श्रीमानलाई विदेशबाट बोलाएर बाख्रा पालन, लाखौं आम्दानी

  २०७९ भदौ २ गते १९:०३     रञ्जिता अधिकारी

देउखुरी । दाङको लमही नगरपालिका-९ हर्दवाकी कृष्णीकुमारी बुढा पाँच वर्षअघि उनी लमही बजारमा बस्थिन् । कमाइ केही थिएन । उनका श्रीमान् पदमबहादुर विसी कमाइको खोजीमा मलेसिया गएका थिए ।

उनले सिलाइकटाइ तालिम लिइन् र कपडा सिलाउन थालिन् तर त्यसबाट भनेजति कमाइ हुन सकेन । उनले हर्दवामा रहेको माइती घरमा गइन् र त्यहीँ बाख्रापालन थालिन्  । चार बाख्राबाट सुरु गरेको व्यवसाय बढ्दै गएपछि गाउँमै उन रमाउन थाले । अहिले उनको फार्ममा ८० बाख्रा छन् । उनले विसं २०७८ को दसैँमा दुई लाख रुपैयाँ बराबरको खसी बोका बिक्री गरिन् । बाख्राबाटै वार्षिक चार लाखभन्दा बढी कमाइ हुने गरेको छ ।

यही कमाइबाटै उनले ६ कट्ठा जग्गा किनिसकेका छन् । ‘सुरुमा माइतीले दिएको एक कट्ठामा बाख्रा पाल्न सुरु गरेकी थिएँ, अहिले कमाएर जग्गा थपेँ,’ कृष्णीकुमारीले भने, ‘बाख्राबाट राम्रो कमाइ हुन थालेपछि श्रीमान् पनि यही फर्कनुभएको छ, दुवैजना मिलेर बाख्रापालन गरेका छौं ।’ अर्काको भूमिमा पसिना बगाउनुको साटो आफ्नै गाउँ घरमै प्रशस्त कमाइ भएपछि श्रीमानश्रीमती मिलेर काम गरेको उनले बताए ।

लमही-९ रिहारकी हुमा वलीले २०७२ सालबाट व्यावसा बाख्रा पालन गरेका छन् । रिहारस्थित कर्मठ महिला सामाजिक उद्यमी सहकारी संस्थाले दिएका तीन बाख्राबाट व्यवसाय सुरु गरेकामा अहिले उनीसँग ५० बाख्रा छन् । उनका श्रीमान् मानसिंह वली वैदेशिक रोजगारीका लागि साउदी गएका थिए। गाउँमा बाख्रा पालनबाट राम्रो आम्दानी हुन थालेपछि हुमाले श्रीमानलाई घरमै बाख्रा पालन गरौँला भनेर बोलाइन् ।

अहिले उनीसँग १५ खसी, १३ माउ र साना पाठापाठी २३ छन् । गत दसैँमा दुई लाख ९१ हजार रुपैयाँका खसी बिक्री भएका थिए । यसपाली पनि १२ खसी दशैंमा बिक्री गर्ने भनेर पालेको उनले बताए । घरमा पालेका खसी बढीमा ४० किलोसम्मका बिक्री गर्न उनी सफल भएकी छिन् ।

गत वर्षका ३० खसी रोगै पत्ता नलागेर मरे तर पनि हरेस नखाएर काममा लागेको उनको भनाइ छ । उनको पाँच जनाको परिवार छ । ‘सबैले मिलेर घरको काम गर्ने गरेका छौं,’ उनले भने, ‘घरको छेउमा सुपरनेपियर, किमु, जिगट र मकैचरी घाँस रोपेका छौं, बाख्रालाई खुवाउन सजिलो भएको छ ।’

बाख्रामा खासै लगानी गरिएको छैन तर आम्दानी भने नसोँचेको भएको उनको भनाइ छ । उनका अनुसार सहकारीको सहयोगमा व्यावसायिक हुन पाइएको छ । लमही-९ हर्दवाकी गङ्गा घर्र्तीले पनि व्यावसायिक रुपमा बाख्रा पालेकी छिन् । अरु समयमा पनि बाख्रा बिक्री हुन्छ, तर २०७८ सालको दसैँमा मात्रै खसीबोका बेचेरै उनले रु तीन लाख कमाएका हुन् ।

उनीसँग ५५ बाख्रा छन् । उनी वर्षमा रु चार लाख ५० हजारभन्दा बढी आम्दानी गर्ने गरेको बताउँछन् । ‘अहिले त जुनी नै फेरिएजस्तो भएको छ, पहिले भैँसी पालेर खान मात्र ठिक्क हुन्थ्यो,’ उनले भने, ‘अहिले कमाइ छ, अरुलाई सापट दिनसक्ने भएकी छु ।’

