ।

४ वर्षे विएससी सिएसआइटी कोर्ष पढिसकेपछि विद्यार्थीले वेबसाइट निर्माण तथा सञ्चालन गर्न, मोबाइल एप्लिकेसन निर्माण तथा सञ्चालन गर्न, सफ्टवेयरको निर्माण तथा सञ्चालन गर्न सक्ने रेग्मीले बताए । उनका अनुसार अहिलेको समयमा बिएससी सिएसआइटी पढेको जनशक्तिको माग निकै बढिरहेको छ । पछिल्लो समयमा सरकारी तथा निजी क्षेत्रमा सफ्टवेयरको प्रयोग गर्ने कार्य निकै बढेको छ । त्यस्तै वेबसाइट निर्माण गर्ने र सूचना प्रविधिको सहायतामार्फत काम गर्ने अभ्यास तिव्रतामा वृद्धि हुँदै गएको छ । साथै देशभित्रै बसेर पनि विदेशका सूचना प्रविधिका कामहरु गरेर मनग्य रुपमा आम्दानी गर्ने अवसरहरुको विकास हुँदै गएको छ । जसले गर्दा स्वरोजगार वा रोजगार दुबै दृष्टिकोणले बिएससी सिआइटी अध्ययनको महत्व दिनप्रतिदिन बढ्दै गएको प्राध्यापक रेग्मीले बताएका छन् ।

बिसिए (ब्याच्लर अफ कम्प्युटर एप्लिकेसन)


बिसिए त्रिभुवन विश्वविद्यालयले निर्माण गरेको स्नातक तहको ८ सेमेस्टरमा पढाइ हुने ४ वर्षे कोर्ष हो । मेगा कलेजका बिसिए विभागका प्रमुख धर्मराज पौडेलका अनुसार यो कोर्ष खासगरी कक्षा ११ र १२ मा आइटी अध्ययन नगरेका विद्यार्थीले पनि अध्ययन गर्न पाउनेगरी निर्माण गरिएको हो । कक्षा ११ र १२ जुनसुकै विषय अध्ययन गरेर न्यूनतम डि ग्रेड ल्याएर उत्तिर्ण भएका विद्यार्थीहरुले पनि बिसिए अध्ययन गर्न सक्छन् । यो कोर्षको अध्ययनमा आधारभूत रुपमा कम्प्युटर एप्लिकेसन र सफ्टवेयर डेभलपमेन्टलाई फोकस गरिन्छ । पौडेलका अनुसार यो कोर्षको मुख्य विशेषता भनेको विद्यार्थीले ८ सेमेस्टरको अवधिमा गर्नुपर्ने विशेष ३ वटा प्रोजेक्ट आफ्नो क्षमता र रुचीको आधारमा छनौट गरेर गर्न सक्छ । जसमा मोबाइल एप्लिकेसन, कम्प्युटर एप्लिकेसन, सफ्टवेयर डेभलेपमेन्ट, वेब पेज लगायतका थुप्रै विषयहरु हुन सक्छन् ।
पछिल्लो समयमा हाम्रो मुलुक लगायत विश्वभरी नै आइटी उद्यमको तिव्र गतिमा विकास भइरहेको छ । बिसिए पढेपछि सिस्टम इन्जिनियर, सफ्टवेयर टेस्टर, जुनियर प्रोग्रामर, वेब डेभलपर, सिस्टम एड्स्ट्रेस्टर र सफ्टवयर डेभलपरको रुपमा सरकारी तथा गैर सरकारी वा स्वयंले उद्यमको सिर्जना गरेर काम गर्न सकिने पौडेलले बताए ।

बिसिआइएस (ब्याचलर अफ कम्प्युटर इन्फर्मेसन)


बिसिआइएस स्नातक तहका लागि पोखरा विश्वविद्यालयले तयार गरेको कोर्ष हो । ४ वर्षमा अध्ययन गरिने यो कोर्ष जुनसुकै विषयमा कक्षा ११ र १२ अध्ययन गरेर सी प्लस ग्रेडमा उत्तिर्ण भएको विद्यार्थीले पनि पढ्न सक्छन् । एपेक्स कलेज काठमाडौं बिसिआइएस विषयका प्रमुख उज्जवल शाक्यले सो कोर्षमा आइटी र म्यानेजमेन्टका विषयहरु मिश्रण गरेर तयार पारिएको बताए । जसले गर्दा सो कोर्ष पढ्ने विद्यार्थीले दुबै आइटी र म्यानेजमेन्ट दुबै क्षेत्रको अध्ययन गर्ने उनको भनाइ छ ।

