डाक्टर भगवान कोइरालाको पुस्तक किनेर देशका बालबालिकाको उपचारमा सहयोग गर्न सकिने

  २०७९ भदौ १२ गते १९:१६     विकासन्युज

काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर भगवान कोइरालाको संस्मरणात्मक पुस्तक किनेर नेपालका बालबालिकाको उपचारमा सहयोग गर्न सकिने भएको छ । डाक्टर कोइरालाको संस्मरणात्मक पुस्तक ‘हृदय’ को साधारण र विशेष संस्करण खरिद गरेर उनको नेतृत्वमा निर्माण गर्न लागिएको गैरनाफामूलक ‘काठमाडौं इन्स्ट्च्यिुट अफ चाइल्ड हेल्थ’को निर्माणमा सहयोग गर्न सकिने भएको हो ।

आधारभूत स्वास्थ्य उपचारको अभावमा लाखौं नेपाली बालबालिकाहरुले जीवन गुमाउँदै आएको दुःखद यथार्थलाई न्यूनिकरण गर्नका लागि डाक्टर कोइरालाको नेतृत्वमा विशिष्ट बाल अस्पताल (काठमाडौं इन्स्ट्च्यिुट अफ चाइल्ड हेल्थ) निर्माणको प्रकृयामा अगाडि बढेको छ । सातै प्रदेशमा शाखा विस्तार गर्ने लक्ष्य लिइएको सो अस्पतालको पहिलो शाखा झापाको दमकमा अन्तिम चरणमा पुगेको छ । कोइरालाको सोही विशाल लक्ष्यलाई सहयोग पुर्याउने उद्देश्यले फाइनप्रिन्टले उनको पुस्तक ‘हृदय’ को विशेष संस्करण ल्याउने भएको छ ।

उक्त विशेष संस्करण यही भदौको अन्तिम साता लोकार्पण गरी बिक्री गरिने फाइन प्रिन्टले जनाएको छ । इन्स्ट्च्यिुट सञ्चालनको लागि सहयोग गर्न प्रकाशन गरिएको विशेष प्रकाशनको पुस्तकको मूल्य प्रति पुस्तक २५ हजार हुने प्रकाशकले जनाएको छ । प्रकाशकका अनुसार विशेष आकर्षक डिजाइन सहित प्रकाशन गरिएको उक्त पुस्तकको लागत बाहेक सम्पूर्ण रकम इन्स्ट्च्यिुटलाई नै प्रदान गरिनेछ । साथै उक्त पुस्तकबाट प्राप्त हुन सक्ने रोयल्टीबापतको रकम पनि आफुले नलिने डा कोइरालाले बताएका छन् ।

कोइरालाको पुस्तक ‘हृदय’ आम मानिसले पनि खरिद गर्न सकिने साधारण प्रकाशनमा पनि प्राप्त गर्न सकिन्छ । उक्त साधारण प्रकाशनको मूल्य प्रति पुस्तक ५ सय ७५ रुपैयाँ पर्ने प्रकाशकले जनाएको छ । उक्त पुस्तकबापत प्राप्त हुने रोयल्टीको ५० प्रतिशत रोयल्टी पनि इन्स्ट्च्युटलाई प्रदान गरीने डाक्टर कोइरालाले बताएका छन् । इन्स्ट्च्यिुटको सहयोगार्थ प्रकाशन गर्न लागिएको विशेष प्रकाशन २ हजार ५ सय प्रति प्रकाशन गरिने र सो संस्करणको सम्पूर्ण प्रति बिक्री हुँदा ६ करोड २५ लाख रुपैयाँ संकलन हुने प्रकाशकले जनाएको छ ।

डाक्टर कोइरालाको विशाल सपनालाई सहयोग गर्न चाहने व्यक्तिहरुले विभिन्न माध्यमबाट उनको पुस्तक किनेर सहयोग गर्न सकिन्छ । त्यसका लागि पुस्तकको बिमोचनपश्चात अनलाइन र फोनबाट पनि खरिद गर्न सकिने व्यवस्था आयोजकले गरेको छ । देश विदेशमा रहेका जुनसुकै ठाउँमा रहेका व्यक्तिहरुले इसेवा र आइएमई पे मार्फत पैसा भुक्तानी गरी पुस्तक खरिद गर्न सकिने र डेलिभरी गर्ने व्यवस्था गरिएको प्रकाशकले जनाएको छ । साथै आजैदेखि ९८०८२२४४६४ नम्बरमा सम्पर्क गरेर पनि विशेष संस्करण बुकिङ गर्न सकिने सकिन्छ ।

पाठकहरुले पुस्तक रुचाएमा अंग्रेजी संस्करणमा प्रकाशन गर्ने मनसाय रहेको डाक्टर कोइरालाले बताएका छन् । साथै केही समयपछि डाक्टर कोइरालाको संस्मरणलाई ‘स्कुल संस्करण’ मा प्रकाशन गरी आम विद्यार्थीको हातमा पुर्याउने योजना रहेको फाइन प्रिन्टले जनाएको छ ।

आफुहरुले अगाडि सारेको बाल अस्पताल निजी र सरकारी नभएर गैरनाफामूलक संस्थाको रुपमा सञ्चालित हुने र सो बनाउने योजनामा सबै क्षेत्रका मानिसहरुको सकारात्मक योगदान रहेको डाक्टर कोइरालाले बताएका छन् । काठमाडौंमा रहने केन्द्रीय अस्पतालको निर्माण कार्य टेण्डर प्रकृया सहित अगाडि बढिसकेको उनको भनाइ छ । सो अस्पतालमा निर्माणमा सरकारले जग्गा उपलब्ध गराएको, काठमाडौं र टोखा पालिकाले सहयोग गरेको उनले बताएका छन् । सरकारमा मात्रै भर नपरेर अन्य क्षेत्र पनि निर्माण कार्यमा सहभागी भइरहेका छन् । अस्पतालमा गरीबले निःशुल्क उपचार पाउनेगरी ‘सोसियल इन्टरप्राइजेज मोडेल’बाट सञ्चालन हुने उनको भनाइ छ । डाक्टर कोइरालाका अनुसार अस्पतालको सञ्चालनमा सरकारसँग सहकार्य गर्दै अगाडि बढ्ने पनि समझदारी भएको छ ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै डाक्टर कोइराला र फाइन प्रिन्टले ‘काठमाडौं इन्स्ट्च्यिुट अफ चाइल्ड हेल्थ’को निर्माण तथा सञ्चालनका निमिक्त ‘हृदय’को विशेष संस्करणका विषयमा विषयमा बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.