बैंकहरुले १० गुणासम्मका मुद्दति योजना ल्याउँदा सहकारीमा समस्या देखियो : ओमदेवी मल्ल

  २०७९ भदौ १९ गते १४:१७     विकासन्युज

काठमाडौं । राष्ट्रिय सहकारी महासंघकी वरिष्ठ उपाध्यक्ष ओमदेबी मल्लले बैंकहरुले आकर्षक मुद्दति योजना ल्याउँदा सहकारीमा समस्या देखिएको बताएकी छन् । आइतबार नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को १२औं स्थापना दिवसमा बोल्दै उनले बैंकहरुका कारण सहकारीमा समस्या सिर्जना हुन थालेको बताएकी हुन् ।

‘मेरो स्मरण भएसम्म बैंकहरुले यस्ता खालको आकर्षक मुद्दति योजना ल्याएका थिएनन्, मानिसहरु सहकारीमै बचत गर्न रुचाउँथे, बैंकहरुले पैसा १० गुणासम्म बढ्ने योजना ल्याएपछि सहकारीहरुबाट पैसा झिकेर बचतकर्ताले पैसा ती योजनाहरुमा राख्ने थाले, तरलतामा समस्या भएकै कारण बैंकहरुले निक्षेप बढाउन त्यस्ता योजनाहरु ल्याए, जसको प्रत्यक्ष असर सहकारीमा परेको हो,’ उनले कार्यक्रममा भनिन् ।

विश्वको अर्थतन्त्रमा नै समस्या आउँदा सहकारीमा पनि केही समस्याको संकेत देखिएको बताइन् । सहकारी संस्थाहरु स्वनियमन, अनुशासन र शुसानको अभ्यास गरिनै रहेको बताउँदै उनले केही सीमित सहकारीको कारण सहकारी क्षेत्र नै बदनामी बन्नु परेको धारणा राखिन् । यसमा सहकारीका सदस्यहरु पनि जिम्मेवार बन्नु पर्ने उनले बताइन् ।

यस्तै, नेपाल नेपाल बचत तथा ऋण केन्द्रिय संघ (नेफ्स्कुन)काक वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले पनि पछिल्लो समय केही सहकारीमा समस्या आएकोले सबै मिलेर त्यस्ता समस्या नआउने वातावरण सिर्जना गर्नु पर्ने धारणा राखे ।
उनले सहकारीमा संख्यात्मक वृद्धिभन्दा पनि गुणात्मक वृद्धि हुनु पर्ने बताए ।

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले पनि सहकारी संस्थाहरु गुणस्तरीय हुनु पर्नेमा जोड दिए । सहकारी संस्थाहरुमा तरलताको अभाव हुँदै गएको बताउँदै उनले त्यसमा सजग बन्नु पर्ने धारणा राखे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.