शाक्यका अनुसार बिसिआइएसको कोर्षमा विद्यार्थीले व्यवस्थापन अन्तर्गत पर्ने सबै विषयहरु र आइटी अन्तर्गत पर्ने कार्यक्रम, प्रविधि, डाटाबेस, एप्लिकेसन, सफ्टवेयर लगायतका विषयहरु पढ्छन् । जसले गर्दा सो कोर्षको अध्ययन गरिसकेपछि विद्यार्थीले आफूलाई आइटी वा म्यानेजमेन्ट दुबैतर्फ वा कुनै एक क्षेत्र रोजेर अगाडि बढ्न सक्छन् । यो विषयको अध्ययनपश्चात विद्यार्थीले प्रणाली विश्लेषण, सूचना विश्लेषण, डाटाबेस म्यानेजर र नेटवर्क एड्मिन्स्ट्रेटर लगायतका धेरै क्षेत्रमा आफ्नो करिअर स्थापित गर्न सक्छ । साथै विद्यार्थीले स्नातकोत्तर तहमा म्यानेजमेन्ट वा आइटी विषयलाई रोजेर आफ्नो थप अध्ययनलाई अगाडि बढाउन सक्छ ।

बिआइटी (ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी)


बिआइटी नेपालमा धेरै विश्वविद्यालयले भिन्न–भिन्न ढंगले सञ्चालन गरिरहेको शैक्षिक कार्यक्रम हो । किष्ट कलेज काठमाडौंका बिआइटीका को–अर्डिनेटर दीपक खड्काका अनुसार बिआइटी कक्षा ११ र १२ मध्ये कुनै एक कक्षामा गणित विषय लिएर उत्तिर्ण गरेका विद्यार्थीले अध्ययन गर्न सक्छन् । उनका अनुसार पूर्वाञ्चल विश्वविद्यालयले अहिलेसम्मको नियमअनुसार डी प्लस ग्रेड हासिल गरेका विद्यार्थीले पनि यो विषय पढ्न सक्ने व्यवस्था गरेको छ । यो कोर्षमा तथ्यांकको विश्लेषण, डिजाइन, सफ्टवेयर डेभलपमेन्ट, कम्प्युटर नेटवर्किङ तथा डाटा इन्फर्मेसन, वेबसाइट निर्माण, एप्लिकेसन निर्माण लगायतका विषयहरुको अध्ययन गरिन्छ ।

को–अर्डिनेटर खड्काका अनुसार सो विषय अध्ययन पश्चात विद्यार्थीले जागिर मात्रै नभएर आफ्नो ढंगले पनि विभिन्न प्रकारका प्रोजेक्टहरुको सञ्चालन गर्न सक्षम हुन्छ । अहिले भइरहेका जुनसुकै काम पनि आइटीसँग जोडिदै गएकाले जनजीवन नै आइटीमय भएको र भविष्यमा पनि यसको थप महत्व बढ्दै गएको उनले बताए ।

बिएससी आइटी (कम्प्युटर सिस्टम इन्जिनियरिङ)


बिएसी आइटी ‘आइटी युनिभर्सिटी अफ सन्डरल्यान्ड’ युकेको विश्वविद्यालयले विकास गरेको स्नातक तहको कोर्ष हो । नेपालको सीमित कलेजमा मात्रै यो कोर्षको पढाई हुने गरेको छ । आइएसएमटी कलेज काठमाडौंका प्रिन्सिपल ध्रुबबाबु जोशीका अनुसार यो ८ सेमेस्टर ४ वर्षमा पढाइ हुने पूर्ण रुपमा व्यवहारिक प्रयोगका माध्यमबाट अध्ययन गरिने कोर्ष हो । प्रिन्सिपल जोशीका अनुसार कक्षा १२ मा नेपालको मापदण्डअनुसार ५० प्रतिशत नम्बर ल्याएर उत्तिर्ण भएको विद्यार्थीले यो विषय पढ्न सक्छ ।

उनका अनुसार यो कोर्षमा कम्प्युटर सिस्टम, एप्लिकेसन, वेब, नेटवर्किङ, डाटा एनालाइसिस, प्रोग्रामिङ लगायतका सबै विषयहरुको व्यवहारिक ढंगले अध्ययन गरिन्छ । जसकारणले यो कोर्षको अध्ययनपश्चात विद्यार्थीले सम्बन्धित उद्यमको क्षेत्रमा वास्तविक रुपमा कार्यान्वयन गर्नसक्ने क्षमता राख्छ । आइटी उद्यमको तिव्र विकाससँगै बिएससी आइटी अध्ययन गरेका विद्यार्थीको माग दिनप्रतिदिन बढ्दो रुपमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.