नौ वर्षअघि ग्रामीण महिला उत्थान केन्द्रबाट उपहार पाएका दुई बाख्राबाट उनले व्यवसाय सुरु गरेका हुन् । उनले भने, ‘अझै बढाउने योजना छ ।’ महिला सहकारीबाट बिना धितो ऋण, बाख्रा उपहार र तालिम, डालेघाँसको बीउ, प्राविधिक सेवा दिन थालेपछि हौसला बढेको घर्तीले बताए ।

राम्रो आम्दानी भएपछि महिलाहरू बाख्रापालन व्यवसायमा आकर्षित भइरहेको लमही-९ रिहारस्थित कर्मठ महिला सामाजिक उद्यमी सहकारी संस्थाका अध्यक्ष देवीमाया थापाले बताए । ‘सहकारीबाट व्यवसाय गर्न चाहने महिलालाई ऋण दिने, तालिम दिने, सरकारी अनुदानमा सहयोग गर्नेजस्ता काम गर्दै आएका छौं,’ उनले भने, ‘धेरै महिलाको बैंकमा धितो राख्ने दर्ता जग्गा छैन, त्यस्तो बेला सहकारी नै जमानी बसेर बैंकबाट महिलालाई ऋण निकालिदिएका छौं ।’

सहकारीका एक हजार २०० सदस्यमध्ये ५० बढीले बाख्रा पालन गर्दै आएको उनले बताए  । सहकारी संस्थाले संस्थामा आवद्ध सदस्यलाई तीन देखि चार बाख्रा दिएर सहयोग गर्ने गरेको अध्यक्ष थापाले बताए ।

आफूले उत्पादन गरेको बस्तु बिक्री गर्न सजिलो होस् भनेर सहकारीले खसीबोका खरिद गर्ने गरेको छ । गत दसैँमा सहकारीले जिउँदो २० देखि २६ किलोसम्मको खसीको प्रतिकिलो रु चार सय २० निर्धारण गरिएको थियो । त्यस्तै सहकारीले गत दसैँमा २७ देखि ३५ किलोसम्मका खसीलाई प्रतिकिलो चार सय ९० रुपैयाँ र ३५ किलोभन्दा माथिका जिउँदो खसीलाई प्रतिकिलो रुपैयाँ पाँच सय मूल्य निर्धारण गरेर किसानसँग खरिद गरेको थियो ।

त्यस्तै बोका २५ किलोभन्दा कम तौल भएकालाई प्रतिकिलो जिउँदो चार सय ३० रुपैयाँ र सोभन्दा माथिकालाई प्रतिकिलो चार सय ५० रुपैयाँ मूल्य निर्धारण गरेर खरिद गरेको अध्यक्ष थापाले बताए ।

संस्थाको सहयोगमा महिला बाख्रापालनमा

लमही-९ रिहारमा रहेको कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडमा एक हजार तीन सय ३५ सदस्य रहेका छन् । यो संस्था २०७० सालमा स्थापना भएको हो । यसको कार्यक्षेत्र लमही-८ र ९ राजपुर गाउँपालिकाको ६ र ७ नम्बर वडामा रहेको छ ।

संस्थाले बचत तथा ऋण कारोबार, रासायनिक मल खरिद बिक्री, खसीबोका तथा माउ बाख्रा सङ्कलन गरी बिक्री, बाख्राको दानाको बजारीकरण, पशु बीमा गर्नेलगायत काम गर्ने गरेको सहकारीका व्यवस्थापक हरिनारायण चौधरीले जानकारी दिए । सहकारी संस्थामा आवद्ध २३ महिलाले फर्म नै दर्ता गरेर व्यवसायिक रुपमा बाख्रा पाल्दै आएका छन् । सहकारीले संस्थामा आबद्ध सदस्यलाई तीनदेखि चार माउ बाख्रा वितरण गरेर सहयोग गर्ने गरेको छ ।

समूहमा आवद्ध महिलाले पालेका खसीबोका सहकारीले खरिद गरेर बिक्री गर्ने गरेको छ । यसरी खरिद गरिएका खसीबाख्रा तुलसीपुर, बुटवल, काठमाडौंका खसी व्यापारीले खरिद गर्ने गरेको उनको भनाइ छ । दशैंमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई प्रत्यक वर्ष खसीबाख्रा बिक्री गर्ने गरिएको छ । सहकारीले आर्थिक वर्ष २०७८/७९मा दुई हजार ५० खसीबोका बिक्री गरेको हो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

X