जलेश्वरमा ३५ बिघा जग्गामा बन्ने भयो मणिपाल कलेज

  २०७९ भदौ ८ गते १८:५७     विकासन्युज

जलेश्वर । अढाइ दशकको पर्खाइपछि महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा मणिपाल कलेज बन्ने भएको छ । चौबीस वर्षअघि इञ्जिनियरिङ कलेज निर्माण गर्न जलेश्वर नगरपालिका–८ मा ३५ बिघा जग्गा खरिद गरिएको थियो ।

अब त्यहाँ इञ्जिनियरिङ कलेजका साथै अन्तर्राष्ट्रियस्तरको अन्य प्राविधिक कलेज सञ्चालनमा ल्याइने मणिपाल कलेजका निर्देशक नारायण पौडेलले बताए । महोत्तरीको सदरमुकाम जलेश्वरमा आज मणिपाल ग्रुपका निर्देशकसहितको टोली आएर स्थलगत निरीक्षण गरेको छ । निर्देशक पौडेलले अब चाँडै जलेश्वरमा मणिपाल कलेज निर्माण कार्य सुरु गरिने जानकारी दिए ।

मणिपालका अर्का निर्देशक शान्तराज बतासले जलेश्वरमा कलेज निर्माण तथा सञ्चालनका लागि गुरुयोजना बनिसकेको र सम्बन्धन लिने तथा अन्य प्राविधिक काम तीव्रगतिमा भइरहेको बताए । उनले कलेज निर्माण तथा सञ्चालनका लागि जलेश्वर नगरपालिका तथा स्थानीयवासीको साथ र सहयोग भए निर्माण कार्य सुरु गरेर चाँडै सम्पन्न गरी/गराई इञ्जिनियरिङ तथा अन्य अन्तर्राष्ट्रियस्तरको प्राविधिक शिक्षाको शुभारम्भ गरिसक्ने उल्लेख गरे ।

मणिपाल कलेजका प्रमुख इञ्जिनीयर सञ्जयकुमार गुप्ताले भारतको बिहार र उत्तर प्रदेशसँग सिमाना जोडिएको यस क्षेत्रमा भारतीय विद्यार्थी पनि जलेश्वरमा इञ्जिनियरिङ शिक्षाका लागि आउने ठूलो सम्भावना रहेको बताए ।

मधेश प्रदेशका महान्यायाधिवक्ता दीपेन्द्रकुमार झाले कलेज निर्माण तथा सञ्चालनका लागि सरकार तथा अन्य सरोकारवाला निकायसँग इजाजत, सहमति र सहकार्य एवं अन्य प्राविधिक क्रियाकलाप दु्रतगतिमा भइरहेको जानकारी दिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.